२८ आश्विन २०८३, बुधबार

नेताज्यू ! विदेश मात्रै घुम्ने कि देश पनि बनाउने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Gautamनेल्सन मण्डेला र महात्मा गान्धी अनि माक्स्बाद, लेनिन्बाद् वा समाजबादको उदाहरण दिएर मुलुकको विकास हुन्थ्यो भने आज हाम्रो देश सायद ‘स्वीजरल्याण्ड’ भईसक्थ्यो होला । संविधान संसोधन गरेर ‘गणतन्त्र’ लेख्दैमा, राजा फालेर राष्ट्रपति ल्याउँदैमा अनि जनतामा राजनीतिक चेतना आउँदैमा मात्र पनि देशको विकास हुँदोरहेनछ भन्ने कुरा पछिल्लो सात बर्षले देखाईसकेको छ ।

तराईमा दाईजो प्रथा कायमै छ, बोक्सीको आरोपमा हुने हिंसात्मक गतिबिधि रोकिएका छैनन् फेरि यता हाम्रो पहाड तिर जातीय विभेद त्यस्तै छ अनि यहाँको राजनीतिक चेतनाले के परिवर्तन ल्यायो नागरिकमा ? सुन्छु हुम्ला, मुगु, डोल्पा र जुम्लाहरु भोकै छन् रे अनि खै के दियो गणतन्त्रले ? देश र जनताका निम्ति भनेर ०६२।०६३ मा आन्दोलन गरियो, जनताको भाग्य लेख्ने संविधानसभाको निर्वाचन दुई पटक गरियो र पनि के पायो देशले र के पाए नागरिकले अहिले सम्म ? तराईको चामलले विकट बाजुराको पेट भरियो कि मेलम्चीको पानीले काठमाडौँको तिर्खा मेटियो ? बर्षौ संघर्ष गरेर ल्याएको गणतन्त्रले न विधिको शासन स्थापित गर्न सक्यो, न अराजकता र दण्डहिनताको अन्त्य गर्न सक्यो न त देशलाई विकासको राजमार्गमा डोर्याउननै सक्यो । हुनत हुम्ला, जुम्ला र बाजुराहरु भोकभोकै तड्पिनुमा यो गणतन्त्रको कुनै दोष छैन किनकि यहाँ गणतन्त्र र शहीदको खुव खिल्लि उडाईदैछ । देशको विकासका लागि १० बर्ष जनयुद्ध लडेको भन्दै फुर्ति लगाउनेहरु आज निर्माणाधिन योजनाहरुको निर्माण कार्य रोक्न भन्दै विदेशी दातृ निकायहरुलाई पत्र पठाएर रमिता देखाईरहेका छन् देशमा । ति प्रचण्ड, मोहन बैद्य र बाबुरामहरुलाई देशका भौतिक संरचना भत्काएको, आगजनी गरेको र विध्वंश मच्चाएकोमा कत्तिपनि पश्चाताप छैन, न त जनताको रगत माथि होली खेलेकोमा आत्मगलानी भईरहेको छ उनीहरुलाई । छिमेकीहरुले गरेको प्रगति देखेर शुसील कोईराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओली, प्रचण्ड र बाबुरामहरुलाई राती निद्रा लाग्दो होला कि नाई ? तर म एउटा नेपाली भएकाले आज विश्वका धेरै देशरुले फड्को मारेको देख्दा खुव चिन्ता लाईरहेको छ ।

