मंगलबार, २६ कार्तिक २०७६
DainikNepal.com
मंगलबार, २६ कार्तिक २०७६

पीआरवालालाई झन आकर्षक ठाउँमा

दैनिक नेपाल २०७१ जेठ ८ गते ६:११

Lalbabu-Panditकाठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सार्वजनिक प्रतिबद्धताविपरीत विदेशी मुलुकको स्थायी बसोबास अनुमति (पीआर) लिएका कर्मचारीलाई आकर्षक ठाउँमा सरुवा सहमति दिएका छन् ।

पण्डितले अस्ट्रेलियाको पीआर लिएका कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीलाई गृह मन्त्रालयको कानुन महाशाखामा सरुवा गर्न दिएका हुन् । पण्डितले ज्ञवाली एमाले समर्थक भएकाले नै उनलाई सरुवाको सहमति दिएको स्रोतले उल्लेख गरेको छ ।

गृहमा उपसचिव प्रमुख रहने कानुन शाखा थियो, ज्ञवालीलाई व्यवस्थापन गर्न महाशाखा बनाइएको हो । तर मन्त्रालयमा कानुन शाखाको दायित्व धेरै बढेकाले महाशाखा बनाइएको गृहका प्रवक्ता सहसचिव शंकर कोइरालाले दाबी गरे ।

पीआर र ग्रीनकार्ड लिएका कर्मचारीलाई कारबाही गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका पण्डितले सामान्य प्रशासन मन्त्रालयबाट दिएको सहमतिपछि ज्ञवालीको गृह मन्त्रालयमा सरुवा भइसकेको छ । पीआरवाला ज्ञवालीकी पत्नी र दुवै छोरा अस्ट्रेलियामै स्थायी रूपमा बसोबास गर्दै आएका छन् ।

ज्ञवाली कानुन समूहका कर्मचारी भए पनि ०५१ मा तत्कालीन गृहमन्त्री गौतमको निजी सचिव भई बसेका थिए । मन्त्री गौतमले आफ्नो स्वार्थअनुरूप काम गर्ने एमाले समर्थक ज्ञवालीलाई कानुन महाशाखा प्रमुखजस्तो महत्त्वपूर्ण जिम्मेवारी दिएका हुन् ।

सामान्य प्रशासनमन्त्री पण्डितले ग्रीनकार्ड र पीआर लिएकै कारण सहसचिव चण्डी दाहाल र हालै सहसचिवमा बढुवा भएका भरत सुवेदीलगायतलाई कुनै जिम्मेवारी नदिई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन् । पीआरवाला भएकै कारण सरकारले दाहाललाई सिफारिस गरे पनि गत पुसमा सचिव बढुवा नगरी अतिरिक्तमा राखेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित