काठमाडौं । बिरामीका नक्कली भाइ बनाएर मिर्गौला झिक्न त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अपरेसन थिएटरसम्म पुर्याइएका काभ्रे बाँसबारीका २० वर्षीय रमेश सुनार मिर्गौला जोगाउन सफल भएका छन्।
सुनारलाई एउटा मिर्गौलाको तीन लाख रुपैयाँ दिने भन्दै कञ्चनपुर दैजीकी बिरामी मानवती बोहोरा जागरीको नक्कली भाइ बनाएर अस्पतालसम्म पुर्याइएको थियो। अपरेसन थिएटरभित्र सुताएर मिर्गौला झिक्न ठिक्क पारेपछि सुनारका मनमा चिसो पस्यो।
त्यसमाथि चिकित्सकले कलिलै उमेरमा मिर्गौला दान गर्दा पहिलाको जस्तो राम्रो स्वास्थ्य हुँदैन नि भनेपछि उनी सुतेको ओछ्यानबाट जुरुक्क उठे। चिकित्सकले समस्या बताएपछि उनी आत्तिएर मिर्गौला नदिने निर्णयमा पुगे। त्यसपछि उनले
आफू मानवतीको भाइ नभएको वास्तविकता पनि बताए।
सुनारले मलाई झुक्याएर अस्पताल ल्याइयो। म उहाँको आफ्नै भाइ होइन भनेपछि चिकित्सकले अपरेसन रोकेर प्रहरी बोलाएका थिए। त्यसपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख डीएसपी सानुराम भट्टराई अस्पताल पुगेका थिए।
चिकित्सकको सबै कुरा सुनेपछि प्रहरीले मिर्गौला बिक्री गर्ने गिरोह पक्राउ गर्ने योजना बनाएको थियो। सुनारलाई मिर्गौला बिक्री गर्न उक्साउनेमा उनकै गाउँका प्रकाश तामाङ मुख्य थिए। शय्यामा सुताइएका सुनारलाई भेट्न आफन्त बोलाउँदा प्रकाश पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रकाशको टोलीले काम सकियो भन्दै सुन्धारास्थित निपोन गेस्टहाउसमा भोजसमेत आयोजना गरेको थियो। प्रहरीले भोजबाटै काभ्रे फूलबारीका अमिर तामाङ, विनोद मिजार, काभ्रे सानेचौरका विक्रम परियार, पाँचखालका हरि परियार, बालुवाका सागर मिजार, दोलखा जफेकी सरस्वती श्रेष्ठ, धादिङ सल्यानकोटका राजु खड्का, काठमाडौंका रञ्जित महर्जन र कञ्चनपुर दैजीका गौरसिंह जागरीलाई पनि पक्राउ गरेको छ।
डीएसपी भट्टराईका अनुसार यो गिरोहले २०६९ सालमा सुनारको अर्को नागरिकतासमेत बनाइदिएका छन्। प्रहरीले बरामद गरेको नागरिकतामा उनको नाम प्रेम बोहोरा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकबाट











प्रतिक्रिया