राजनीतिक दलका नेताहरुको स्वार्थ केन्द्रित राजनीतिले मुलुक ठिक ढंगले अघि बढ्न सकेको छैन । देशको राजनीतिलेनै सही गन्तव्य पच्छाउन नसक्दा पुरै देश अन्यौलमा परेकोछ र विकास निर्माणका कामहरु हुन सकेका छैनन् । देशको विकासका लागि राजनीतिक दलका नेता र तिनका कार्यकर्ताहरु जव सम्म प्रतिबद्ध हुँदैनन् तव सम्म मुलुकमा कुनै पनि विकास निर्माणका कामहरु अघि बढ्न सक्दैनन् । अझै भन्ने हो भने राजनीतिक दलहरु जहिले सम्म ठिक ढंगले चल्न सक्दैनन्, पार्टीको महाधिवेशन, सभा सम्मेलन आदि ईत्यादीको नाममा चन्दा उठाउने परम्पराको अन्त्य जहिले सम्म हुँदैन तव सम्म मुलुकको विकास सम्भव देखिँदैन । राजनीति ठिक ढंगले चलेमात्रै मुलुकको विकास हुन्छ भन्ने कुरा हिजो संगै उडान थालेका कतार एयर, थाई एयर र नेपाल एयरलाएन्स्ले गरेको प्रगतिलाई तुलना गरे पुग्छ । कतार र थाई एयरले आफुलाई विश्वका शक्तिशाली उडान कम्पनीको सूचिमा दर्ज गर्न सफल भएका छन् तर नेपाल एयरलाएन्स् शून्यतिर झर्दै अहिले करिव करिव विमान विहीनको अवस्थामा पुगेको छ । राजनीतिक अस्थिरताले गर्दा भ्रष्टचारीहरु कार्वाहीको दायरामा आउन सकेनन् त्यसैले संस्थामा काम गर्नेहरु निरन्तर धनी बनिरहे तर संस्था गरिब बन्दै गयो । दलहरु अनुशासित बन्न नसक्दा तिनका कार्यकर्तामा अनुशासनहिनता बढ्दै गयो र त्यसको गम्भिर प्रभाव देशको प्रशासन क्षेत्रमा प¥यो । राजनीतिक मुद्दामा दलहरु जतिसुकै विवाद गरेपनि मुलुकको आर्थिक विकासका लागि एकताबद्ध हुनुपर्छ भन्ने मेरो बुझाई हो ।

जापान, जस्ले अणु बम खसेको हिरोसिमा र नागासाकीलाई तत्काल पुर्ननिर्माण गरेर दुनियालाई देखाउन सक्छ, त्यहि जापान जस्ले सुनामीले सखाप पारेको फुकुसिमालाई घामको झुल्कोसंगै नयाँ जीवन दिन्छ तर हामी एउटै पुलको ठेक्का बर्षौ सम्म थपिरहन्छौँ, एउटै खानेपानी योजना पुरा गर्न बर्षौ खर्चिन्छौँ र पनि असफल हुन्छौँ आखिर किन ? किन कि हामीलाई त्यही पुल माथि पनि राजनीति गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्नुछ । गणतन्त्रको स्थापना पछि नेपालमा बढेको अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको असर सडक देखि सदन सम्म अनि सुन देखि नुन सम्म पनि परेको छ । त्यसैले अव सोच्ने बेला आएको छ कि छिमेकीहरुले चद्रमामा पाईला राखिसके, उनीहरुले समुन्द्र भनेनन्, डाँडाकाँडा भनेनन् हरेक ठाउँमा रेल कुदाईरहेका छन् हामी कहिले सम्म यस्ता दृश्य हेरेर रमाईलो मानेर बस्ने ? विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश भनेर विश्वले कहिले सम्म चिनिराख्छ नेपाललाई ? जनताले चाहेको गणतन्त्र आउँदा पनि नेताहरु देशको विकास गर्न सक्दैनन, संक्रमणकाल, अराजकता र महङ्गी नियन्त्रण गर्न पनि असमर्थ हुन्छन् भने किन चाहियो गणतन्त्र ? यदि यस्तै रहिरह्यो भने एक दिन यसको उत्तर जरुर खोज्ने छन् नागरिकले ।

जापानले गरेको विकासका बारेमा पत्रपत्रिकामा पढ्ने गरेको थिएँ तर आजभोलि म यहाँको विकासलाई नजिकबाट हेरिरहेको छु । यहाँ जमिन भन्दा माथि गुड्ने रेल मेरो लागि अचम्मको विषय बनेको छ र जमिन मुनी गुड्ने रेल पनि । त्यति मात्रै होईन समुन्द्र माथि पनि रेल गुड्छ र समुन्द्र मुनि पनि । यो सव प्रकृतिले दिएको त होईन, सगरमाथा जस्तो । त्यो अमेरिकाको ट्वीन टावर र छिमेकी चाईनाको द ग्रेट वाल अफ चाईना प्रकृतिले फगतमा दिएको होईन भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न सके देशको विकास सम्भव छ । अव प्रकृतिले नेपालका लागि भनेर अमेरिकाको ट्वीन टावर, चाईनाको ग्रेटवाल अनि चन्द्रमा पुग्ने रकेट र जापानको बुलेट ट्रेन जस्ता वस्तुहरु फगतमा दिने छैन, त्यो सगरमाथा जस्तो, त्यसैले विकासका लागि हामी आफै अग्रसर हुनुपर्छ ।

त्यसैले सबैले सोध्नैपर्ने भएको छ- नेताज्यू ! विदेशमात्रै घुम्ने कि देश पनि बनाउने ?