सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

गृहमन्त्रीज्यू ! को हुन मदन र जीवराजका ‘हत्यारा’ ?

दैनिक नेपाल २०७१ जेठ ३ गते १४:३५

Ganesh-Pandey

– गणेश पाण्डे 

हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना हुन्छ । एमाले नेता मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ ।

दासढुंगाकाण्डको २० वर्षपछि फेरि आएको छ , जेठ ३ गते । विगतका वर्षमा झैं यो वर्षपनि मदन आश्रितको तस्विरमा माल्यापर्ण गरियो । दासढुंगा काण्डको छानविन हुनुपर्ने कुरा यो वर्ष पनि उठ्यो । सम्झनामा दुई थुंगा फूल चढाउनु त औपचारिकता मात्रै हुँदै हो, छानविनको प्रसंग पनि केवल औपचारिकता पूरा गर्नका लागि मात्र उठाइयो । दासढुंगा काण्ड दुर्घटना हो कि षड्यन्त्र ? को हो मदन भण्डारी र जिवराज आश्रितको हत्यारा ? प्रश्न २० वर्षदेखि अनुत्तरित छ । उत्तर खोज्ने हरेक प्रयास असफल हुदै आएका छन् । के यो उत्तर विनाको प्रश्न हो ?

हुन त समय वित्दै गर्दा दासढुंगाको छानविन भने झन् झन् जटिल बन्दै गएको छ । किनभने दुर्घटनाका एकमात्र साक्षी अमर लामाको पनि त्यसको पाँचवर्षपछि हत्या भइसकेको छ ।

अज्ञात समूहले अमर लामालाई कीर्तिपुरमा दिउँसै लेखेटेर हत्या गर्‍यो । दुर्घटनामा अमर लामा सकुशल भएकाले उनले षड्यन्त्रपूर्वक दुर्घटना गराएको आशंका गरियो । त्यसैले छानविनका लागि उनलाई जेल हालियो । तर घटनाका बारेमा कुनै छानविन हुन सकेन । र पा“चवर्षपछि अमर लामा जेलमुक्त भए । जेलमुक्त भएका लामाको पनि हत्या भइसकेकाले छानविन प्रक्रिया जटिल बनेको हो ।

मदन आश्रितको रहस्यमय हत्याको छानविनका लागि पटक पटक आयोग पनि बने । तर, कुनै पनि आयोगले छानविन गर्न सकेनन् । घटना लगत्तै एमाले कार्यकर्ताहरुले छानविनको माग गर्दै आन्दोलन गरेका थिए । धेरै दिनको आन्दोलन पश्चात तत्कालिन सरकारले अनिल आयोग गठन गर्‍यो । सरकारको तर्फबाट गठित अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दिएपछि एमालेले फेरी आन्दोलन गर्‍यो । आन्दोलनबाट आत्तिएपछि सरकारले पुन सर्बाेच्च अदालतका न्यायाधिश त्रिलोक प्रताप राणाको अध्यक्षतामा अर्काे छानविन आयोग गठन गर्‍यो । त्रिलोक आयोगले घटनाको छानविन गर्न सकेन । बरु गम्भीर छानविन जरुरी भएको भन्दै रिपोर्ट बुझायो ।

रहस्यमय हत्या भएको भन्दै नागरिक समाजले पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन गर्‍यो । नागरिक समाजको आयोगले पनि घटना रहस्यमय भएको भन्दै थप छानविन हुनपर्ने निष्कर्ष निकाल्यो । बिभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले नेता केपी ओलीको नेतृत्वमा आयोग गठन ग¥यो । ओली नेतृत्वको आयोगले दासढुँगाकाण्ड दुर्घटना नभई ‘रहस्यमय हत्याकाण्ड’ भएको निष्कर्ष निकाल्यो । यो आयोगले घटनाको कडा अध्ययन गरी दोषी उपर कारबाहिको माग समेत गर्‍यो । एउटै हत्याकाण्डका लागि चार–चार वटा आयोग गठन भए । तर, कसैले पनि दोषी किटान गर्न सकेनन् । अझ त्यसमा पनि गाडी चालक अमर लामाको हत्याले दासढुगांकाण्डलाई अझै जटिल र रहस्यमय बनाइदियो ।

