काठमाडौं । क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियरको हत्या अभियोगमा थुनछेकका लागि जिल्ला अदालत भक्तपुर लगिएका सिरियल किलर चाल्र्स शोभराजले बयान दिन मानेनन् ।
छत्तीस वर्ष पुरानो हत्या अभियोगमा आइतबार दिउँसो ११ बजे प्रहरीको सुरक्षा घेरामा केन्द्रीय कारागारबाट भक्तपुर लगेर न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासमा उनलाई उपस्थित गराइएको थियो ।
शोभराजले आफूविरुद्ध लगाइएको अभियोगबारे कुनै जानकारी नभएको भन्दै बयान दिन अस्वीकार गरेको अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले बताए ।
दिनभरको बयान लिने प्रयास सफल हुन नसकेपछि कर्णले अभियुक्त शोभराजको मागअनुसार अभियोगपत्रको प्रतिलिपि अध्ययन गर्न दिएर जेठ १२ गते बयानका लागि उपस्थित गराउन आदेश दिएका थिए । त्यसपछि बेलुकी ५ बजे शोभराजलाई पुनः केन्द्रीय कारागार ल्याइयो ।
‘अभियोगपत्रको प्रतिलिपि अध्ययनका लागि दिएर जेठ १२ गते बयानमा उपस्थित गराउने आदेश भयो,’ स्रेस्तेदार अधिकारीले नागरिकसँग भने ।
काठमाडौंमा भएको अमेरिकी नागरिक कोन्नी ब्रोनिच हत्या अभियोग पुष्टिसँगै शोभराज ११ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा छन् ।
उनीविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुलतवी रहेको क्यानेडेली नागरिक लरेन्ट अर्मान्ड क्यारियर हत्याको मुद्दा ब्युताउँदै महानगरीय प्रहरी परिसर भक्तपुरले बयान लिएको थियो ।
२०३२ पुस ६ गते अरनिको राजमार्गको दक्षिणी भेगमा अनुहार डढाएर चिन्नै नसक्ने अवस्थामा लरेन्टको शव फेला परेको थियो । नग्न अवस्थामा रहेको शवको अनुहार चिन्नै नसक्ने भएकाले त्यतिबेला पहिचान हुन सकेको थिएन । नागरिक दैनिकबाट













प्रतिक्रिया