२८ आश्विन २०८३, बुधबार

राजेशको विवाह : एउटा स्थायी प्रश्नको विदाइ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep bhattarai

समाचार के हुन्छ र के हुँदैन भन्ने सन्दर्भमा एउटा बहुचर्चित भनाइ छ, कुकुरले मान्छेलाई टोक्यो भने समाचार हुँदेन तर मान्छेले कुकुरलाई टोक्यो भने समाचार हुन्छ । अमेरिकी पत्रकार चाल्र्स एन्डरसन डानाले आजभन्दा १५२ वर्षअघि १८७२ मा भनेको यो भनाइको आसय प्रष्ट छ, मान्छेले कुकुरलाई टोक्नेजस्तो अनौटो काम भयो भने मात्र त्यो समाचार बन्छ ।

समाचारकै बारेमा अझ अगाडि सन् १८३३ मै पेनी प्रेसका प्रवर्तक बेन्जामिन डेले भनेका छन्, सेक्स, क्राइम, भ्वाइलेन्स सदावहार समाचार मेनु हुन् । पछि, अर्का महान पत्रकार जोसेफ पुलित्जरले त्यसमा सेलिब्रिटी पनि थपिदिए । चौथो मेनु थपेको पनि सय वर्ष बितिसक्यो, यद्यपि समाचारको पिरामिडमा यिनीहरूको स्थान तलमाथि भएको छैन ।

समाचारकै बारेमा अर्को एउटा एन्टी थेसिस पनि विचारणीय छ, तथ्य, इतिहास, गसिफ, प्रोपागान्डा र साहित्य समाचार हुँदैनन् । कारण प्रष्ट छ, त्यसमा समाचारका तीन आधारस्तम्भ टाइम्लिनेस, प्रोक्सिमिटी र हुमन इन्ट्रेस्ट हुदैन ।

समाचारकै सन्दर्भमा अर्को पनि एउटा महानतम् भनाइ छ, महानतम् पत्रकार पुलित्जरको, कि समाचार हुन्छ कि बनाइन्छ । अर्थ प्रष्ट छ, प्राकृतिक रुपमा समाचार हुन्छन् , कृत्रिम रुपमा समाचार बनाइन्छ । पहिरो जान्छ, पहिलो कोटिको समाचार हो, विवाह हुन्छ, दोस्रो कोटीको समाचार हो । पछिल्लो कोटीको समाचारलाई स्युडो समाचार भन्छन् अमेरिकीहरू । आमसञ्चार नै अमेरिकी उत्पादन भएकाले हामीले उनीहरूकै कुरा थ्यौराइजिंग नगरी सुखै छैन ।

आमसञ्चार र पत्रकारिताका सिद्धान्त अध्ययन गरेका र बुझेकाका लागि यी सर्वकालिन सत्य हुन् । तर, नबुझेकाले तर्क, त्यो पनि कुतर्कका हैसियतमा जति पनि गर्न सक्छन् । किनकि, नेपाली पत्रकारिता त यस्तै हुलले हाँकिरहेको छ भने नेपाली चलचित्र पत्रकारिताको कुरा त धेरै टाढाको कुरा भयो । आधा गाग्रो पानी त छचल्किने हो, रित्तो गाग्रोले के गर्ने ठोक्किने र बज्ने हो । अनि त्यस्तै रित्ता गाग्राहरू जन्ती जर्नालिज्मको स्तरमा ओर्लदा गाग्राहरूको कर्कश स्वर आउने हो । नेपालमा यस्ता स्वरु झ्याउकिरी नबास्ने मौसममा पनि अनेक पटक बजेका हुन् । पात्र फरक हुन सक्छन्, तर त्यसमा कुनै कमी आएको छैन । पछिल्लो डट कम सी पी –कट एन्ड पेस्ट पत्रकारिताले त्यसलाई अझ फैलाएको हो अवस्था हो अहिले ।

