२८ आश्विन २०८३, बुधबार

लेदो मिसिएको पेट्रोल जाँच्न आनाकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilकाठमाडौं । पेट्रोलको गुणस्तर समस्याले गत साता दर्जनौं पम्पका नोजल बिग्रिएपछि उपत्यकामा पेट्रोलियम आपूर्ति फेरि असहज बनेको छ । व्यवसायीले ‘लेदो मिसिएको पेट्रोलका कारण समस्या आएको’ गुनासो गरिरहेका छन् । नेपाल आयल निगमले भने गुणस्तर जाँच्न आनकानी गरेको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पेट्रोलको गुणस्तर समस्याबारे पटकपटक जानकारी गराउँदा पनि निगमले सुनुवाइ नगरेको र यो समस्यालाई सामान्य रूपमा लिएको बताए ।

‘पेट्रोलमा गम्भीर समस्या देखिएर नोजल नै बन्द हुँदा पनि आयल निगम गुणस्तर परीक्षणबाट पन्छिएको छ,’ उनले आइतबार भने, ‘हामीले नमुना संकलन गरेर भारत पठाइसक्यौं, निगम अझै अलमल गरिरहेको छ ।’

निगमले भने पेट्रोलको समस्याबारे आफूकहाँ कुनै जानकारी नआएको दाबी गरेको छ । ‘अहिलेसम्म पेट्रोलमा आएको गडबढीबारे हामीलाई जानकारी छैन,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले नागरिकसँग भने, ‘सञ्चारमाध्यममा समाचार आएपछि हामीले आफ्नै प्रयोगशालामा परीक्षण गरेका थियौं, तर कुनै समस्या देखिएन ।’

उनका अनुसार निगमको प्रयोगशालामा पेट्रोलको ‘गम टेस्ट र रेड भेपर’ परीक्षण गरिएको थियो । परीक्षण गर्ने उक्त मेसिन नै आयात गरिएको पाँच वर्षपछि मात्र प्रयोग भएको हो । पाँच वर्षअघि विराटनगर डिपोको पेट्रोलमा मिसावट फेला परेपछि परीक्षण गर्न उक्त मेसिन ल्याइएको थियो । यसबीच कुनै परीक्षण भएन ।

स्रोतका अनुसार भारतबाट तेल आयात गर्दा नै समस्या रहेको पुष्टि भए दोष लगाउन नमिल्ने भन्दै यो मुद्दा सामसुम पार्न खोजिएको छ । ‘परीक्षण गर्दा भारतबाटै आएको तेलमा समस्या देखिए दोष लगाउन मिल्दैन,’ निगमकै एक अधिकारीले भने, ‘बीचमा मिसावट भएको भनेर उम्किन पनि मिल्दैन, त्यसैले परीक्षण नगरी सामसुम पार्न खोजिएको हो ।’

निगमले पेट्रोलमा देखिएको समस्या लुकाउन परीक्षण नगर्ने बहानाबाजी बनाएको स्रोतले जनाएको छ । एसोसिएसनले पेट्रोलमा समस्या आउनेबित्तिकै मौखिक रूपमा निगमलाई जानकारी गराएको थियो । सुरुआतमा निगमले पेट्रोल परीक्षणका लागि भारत पठाउने तयारी गरेको थियो । तर, शुक्रबार निगममा बसेको अनौपचारिक छलफलले भारत नपठाउने निर्णय ग-यो । नागरिक दैनिकबाट