२९ आश्विन २०८३, बिहिबार

सुकुम्बासी बस्तीमा डोजर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sukumbasi-Kailali

यमबहादुर बम

धनगढी । व्यक्तिगत जग्गामा बसेको भन्दै ६५ सकुम्बासी/मुक्तकमैया परिवारलाई प्रशासनले सोमबार बल प्रयोग गरी हटाएको छ ।

धनगढी नगरपालिका–१ मा रहेको प्रकाश भण्डारीको जग्गामा बसेको आरोपमा प्रशासनले सशस्त्र र नेपाल प्रहरीसहित डोजर प्रयोग गरेर सकुम्बासी/मुक्तकमैयाको टहरा भत्काएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक रमेश पण्डित नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।

एक विगाह पाँच कट्ठा जग्गा सात वर्षदेखि सुकुम्बासी/मुक्तकमैयाहरूले अतिक्रमण गरेका थिए । प्रशासनले अतिक्रमित जग्गा यसअघि पटक–पटक हटाउने प्रयास गरेको थियो तर, सकुम्बासी/मुक्तकमैयाहरूको अवरोधपछि हटाउन सकिएको थिएन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, मालपोत अधिकृत तथा प्रहरीको सयुंक्त टोलीले सो जग्गाबारे छानविन गरी हटाउने निर्णय गरे बमोजिम हटाइएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए ।

‘गत फागुनमै हटाउने निर्णय गरेका थियौं,’ उनले भने– ‘विभिन्न कारणबस हटाउन सकिएन । हाल आएर हटाइएको हो ।’ अतिक्रमित जग्गा हटाइदिन भनेर जग्गाधनीले निवेदन दिए बमोजिम हटाइएको उनले बताए । जग्गा खाली गर्न भनेर जेठ १ गतेदेखि सूचना जारी गरी माईकिङ गरिएपनि नहटेपछि बल प्रयोग गर्नु परेको प्रहरी उपरीक्षक जोशीले बताए ।

यसअघि जग्गा मालिक प्रकाश भण्डारीले पटक–पटक अतिक्रमित जग्गा हटाउने प्रयास गरेपनि प्रयास विफल भएपछि कमल चौधरीलाई जग्गा हटाउने जिम्मा दिएको बताइन्छ ।

यता, मुक्तकमैयाहरूले भने सो जग्गा सात नम्बर प्रतिको ऐलानी जग्गा भएको र सो ठाउँमा बस्न भनेर स्वयम् कमलले भनेको बताउँछन् ।

आफूहरूले त्यहाँ बसिसकेपछि नगर विकास समितिबाट आफूहरूको नाममा दर्ता गराइदिने भनि कमलले प्रतिघर १० हजार रुपैयाँ लिएको मुक्तकमैया मनिराम चौधरीले बताए ।

स्थानीय रत्ना मल्लले अतिक्रमित सो जग्गामा आफ्नो पनि एक कट्ठा जग्गा रहेको बताइन् । कमलबाट जग्गा किनको उनले बताइन् । अतिक्रमणमै रहेको सो जग्गा कमलले विभिन्न व्यक्तिहरूलाई समेत विक्री गरेका थिए । जग्गा व्यवसायी चौधरीले आफूले मुक्तकमैयाहरूबाट आफूले रकम नलिएको बताए ।