जब जब जेठ ३ गते आउँछ, तब एमालेले यो रहस्यमय काण्डको छानविनको माग गर्छ । तर, त्यसपछि त्यत्तिकै सेलाउँदै जान्छ । २०६२–६३ को जनआन्दोलन अघि होस् या त्यसपछि । दासढुंगा काण्डको छानविन हुनुपर्ने माग पटक पटक नचर्किएको होइन, एमालेमा । तर, त्यो कहिल्यै पार्टीको एजेण्डा बन्न सकेको छैन ।

bidhya-bhandari-final

बल्खु र सडकमा कुर्लने नेताहरुलाई सिंहदरबारमा पुग्दा दासढुंगा काण्डको छानविन कहिल्यै प्रमुख मुद्दा बनेन । अरुलाई धारे लगाउने एमाले यो काण्डपछि पटक पटक सरकारमा पुगिसेकेको छ । २०५१ सालको एमाले नेतृत्वको ९ महिने सरकारले पनि सत्यतथ्य बाहिर ल्याउन सकेन । ९ महिने सरकारले छानविनको तयारी गरेपनि पर्याप्त समय नभएको भन्दै नेताहरु पन्छिए ।

मदन भण्डारीको देहवसानपछि महासचिव बनेका माधवकुमार नेपालदेखि पार्टी अध्यक्ष झलनाथ खनालसम्मले गणतन्त्र आएपछि सरकारको नेतृत्व गरिसकेका छन् । तर, सरकारको नेतृत्व गरेपछि दासढुंगाकाण्डको छानविन गर्ने खनाल र नेपालको घोषणा हवाई गफ सावित भइसकेको छ । पार्टीले गठन गरेको छानबिन आयोगको अध्यक्ष रहेका संसदीय दलका नेता केपी शर्मा ओलीबाट पनि छानबिन हुने कुनै छाँट छैन । न त पार्टीको नेतृत्व गर्दै गृहमन्त्रालयको बागडोर सम्हालेका गृहमन्त्री बामदेव गौतमसँग जबाफ छ– आखिर मदन भण्डारीको हत्या हो कि दुर्घटना ?

madan-jibraj

जहाँ  विलाए मदन र जीवन

यो त्यहीं ठाउँ हो, जहाँ जननेता मदन भण्डारीले रहस्यमय दुर्घटनामा ज्यान गुमाउनुभएको थियो । नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती मदन भण्डारीलाई यहीं ठाउँमा त्रिशुलीले निल्यो । रहस्यमय दुर्घटनाका २० वर्ष वितिसकेका छन् । इतिहासको एउटा पूरै खण्ड वितिसकेको छ । तर यहा“ पुग्दा मदन भण्डारी र जिवराज आश्रितको काल बनेको रहस्यमय दुर्घटनाको झझल्को ताजा हुन्छ ।

जननेता मदन भण्डारी र अर्का नेता जिवराज आश्रितको शालिक अहिलेपनि यहीं दासढुंगामा ठडिएको छ । र देशबेचुवाहरुलाई खबरदारी गरिरहेको छ । यहीं स्थानबाट २० वर्ष अगाडि मदन भण्डारी र जिवराज आश्रित चढेको गाडी त्रिशुलीमा खस्यो । उहाँहरु त्यतिबेला पाचौ महाधिवेशनबाट पारित जनताको बहुदलिय जनवादको सन्देश प्रबाह गर्न देशब्यापी अभियानमा हुनुहुन्थ्यो । यहीं अभियानकै क्रममा दासढुंगामा उहाहरु चढेको गाडी रहस्यमय तरिकाले दुर्घटना भयो ।

कास्कीमा एमालेको जिल्ला अधिवेशन थियो । त्यहीं अधिवेशनमा भाग लिन काठमाडौंबाट उहाँहरु पोखरा जानुभएको थियो । पोखराको कार्यक्रम सकिएपछि उहाँहरु चितवन जादैँ हुनुहुन्थ्यो । किनभने चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै हुनुहुन्थ्यो ।

