२८ आश्विन २०८३, बुधबार

यूएईका नेपाली श्रमिकहरुको अवस्थावारे जानकारी लिंदै जिफन्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gefont-UAE

उत्तम अधिकारी

यूएई । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले यूएईमा कार्यरत नेपाली श्रमिकहरुको अवस्थालाई नजिकबाट नियाल्ने प्रयास गरेको छ ।

जिफन्टका अध्यक्ष बिष्णु रिमाल तथा आइएलओ सदस्य बिन्दा पाण्डेले यूएईको २ दिने भ्रमण गरी यहाँ कार्यरत नेपाली श्रमिकहरुको अवस्थावारे जानकारी लिएका हुन् | नेकपा (एमाले)को यूएई प्रवास संगठन प्रवासी नेपाली मंचले उक्त भ्रमणको ब्यबस्था मिलाएको थियो।

gefont-UAE3

२३ मई शुक्रवारका दिन मंचको आयोजनामा दुबईमा भएको “यूएईमा नेपाली श्रमिकहरुको समस्या,चुनौती र अवसर” बिषयक अन्तरकृया कार्यक्रममा सरिक बिभिन्न संघसँस्थाका प्रतिनिधि तथा  समाजसेवी र उपस्थित नेपालीहरुले श्रमिकहरुको समस्यावारे धारणा राखेका थिए | सो अवसरमा व्यक्त विचार तथा आएका प्रश्नहरुको उत्तर दिंदै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका रिमाल तथा एमाले केन्द्रिय कमिटी सदस्य पाण्डेले जिफन्टले अन्तरास्ट्रिय स्तरमा नेपाली श्रमिकहरुको पक्षमा खेलेको भूमिका र योगदानको बारेमा चर्चा गर्नु भएको थियो । यूएईका नेपाली श्रमिकहरुले भोग्नु परेको समस्या समाधानको लागि जिफन्टको तर्फबाट हुनसक्ने सहकार्य तथा आइएलओमा उठाउन सकिने बिषयहरुको बारेमा पनि बताउनु भएको थियो । श्रमिकको पक्षमा वकालत गर्ने यहाँका नेपाली संघसंस्थाले चाहेको खण्डमा जिफन्ट आवस्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको उक्त अवसरमा जानकारी दिइयो ।

Jefont-UAE

गत बिहिवार आबुधाबी आएका श्रमिक नेताद्वयले यूएईका लागि नेपाली राजदुत धनन्जय झा तथा श्रम साहचारी हीरा पौडेलसंग सोहि दिन दुतावास पुगी छलफल गरेका थिए । यहाँका नेपाली श्रमिकहरुको आवासको भौतिक गुणस्तर तथा जीवनशैली, भोगिरहेका समस्या, समस्या न्यूनीकरण र निराकरणका लागि भइरहेका प्रयास, कानूनी ब्यबधानहरु र आफुहरुले गर्नसक्ने सहयोगका बारेमा उक्त भेटमा बिस्तृत छलफल भएको थियो । त्यसैगरी नेपालबाट भिजिट भिसामा यूएई आउन चाहनेहरुको संकुचित नातेदार सम्बन्धि नियम, बैदेशिक रोजगारीको क्रममा नेपालदेखि नै शुरुहुने ठगि र अब्यबस्थित प्रकृयाहरु, यूएईलाई ट्रान्जिट बनाई अन्य खाडी मुलुकमा नेपालीहरुको प्रवेश लगायत नेपाली श्रमिकहरुसंग सम्बन्धित अधिकांश महत्वपूर्ण बिषयमा उक्त भेटमा परामर्श भएको थियो।

Jefont-UAE2

बिहिवार साँझ उहाँहरुले नेपाली श्रमिकहरु रहेका बिभिन्न स्थानहरुको भ्रमण तथा अवलोकन गर्नु भएको थियो। यस क्रममा क्लिनर, गार्डनर, कन्स्ट्रक्सन लेबर जस्ता बढी परिश्रमयुक्त क्षेत्रमा कार्यरत नेपालीहरुसंग प्रवासी नेपाली मंच यूएईले साक्षात्कार गराएको थियो ।