इन्टरनेसनल अमेरिकन युनिभर्सिटीका लागि किंग्स कलेजमा मास कम्युनिकेसन्स पढाइ रहदा होस् या काठमाडौं युनिभर्सिटमिा टेलिभिजन स्टडिज अध्यापन गरिरहदा, गत साताभरि समाचारका सन्दर्भमा यस्ता धेरै सैद्धान्तिक प्रश्न आए । र, उदाहरणका रुपमा राजेश हमालको विवाह प्रसंग पनि बाराम्वार आइरह्यो । सामान्य बेलामा त राजेश हमाल यहाँ सदैव चलचित्र बिटका सेलिब्रिटी हुन् भने पाको उमेरमा विवाह गरिरहेका उनी यसै पनि सिलेक्टिभ रियालिटी हुन् । यस अर्थमा मात्र हैन, समाचार र गसिप नछुट्याउनेहरूका लागि यो या त्यो कलेभरमा उनी सदैव लेखिने सदावहार मेनु नै हुन् । अझ, केही समययता त महानायक अवतारमा उनको यो मेनु राम्ररी चलेकै पनि छ ।

Rajesh-Madhu-Marriage

विवाह के हो ? यो आफैंमा बेटुक प्रश्न हैन । त्यसैले यसको बेटुक जवाफ पनि हुँदैन । किनकि विवाह बहुआयामिक छ । यसलाई हेर्ने अक्सिडेन्टल र ओरियन्टल दृष्टिकोण छ । अक्सिडेन्टल दृष्टिकोणमा विवाह वैधानिक वेश्यावृतिको लाइसेन्स हो । पूर्वीय मान्यताले भन्छ, यो संस्था निर्माणको प्रक्रिया हो । यी दुबै दृष्टिकोण सही हुन् पनि, हैनन पनि । कविवर इश्वर वल्लभले भनेझैं, आगोका फूलहरू हुन्, आगोका फूलहरू हैनन् । अझ यिनीहरू पनि कुनै कालखण्डका सीमित परिभाषा हुन् । आमसञ्चारमा टाइम एन्ड स्पेस महत्वपूर्ण हुन्छ । त्यसले नै कन्टेक्स्ट बनाउने हो । आजको कन्टेक्स्टमा हेर्दा यो प्रश्न आफैंमा एक आमसञ्चारको थेसिस प्रश्न हो । यस्तो प्रश्नले एक आयामिक उत्तर मात्र दिन सक्छ, बहुआयामिक हैन ।

हामी पनि डोमिनेन्ट पाराडाइमबाट अल्टरनेटिव पाराडाइममा पाइतो सरेका छौं । आमसञ्चारमा यसलाई पाराडाइम सिफ्ट भनिन्छ । यही सिफटले हाम्रो सोच र कोणलाई थेसिसबाट एन्टी थेसिसमा डोहोऱ्याएको छ । परिणामत: त्यही विवाहसँग सम्बन्धित प्रश्न पनि अब विवाह के हो ? हैन, विवाह के हैन चाँहि हो ? अहिले हामी यो प्रश्नको बहुआयामिक उत्तर खोज्ने जमानामा छौं । विवाहको सन्दर्भमा यही नै सही एन्टी थेसिस प्रश्न पनि हो ।

नायक राजेश हमालले रिलमा अनगिन्ती विवाह गरे । रियल विवाह चाँहि यो पहिलो हो । यसले उनलाई रिलको सेटबाट रियलको सिटमा झार्छ र त्यही कोणबाट सोच्न बाध्य पनि पार्छ । अर्थात्, उनको लागि पनि यतिबेला विवाह के हो ? यो प्रश्न रहेन, विवाह के हैन ? चाँहि अहम् प्रश्न बनेको हुनुपर्छ ? यो आफैंमा एक बहुआयामिक प्रश्न भएकाले उनले पनि त्यही कोण र सोचबाट उत्तर नखोजी धरै छैन ।

