काठमाडौं । विराटनगरमा फैलिएको कमलपित्त अर्थात जण्डिस पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ ।
कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चित्सिकले बताए ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीमा कमलपित्तको लक्ष्यण देखिने गरेको जानकारी दिइन् । उनका अनुसार दैनिक पाँच छ जना कमलपित्तका बिरामी फेला पर्ने गरेको छन् ।
काठमाडौं उपत्यकामा पनि कमलपित्त विस्तारै ठूलो रूप ल्याउन थालेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले जानकारी दिए । उनका अनुसार पाटन, वीर, त्रिवि, शिक्षणलगायत अस्पतालमा कमलपित्तका बिरामी अत्यधिक भेटिएका छन् ।
दूषित पानी, धुवाँधुलो तथा सडेगलेका खानेकुराले गर्दा कमलपित्त सङ्क्रमण हुने गर्छ । शरीरमा रहेको फलामको मात्रा नष्ट भएपछि रक्तसञ्चारमा पैदा हुने एकखालको विकार विलिरुविन (रगतमा मृत कोषिका) को मात्रा बढ्दै जानाले कमलपित्त देखापर्ने जनस्वास्थ्य प्रयोगशालाका डा शाक्यको भनाइ छ ।
‘जन्डिसबाट आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका तथा दैनिक मजदुर गरेर खाने व्यक्ति बढी प्रभावित भएका छन्’, डा शाक्यले भने ।
बासी, काँचो र सडेगलेका खानेकुरा नखाने, उमालेको तथा प्रशोधित पानी पिउने तथा सडकमा खुला रूपमा बेच्न राखिएका खानेकुरा नखाने गर्नाले कमलपित्तबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।











प्रतिक्रिया