काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । उनी भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदीको सोमबार नयाँदिल्लीमा हुने सपथग्रहण समारोहमा सरिक हुँदैछन् ।
कोइरालाले दिल्ली भ्रमणको पूर्वसन्ध्यामा आइतबार विभिन्न सन्चारमाध्यमका सम्पादक तथा पत्रकारसँग भेटैर मोदीलाई नेपाल बोलाउने उल्लेख गरे । मोदीलाई टेलिफोनमा बधाई दिने क्रममै लामो समयदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको औल्याएको उनले जानका दिए ।
‘मैले उहाँलाई त्यसबेलै भ्रमणको निम्तो दिइसकेको छु । उहाँले पनि नेपाल आउने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘शिष्टाचार भ्रमण भएकाले द्विपक्षीय वार्ता हुन नसकेको अवस्थामा पनि उहाँसंगको भेटमा मैले त्यही कुरा दोहोर्याउने छु । उहाँलाई नेपाल भ्रमण गराउने कुरालाई प्राथमिकतामा राखेको छु ।’
सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सबै सरकार प्रमुखलाई निम्त्याएर मोदीले यस क्षेत्रप्रति विशेष चासो दिन खोजेको प्रधानमन्त्री कोइरालाको बुझाइ छ । ‘साथै उहाँ धार्मिक प्रवृत्तिको मानिस हुनुहुन्छ । पशुपतिनाथ, मुक्तिनाथ दर्शनका लागि आउन सक्नुहुन्छ । नेपालकै बाटो भएर मानसरोवर, कैलाश जान सकिन्छ । धार्मिक आस्थाका कारण पनि उहाँ आउन सक्नुहुन्छ,’ उनले भने ।
निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहलाई समेत पटकपटक नेपाल निम्त्याएको कोइरालाले स्मरण गरे । आफू प्रधानमन्त्री नहूँदै भएको भेटमा सिंलाई निम्त्याएको सम्झदै उनले भने, ‘प्रधानमन्त्रीका रुपमा म्यानमारमा भएको बिमस्टेक सम्मेलनमा मैले सिंहलाई नेपाल भ्रमणका लागि आग्रह गरेको थिएँ । लामो समय भ्रमण नहूँदा नेपाललाई अपहेलना गरेजस्तो देखियो भन्ने कुरा राखेको थिए । उहाँ नेपाल आउनेमा म निश्चिन्तजस्तै थिए । तर पछि भारतको चुनावलगायतका कारण भ्रमण हुन सकेन ।’ कान्तिपुर दैनिकबाट













प्रतिक्रिया