अन्तत: राजेशको विवाह हुने भयो, मधु भट्टराईसँग । त्यसको घोषणाका लागि काठमाडौंको चारतारे होटल शंकरमा एउटा नाटकीय कार्यक्रम आयोजना गरियो । पत्रकार सम्मेलनजस्तो कार्यक्रममा सञ्चारकर्मी सामु राजेशले मधुसँग विवाहको प्रस्ताव राखे । उनले स्वीकारिन् अनि राजेशले आमाको नासो गहना लगाइ दिए । यसरी एक टेकमै ओके भएर राजेशको भावनात्मक विवाह भयो । अब कहिले भोज खुवाउने, कहिले हनिमुन मनाउने, कहिले सिन्दुर लगाउने, त्यसको अर्थ उनको निजी जीवनसँग होला, अरुलाई खासै महत्व नहुनुपर्ने हो । तैपनि बाँकी कार्यक्रम सार्वजनिक भएको छ, १४ गते भोज खुवाउने, १५ गते राजेश दुई हप्ताका लागि अष्ट्ेलिया जाने अनि फर्केर आएर मात्र हनिमुनको बारेमा सोच्ने । यतिका वर्षपछि विवाह गर्दा पनि विवाह भोज खुवाएर दुई साता एक्लै बाहिर जाने अनि फर्केर हनिमुनका बारेमा सोच्ने । यो अनिश्चित योजनाले पनि राजेशको जीवनको तदर्थवाद सकिएको रहेनछ भन्ने संकेत गर्छ । यसको अर्को पाटो पनि हुनसक्छ, अझै उनी घरायसीभन्दा बढी व्यावसायिक नै रहेछन् । यो उनको निजी मामला होला । तर पनि राजेशजस्तो सार्वजनिक व्यक्तित्वको कति मामला निजी र कति सार्वजनिक हुने ? यो आफैंमा सदावहार वहसको विषय हो ।

जे होस्, राजेशको विवाहले चलचित्र पत्रकारहरूको एउटा स्थायी प्रश्नको भने हठात् मृत्यु भएको छ, त्यो हा, राजेशजीे विवाह कहिले गर्ने ? यससँगै यो दामलीका अन्य पुच्छ्े प्रश्न पनि लगभग सकिएका छन् । तर, केही दिनपछि फेरि अरु प्रश्न जन्मिनेछन्, हनिमुन कस्तो भयो ? अनि नौ महिनापछि त फेरि अर्को गजवको प्रश्न हाजिर भैहाल्छ, बाबु कहिले हुने ? यसरी राजेश हमाल एउटा अन्त्यहीन प्रश्नहरूको श्रृंखलामा फसिरहनेछन् । किनकि, नेपाली पत्रकारिता समाचार र गसिपबीच भेद नछुट्याएरै जुग कटाइरहेको छ ।

ओशोले भनेका छन्, माया तीन प्रकारको हुन्छ, बडी पोइन्टेड लव शरीरका लागि गरिने माया, माइन्ड पोइन्टेड लव मस्तिष्कका लागि गरिने माया र हर्ट पोइन्टेड लव मनका लागि गरिने माया । राजेश शरीर र मस्तिष्कका लागि गरिने मायाभन्दा माथि मनका लागि गरिने मायाको उमेरमा छन् । तर, उनकी जीवन संगिनी मधु भने अझै मस्तिष्कका लागि गरिने मायाको चरणबाट गुज्रिरहेकी छन् । ओशोले यसमा थपेका पनि छन्, मायाका फरक चरणमा बाँच्नेहरूमा विचलन आउने सम्भावना बढी हुन्छ ।

राजेश र मधुको जीवनमा ओशोको यो सम्भावनाले चिहाउन नपाओस् । र, जीवनका हरेक निर्णयहरूले उनको सम्भावनालाई शंकाको सुविधा पनि नदिओस् । यही नै कामना गर्ने बेला हो यो । जहाँसम्म विवाहको कुरा हो, नेपाली चलचित्रका नायकहरूको सदावहार खेती नै हो यो । नेपाली चलचित्रका भेटन नायक शिव श्रेष्ठ बुढेसकालमा कान्छी ल्याएर नाति उमेरको छोरो खेलाउँदै साइराम जप्दैछन् । अर्का भेटन भुवन केसी अझै पनि कृष्ण कन्हैया हुन छाडेका छैनन् । राजेशले हाफ सेन्चुरी हानेपछि विवाह गरे त के भो र ? यो उनको ट्वान्टी ट्वान्टी हैन क्या रे, टेस्ट खेल्नलाई धैर्यता चाहिने हो, त्यो त उनीसँग पक्कै पनि होलान् । नेपाली चलचित्रका यी नायकलाई यति त शंकाको सुविधा पनि दिनुपर्छ नै ।

ढिलो आए पनि दुरुस्तै आओस्, राजेश र मधुको दाम्पत्य जीवन, शुभकामना । आगे उनीहरू नै जानुन् ।