२८ आश्विन २०८३, बुधबार

दुइटै छोरी समलिंगी हुँदा…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

third sex3

काठमाडौं । आफ्ना दुवै छोरी बढ्दै जाँदा स्वभाविकभन्दा भिन्न व्यवहार देखाउन थालेपछि सरु विष्टलाई निकै चिन्ता परेको थियो । त्यसमाथि समाजले यस्ता छन् तेरा छोरीहरु भनेर कुरा काट्न थालेपछि त किन जन्माएछु भन्नेसम्मको सोचमा उहाँ पुग्नुभएको थियो । समयसँगै उहाँका विचारमा पनि परिवर्तन आउन थाल्यो, उहाँ भन्नुहुन्छ–“विगतमा मलाई मेरै छोरीहरुका कारण घृणा गरिन्थ्यो, तर अब अवस्था त्यो रहेन । समलिङ्गी तथा तेस्रोलिङ्गी हुनु पनि सामान्य मान्न थालेपछि अहिले समाजले पनि यसलाई स्वीकारेको छ ।”

समलिङ्गी तथा तेस्रोलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा शुक्रबार नीलहीरा समाजले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्ना अनुभव राख्दै भन्नुभयो– “अरुले जे भने पनि आखिरमा मैले जन्माएको सन्तान हो, जन्माउँदाको पीडा उस्तै रह्यो, त्यसैले म यिनीहरुलाई पढाउने, राम्रोसँग पालनपोषण गर्ने काम गर्छु भनेर सोहीअनुसार गर्न थालेँ ।”

हाल उहाँका दुई छोरीमध्ये एउटी कक्षा १२ अध्ययन गर्दै छन् भने एउटी छोरीले यसै वर्ष प्रवेशिका परीक्षा दिएकी छन् । उनीहरु दुवैले आफ्नै पहिचानबाट नागरिकतासमेत लिइसकेका छन् । पहिले घृणा गर्ने समाज अहिले उनीहरुलाई राम्रो मान्न थालेको उनीहरुको अनुभव छ । अर्का अभिभावक नुमाया श्रेष्ठले छोराको रुपमा जन्मिएको आफ्नो सन्तान ठूलो हुँदै जाँदा छोरीको जस्तो स्वभाव आएको बताउनुभयो । छोरामा आएको परिवर्तनलाई स्वभाविक रुपमा परिवारले लिएको भए पनि समाजले भने पचाउन नसकेका कारण निकै समस्या परेको थियो, उहाँले भन्नुभयो– “समाजमा विभेदको अवस्था समेत आयो ।”

निकै पछिसम्म पनि समाजले परिवारलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको थिएन, तर विस्तारै समयसँगै स्वभाविक रुपमा लिन थाले–उहाँले भन्नुभयो । अहिले भूमिका श्रेष्ठ भनेर चिनिने उहाँको सन्तानको नामबाट परिवार समेत परिचित रहेको उहाँले बताउनुभयो ।

सोही अवसरमा समलिङ्गी तथा तेस्रोलिङ्गी मोडलहरुले -याम्प समेत गरेका थिए । ‘-याम्प फर फ्रिडम’ शीर्षक दिइएको सो -याम्पमा मोडलहरुले मुखमा टेप टाँसेर आएको र पछि टेपलाई निकाल्दै साङ्केतिक रुपमा स्वतन्त्रताको माग गरेका थिए । समलिङ्गी तथा तेस्रोलिङ्गीमाथि हुने गरेका हिंसाबारे शिल्पी थियटरले ‘को म ?’ भन्ने नाटक मञ्चन गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा प्रमुख श्यामबाबु काफ्ले, समाजका पूर्व निर्देशक सुनीलबाबु पन्त, समाजका अध्यक्ष पिङ्की गुरुङलगायतले समलिङ्गी तथा तेस्रलिङ्गी बढी हिंसामा पर्ने गरेको बताउँदै उनीहरुलाई न्याय दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

समाजका मानवअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठले सबै मानव समान हुन भने पनि समलिङ्गी तथा तेस्रोलिङ्गीलाई अझै पनि घृणाको पात्र बनाएर विभेद भइरहेको बताउनुभयो । केही व्यक्तिमा रहेको निरङ्कुश सोचका कारण अधिकार प्राप्तिको अभियानमा चुनौती थपिएको उहाँको भनाइ थियो ।

सन् १९९० मे १७ मा विश्व स्वास्थ्य सङ्गठनले समलिङ्गी तेस्रोलिङ्गी हुनु मानसिक रोग नभएको घोषणा गरेको थियो । यसअघि सङ्गठनले समलिङ्गी तेस्रोलिङ्गी हुनुलाई मानसिक रोगको सूचीमा राखेको थियो । नेपालसहित विभिन्न देशले अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी हुनका लागि सन् २००६ मे १७ मा समलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदै आएका छन् । यो दिवसलाई युरोपका स्पेन, बेल्जियम, बेलायत, मेक्सिको, कोस्टारिका, नेदरल्यान्ड, फ्रान्स, लक्जम्बर्ग, ब्राजिललगायत मुलुकका संसद्बाट आधिकारिक मान्यता प्रदान गरिएको छ ।

नेपालमा चार लाखदेखि पाँच लाखसम्म समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको समाजको अनुमान छ । आफ्नो पहिचान खुलाएर बाहिर आउनेको सङ्ख्या पनि बढ्दै गइरहेको समाजले जनाएको छ ।