ताप्लेजुङ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा लागेको चर्चा चलेको हो ।
पार्टीको दोस्रो जिल्ला सम्मेलनले पारित गरेका ११ समसामयिक प्रस्तावमध्ये दोश्रो बुँदामा चन्दा, भेटी, दान, नगद तथा जिन्सी अब्यवस्थित र अपारदर्शी भइरहेकाले क्षेत्र बिकास समितिमा आउनुपर्ने प्रस्ताव गरेको हो ।
समितिले कसरी ब्यवस्थित गर्छ र अहिलेसम्म कहाँ, कसरी अपारदर्शी भयो भन्ने बिषय भने प्रस्ताबमा खुलाएको छैन । भेटी संकलन नागरिकस्तरबाट गठित पाथीभरादेवी मन्दिरक्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिले गर्दै आएको छ । समितिको हरेक चार बर्षमा नेतृत्व बदलिन्छ ।
राजनीतिक नियुक्त हुने क्षेत्र पिकास समितिमा हाल एमाओबादी समर्थित सजन पौडेल अध्यक्ष र शान्ता आङबोहाङ कार्यकारी निर्देशक छन् । क्षेत्र बिकास समितिले सरकारले दिएको रकम र संरक्षण समितिले भेटीबाट संकलित रकम खर्च गर्दै आएका छन् ।
सरकारले बाषिर्क २६ लाख हाराहारिमा रकम प्रदान गर्दै आएको छ । पाथीभराको बिकासका लागि गुरुयोजना बनाएर त्यहीअनुसार खर्च भईरहेको संरक्षण समितिले जनाएको छ । उपाध्यक्ष रणबहादुर कार्कीले एउटा जिम्मेवार दलले गरेको यस्तो निर्णयले चिन्तित तुल्याएको बताउँदै रकम दुरुपयोग भए आफ्नो संस्था जस्तोसुकै सजाय भोग्न तयार भएको बताए ।
‘आरोप लगाएर हुदैन प्रमाण दिनु पर्छ’, उनले भने, ‘हामी जस्तोसुकै क्षतीपुर्ती दिन तयार छौं ।’ तीर्थयात्रीको चाप नबडै थोरै भेटि संकलन हुँदा दातालाई अनुरोध गर्दै गोरेटो बोटो, खानेपानी, अतिथिगृह, धर्मशाला जस्ता भौतिक पूर्बाधारमा खर्च गरेको बताएका उनले अघिल्लो बर्षमात्रै ब्यक्ति र संघसंस्था समेतलाई सहयोग मागेर पाथीभरामा बिद्युतीकरण गरेको बताए ।
गुरुयोजनाअनुसार मन्दीर परिसर फराकिलो बनाउने, स्वागतद्वार बनाउने, ढुङगा सोलिङ गरेर पैदलयात्रीलाई हिड्न सहज बनाउने जस्ता काम भइरहेका छन् । कार्किका अनुसार गतबर्ष नगद ६४ लाख ८२ हजार ९ सय र सुनचादी बिक्रिबाट २ लाख ६२ हजार रकम संकलन भएको थियो ।
यसबाहेक आजिवन सदस्यताबाट ५ लाख ७ हजार र बिशिष्ट सदस्यबाट १४ लाख १७ हजार उठेको थियो । समितिमा ३ हजार ७ सय ८५ सदस्य छन् । एमाओबादी सचिव काजी भट्टराईले छलफलक्रममा उठेको बिषय भएकाले प्रस्तावमा समेटिएको बताए । पाथीभराको समग्र बिषयमा छलफल सुरु गरेका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भेटिको बिषयमा राज्यले नै ब्यवस्था गर्ने र अरु बिषयमा सरोकारवालासँग छलफल भइसकेकाले आफुले एक सातामा अबधारणा बनाउने बताए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया