काठमाडौं । बाफलकी सावित्री श्रेष्ठलाई घरायसी व्यवस्थापनमा सबभन्दा पिरलो खानेपानी जोहोकै हुन्छ। पछिल्लो नियमअनुसार उनको टोलका सरकारी धारामा साताको दुईचोटि पानी आउनुपर्ने हो।
आउँछ एकचोटि मात्र, डेढ–दुई घन्टा। त्यो पनि रातको एक–दुई बजे। पानी आउने दिन उनी निन्द्रै माया मारेर प्रतीक्षामा रहन्छिन्। कहिलेकाहीँ पानी थाप्ने प्रहर निन्द्राले झपक्कै छोप्छ, अनि सातै दिन ठन्डाराम ?
पानी थाप्न नपाएकोमा उनी परिवारलाई हकार्छिन्। आफैं मुर्मुरिन्छिन्। अनि रित्तो गाग्रो हेर्दै ट्यांकरवालाको नम्बर घुमाउन थाल्छिन्।
कुनै दिन लोडसेडिङले पनि धोका दिन्छ उनलाई। पानी आउने, बत्ती नआउने। मोटर नचलाई धाराको पानी झर्दैन। बिजुली र धाराको साइत सँगै कहिल्यै जुर्दैन। जुरेका बेला मध्यरातमा टोलै झलमल्ल हुन्छ। प्रत्येक घरका आँगन र छतमा मेसिन चलाउने र पानी तान्ने महिला–पुरुषको खैलाबैला सुनिन्छ।
सावित्रीको टोलमा छरछिमेकबीच अघोषित सहकार्य छ, पानी आएको जसले पहिला चाल पाउँछ, उसले वरिपरिका चार–पाँच घरका ढोका ढक्ढकाउने।
‘के गर्नू, पानीको भरै छैन, आएका बेला थाप्न पाइएन भने दुःख पाउनुपर्ने आफैंले हो,’ पाँचजनाको परिवारलाई पानीको व्यवस्थापन मिलाउँदा–मिलाउँदा कायल उनी भन्छिन्, ‘बरु देश चलाउन सजिलो होला, पानी व्यवस्थापन गर्नु साह्रै गाह्रो छ।’
काकाकुल काठमाडौं
यो व्यथा सावित्रीको मात्र होइन, घरायसी व्यवस्थापनको जिम्मा सम्हालेका राजधानीका प्रत्येक गृहिणीको साझा हो। अझ डेरामा बस्नेहरूका समस्या झन् चर्को। निन्द्रा बिगारेर बल्लतल्ल थापेको पानी घरबेटी आएर अड्कली–अड्कली बाँड्छन्। कति पिउने, कतिले पकाउनेरु अनि कतिले नुहाइधुवाइ गर्ने ?
त्यही भएर गाउँका नदीखोलामा फुक्काफाल पानी चलाइरहेका धेरै डेरावाला भन्ने गर्छन्, ‘यो काठमाडौंमा पानी खान नपाएर प्याकप्याकी मरिन्छ कि क्या हो ?’
पछिल्लो जनगणनाअनुसार काठमाडौंको जनसंख्या २५ लाख नाघेको छ। यसैलाई आधार मानेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले दिएको तथ्यांकअनुसार उपत्यकामा पानीको माग दैनिक ३६ करोड लिटर छ। जबकि आपूर्ति यसको एकचौथाइ पनि हुँदैन।
केयुकेएलले सुख्यायाममा दैनिक साढे ९ करोड लिटर र वर्षामा साढे १५ करोड लिटर मात्र पानी आपूर्ति गर्दै आएको छ। माग र आपूर्तिबीचको उच्च खाडल नै सावित्रीजस्ता लाखौं महिला–पुरुषको पिरलोको मुख्य कारण हो।
विज्ञहरू भने अभावको हद केयुकेएलले देखाएभन्दा बढी रहेको दाबी गर्छन्। उनीहरूका अनुसार काठमाडौंमा स्थायी बसोबास गर्नेको संख्या २५ लाखवरपर देखिए पनि यहाँको कुल जनसंख्या ३५ देखि ४० लाख हाराहारी छ। जनगणनामा डेरा लिएर अस्थायी बसोबास गर्नेहरू छुट्ने हुँदा पानी अभावको तथ्यांक कहिल्यै वास्तविक नआउने वातावरणविद श्रीगोविन्द साह बताउँछन्।
उनको तथ्यांक मान्ने हो भने उपत्यकामा पिउने पानीको हाहाकार सहजै अनुमान गर्न सकिन्छ। साहका अनुसार प्रत्येक व्यक्तिलाई दिनको औसत १ सय ५० लिटर पानी चाहिन्छ। यसअनुसार काठमाडौं उपत्यकाको माग पूरा गर्न दैनिक ५२ करोड ५० लाख लिटर पानी आपूर्ति गर्नुपर्छ।
‘बदलिँदो जीवनशैलीका कारण व्यक्तिगत तथा अन्य प्रयोजनमा धेरै पानी खर्च भइरहेको छ,’ उनले भने, ‘गर्मीयाममा धेरैजना दिनहुँ नुहाउँछन्, कति त दिनकै दुईचोटि। पहिले–पहिले साताको एकचोटि शनिबार पारेर लुगा धुने चलन थियो, अहिले हरेक घरमा दिनहुँजसो लुगा धोएको, सुकाएको देखिन्छ।’
उनको भनाइमा पानी खपत बढ्नुको कारण यहाँको प्रदूषण पनि हो। काठमाडौंको जनघनत्वसँगै प्रदूषणको आँकडा उकालिँदो छ। यसअनुसार केयुकेएलले काठमाडौं उपत्यकालाई चाहिनेभन्दा झन्डै ४० करोड लिटर कम पानी आपूर्ति गर्छ।
‘धाराको थापेर पनि पानी पुग्दैन, प्रत्येक साता थाप्न पाए महिनाको दुई ट्यांकर (१० हजार लिटर) किने पुग्छ, थाप्न नपाए हप्तैपिच्छे एक ट्यांकर चाहिन्छ,’ सावित्री भन्छिन्।
पानीको व्यापार
दुई दशकअघि बागमतीमा डुबुल्की मारेर पशुपति दर्शन गर्ने आमाबाबुको कुरा सुन्दा अहिलेको पुस्तालाई दन्त्यकथाझैं लाग्छ। नलागोस् किन, अहिले बागमती मात्र होइन, राजधानीका प्रायः सबै नदी प्राविधिक रूपमा मृत अवस्थामा छन्। ढुंगेधारामा कहीँकतै मात्र पानी आइरहेको देखिन्छ।
उपत्यका काकाकुल हुनुको एउटा मुख्य कारण यहाँको प्राकृतिक मूल सुक्नु पनि हो। यो अवस्थामा केयुकेएलले मागअनुसार पानी आपूर्ति गर्न नसक्दा नदी वा ढुंगेधारालाई विकल्प बनाउने छुट पनि छैन। यसैको फाइदा उठाउँदै काठमाडौंमा केही वर्षयता नयाँ व्यापार फस्टाएको छ, पानीको व्यापार। नागरिक दैनिकबाट













प्रतिक्रिया