शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

राहदानी फाराम संकलन गर्न विदेशमा टोली पठाइने

दैनिक नेपाल २०७१ जेठ ९ गते ५:४४

Passport Nepaliकाठमाडौं । सरकारले नेपाली कामदारको संख्या बढी रहेका मुलुकमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन सुचना संकलन गर्न टोली पठाउने भएको छ ।

अन्तर्राष्ट्रिय नियमअनुसार हस्तलिखित राहदानी सन् २०१५ को नभेम्बर २४ सम्म मात्रै मान्य हुनेछ । क्रमिक रुपमा हस्तलिखित राहदानीलाई प्रतिस्थापन गर्न विदेशमा रहेका कामदारलाई आग्रह गरिसकेको छ । अत्यधिक कामदार रहेका मुलुकमा मिसनले मात्रै राहदानीको चाप थेग्न नसक्ने भएकाले यतैबाट टोली पठाएर सहयोग गर्ने योजना बनाएको हो ।

बिहीबार राहदानी विभागमा वैदेशिक रोजगार व्यवसायी संघ, श्रम विभाग र प्रहरी निकायलगायतका सरोकारवालावीच यसबारे छलफल भएको थियो । रोजगार व्यवसायीहरुले पनि त्यसमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकाले सजिलो हुने विभागको भनाई छ ।

‘कतार, साउदी अरव, मलेसिया र युएईका ठूला सहरमा रहेका नेपाली समुदायसग सम्पर्क बढाएर काम गर्ने योजना छ’, राहदानी विभागका महानिर्देशक रमेश खनाले भने, ‘एक बर्षभित्रमा यो काम गरिसक्ने छौं ।’

सूचना संकलन गरेर निवेदन फाराम ल्याउन सके, राहदानी बनेपछि दुतावासमार्फत पठाउन सकिने उनले बताए । हाल मिसनहरुमा पर्याप्त कर्मचारी नभएकाले धेरै कामदार हुने मुलुकमा राहदानीका लागि ठूलो चाप पर्ने गरेको छ । मिसनमार्फत राहदानी बनाउदा औसतमा ३ महिना समय लाग्ने गर्छ ।

पछिल्लो समय हस्तलिखित राहदानी लिएर विदेश जान नपाइने हल्लाले विभागमा समेत राहदानी बनाउन आउनेको भिड ह्वात्तै बढेको छ । उनले हस्तलिखित राहदानी अझै एक बर्ष प्रयोग गर्न सकिने बताए । ‘एमआरपी नभए तत्कालै विदेश जान पाइदैन भनेर हतासिनु पर्दैन’, खनालले भने, ‘तर क्रमिक रुपमा एमआरपी बनाउने प्रक्रिया थाल्दा राम्रो हुनेछ ।’

विभागमा मात्रै दु्रत सेवाअन्तरगत १० हजार रुपैया तिरेर राहदानी बनाउन दैनिक ३ हजार हाराहारीमा निवेदन पर्ने गरेको छ । पछिल्लो एक महिनामा आवेदनको संख्यामा ह्वात्तै वृद्धि आएको विभागले जनाएको छ । राहदानी बनाउनेको चाप बढेपछि विभागले बैशाख १ देखि तीन काउन्टर थपेर ९ बनाइसकेको छ ।

यस्तै, सेवालाई छिटो बनाउन यसअघिको निवेदन फाराममा परिवर्तन गरी इन्टेलिजेन्ट क्यारेक्टर रिकगिनसन (आइसीआर) फाराम प्रयोगमा ल्याएको छ । यो फारामको अक्षर बढी स्पष्ट देखिने र दोहोरो ‘डेटा इन्ट्रि’ गर्न नपर्ने उनले जानकारी दिए । ‘फारामको डेटा प्रमाणीकरण शाखाबाट परिक्षण भएपछि सिधै छपाइमा जान्छ’, उनले भने, ‘यसअघि दैनिक ४ हजार राहदानी उत्पादन गर्ने गरेकोमा नया फाराम प्रणाली लागु गरेपछि यो संख्या दैनिक ६ हजार पुगेको छ ।’

हाल जिल्ला, विदेशी नियोग र विभागमा गरी दैनिक झण्डै ८ हजार राहदानीको माग हुने गरेकाले कउत्पादन संख्या बढाएर मागअनुरुप पूर्ति गर्ने योजना रहेको विभागले जनाएको छ । विभागले सन् २०१० को डिसेम्बर २० देखि एमआरपी दिन थालेको हो । त्यसयता १८ लाख एमआरपी वितरण गरिसकेको छ ।

बेवारिसे राहदानी संकलन गरिने

यसैबीच विभागले वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीहरुसग यतिकै रहेका पुरानो हस्तलिखित राहदानी संकलन गर्ने भएको छ । ट्राभल एजेन्सी र व्यवसायीसग यतिकै थन्किएका हस्तलखित राहदानीको संख्या हजारौं रहेकाले त्यसलाई व्यवस्थापन गर्न प्रक्रिया थालिएको हो ।

‘राहदानीजस्तो कुरा यतिकै राख्नु सुरक्षाको दृष्टिले पनि राम्रो नहुने भएकाले त्यसलाई संकलन गरी व्यवस्थापन गर्न लागेका हौ’, खनालले भने ।

यसबारे थप छलफल गरी कहिले र कसरी काम थाल्ने भन्ने टुंगोमा पुगिने उनले बताए । संघ, राहदानी र श्रम विभाग मिलेर त्यस्ता राहदानी संकलन गर्नेछन् । निश्चित म्याद दिएर सम्वन्धित व्यक्तिलाई ती राहदानी लिन बोलाइनेछ । त्यसअवधिमा लिन नआएका राहदानीलाई नष्ट गरिने खनालले जानकारी दिए । ‘अहिले भइरहेका नक्कली राहदानी बनाउने, बेच्ने र हराउनेजस्ता समस्या त्यसपछि समाधान हुनेछन्’, उनले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित