२८ आश्विन २०८३, बुधबार

बिरामी स्याहार्दै पूर्व कमलरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamlariदोलखा । बिहान आठै बजे उनीहरु सेतो कुर्ता सुरुवाल, कालो स्विटर र सेतो सलमा छात्रावासबाट निस्कन्छन्। दोलखा जिरीस्थित जिरी प्राविधिक शिक्षालयमा हाजिर गरेर जिरी अस्पताल दगुरिहाल्छन्।

शिक्षालयमा अनमी तहको प्राविधिक शिक्षा लिइरहेका ४० जना पूर्वकमलरी कहरको विगत बिर्सिएर दिनभर बिरामीको सेवामा जुट्छन्।
‘छिटो जाऊँ, अस्पतालमा धेरै बिरामी हामीहरुलाई कुरिरहेका हुन्छन्,’ यो संवाददाता त्यहाँ पुग्दा अस्पताल जान हतारिइरहेकी १८ वर्षीया कृष्णा चौधरी साथीहरूलाई छिटो तयार भएर निस्कन भनिरहेकी थिइन्।

बर्दियाकी कृष्णा पाँच महिनाअघि जिरी प्राविधिक शिक्षालय भर्ना भएकी हुन्।

सानै उमेरमा आमाबुबा गुमाएकी उनले १२ वर्ष कमलरी बसेर हदैसम्म दुःखकष्ट खेप्नुपर्‍यो। तीन वर्षअघि मात्र कमलरीमुक्त कृष्णा गत वर्षको एसएलसी परीक्षामा अंग्रेजी, विज्ञान र गणितमा फेल भएपछि नेपाल युथ फाउन्डेसनको साथले प्राविधिक शिक्षाको अवसर मिलेको हो।

‘एसएलसीमा फेल हुँदा सबैथोक गुमेजस्तो लाग्यो,’ कृष्णाले नागरिकसँग भनिन्, ‘तर जब म जिरी प्राविधिक शिक्षालयमा टी। एसएलसीअन्तर्गत अनमी पढ्न पाएपछि जीवनमा केही गर्नसक्ने आश पलायो।’

कृष्णाले नर्स बन्ने सपना बोकेकी छिन्। दुःखलाई प्रेरणाको स्रोत बनाएकी उनले अनमी र एसएलसी दुवैलाई एकैसाथ लिएर अघि बढ्ने योजना सुनाइन्।
फाउन्डेसनको आर्थिक सहयोगमा जिरी प्राविधिक शिक्षालयमा विभिन्न जिल्लाका ४० मुक्त कमलरी प्राविधिक एसएलसी अध्ययनरत छन्।

अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उनीहरु गर्भवतीको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य चेतना, परिवार नियोजनका साधन प्रयोगबारे सिकाउँछन्। ‘सेवासँगै चेतना बाँड्न पाएकोमा खुसी छु,’ अर्की मुक्त कमलरी मनिमा डगौरा भन्छिन्।

कैलालीकी मनिमा गाउँमै चार वर्ष कमलरी बसेकी हुन्। त्यतिखेरको दुःख उनी सपनामा पनि सम्झन चाहन्नन्। १८ वर्षीया मनिमाले गरिबीकै कारण पढाइमा ध्यान दिन सकिनन्। गत वर्ष एसएलसी दिएकी उनलाई ६ विषयमा असफलता हात लाग्यो। नागरिक दैनिकबाट