चितवनको कार्यक्रममा सम्बोधन गरेपछि पाँचौ महाधिवेशनको सन्देश लिएर उहाँहरु पूर्वी नेपालका जिल्लामा जाने तयारीमा हुनुहुन्थ्यो । तर, उहाँहरु चितवनको महिला अधिवेशनमा नै पुग्न पाउनुभएन । पोखराबाट मुग्लिन हुँदै गाडी चितवनतर्फ हुँइकिइरहेको थियो । जब चितवनको दासढुंगा आयो । तब गाडीको गति केही कम भयो । र साँझ करिब साढे ५ बजेतिर उहाँहरु चढेको बाअप ८७९३ नम्बरको जिप त्रिसुलीमा खस्यो । गाडीका चालक अमर लामा गाडीबाट हाम्फाले । तर, मदन भण्डारी र जिवराज आश्रित भने त्रिसुलीको भेलमा गाडीसहित बेपत्ता हुनुभयो । त्यसपछि मदन भण्डारी र जिवराज आश्रित दुर्घटनामा परेको खबर सनसनीपूर्ण तवरले देशभर फैलियो । जिप नदीमा बेपत्ता भयो । तर जिप चालक अमर लामा सकुशल रहे । त्यसैले यो दुर्घटना नभई षड्यन्त्र भएको चर्चा पनि संगसंगै फैलियो । जिप त्रिसुलीमा बेपत्ता भएकाले नेता मदन भण्डारी र जिवराज आश्रितलाई सकुशल पाउने आशा थिएन । दुर्घटना भएको धेरै दिन सम्म पनि नेपाली जनताले आफ्ना नेताहरुको शव सम्म देख्न पाएनन् । धेरै दिनको प्रयास पछि बगांलादेशबाट गोताखोर झिकाएर मात्र उहाँहरुको शव त्रिशुलीबाट निकालियो । उहाँहरुको मृत्युपछि देशभर शोक फैलियो । पार्टीका कार्यकर्तामात्र हैन, सबै जनता शोकमा डूबे । यो मृत्यु नभइ हत्या हो भन्दै देशभर एमाले कार्यकर्ताहरु आन्दोलनमा होमिए । आन्दोलनका क्रममा केही कार्यकर्ताको ज्यान समेत गयो । तत्कालिन कांग्रेस नेतृत्वको सरकारसगं घटना छानविनको माग गर्दैै एमाले कार्यकर्ता आन्दोलित भएका थिए ।

Madan-Bhandari-hatya2

दासढुंगामा ज्यान गुमाएका मदन भण्डारी र जिवराज आश्रितको शव गोताखोरको सहयोगमा नदीबाट निकालेर काठमाडौं ल्याइयो । काठमाडौंमा शव ल्याएपछि श्रद्धाञ्जलीका लागि राखियो । श्रद्धाञ्जली दिनका लागि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायत राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारणहरु पनि पुगेका थिए । पछि दरवार हत्याकाण्डमा मारिएका तत्कालिन राजा बीरेन्द्रले पनि दासढुंगा काण्डमा मारिएका मदन भण्डारी र जिवराज आश्रीतप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । फूलमाला बोकेर कार्यकर्ताहरु आफ्ना नेताहरुप्रति श्रद्धा व्यक्त गर्न आशुपुछ्दै पुगेका थिए । श्रद्धाञ्जलीपछि शव यात्राका साथ अन्त्यष्टिका लागि पशुपति आर्यघाटमा लगियो । र पशुपति आर्यघाटमा मदन भण्डारी र जिवराज आश्रितलाई सधैका लागिविदा गरियो । कम्युनिष्ट आन्दोलनका दुई नक्षत्र भौतिक रुपमा आगोमा खरानी भए, कम्युनिष्ट आन्दोलनको इतिहासमा भने कहिल्यै नअस्ताउने गरी ।

दूरदर्शिता, निडर र निस्कपट नेतृत्वका कारण पनि मानिसहरू मदन भण्डारीलाई कहिल्यै बिर्सन सक्दैनन् । कतिपयले त मदन भण्डारीको मृत्युलाई समेत यसै प्रसंगसंग जोडेर हेर्ने गर्छन् ।

Madan-Bhandari-hatya

ठोट्नेका चम्किला तारा

२०४६ सालको परिवर्तनपछि निकै खुसी हुनुहुन्थ्यो, मदन भण्डारी । नेपालमा बहुदलिय व्यवस्थाको पुनस्थापनापछि खुल्लामञ्चबाटै तत्कालिन राजा बिरेन्द्रलाई आफूसंग चुनावमा प्रतिस्पर्धा गर्न चुनौती दिने नेता उहाँ नै हुनुहुन्थ्यो । तर २०५१ सालको चुनाव आउनुअगाडि नै उहाँको रहस्यमय दुर्घटनामा मृत्यु भयो ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाघु ठोट्नेमा जन्मिएको नेपाली कम्युनिष्ट आन्दोलनको एउटा नायकलाई ४१ वर्ष नपुग्दै २०५० साल जेठ ३ गते त्रिसुलीले निलिदियो । देवीप्रसाद भण्डारी र चन्द्रकला भण्डारीका माइला छोरा हुनुहुन्थ्यो, मदन । बाबुआमाले माया गरी बोलाउने नाम थियो, मोतिलाल । उहा“ साँच्चि नै नेपाली कम्युनिष्ट आन्दोलनको एउटा मोती बनेर चम्किरह्नुभयो । ठोट्नेको मोतिलाल जननेता मदन भण्डारी बनेर नेपालीहरुको दिल दिमागमा बस्नुभयो । उहाँको राजनीतिक विचारधाराको समर्थन गर्नेमात्र हैन, विरोध गर्नेहरुपनि उहाँका प्रशंसक थिए ।

ताप्लेजुङको टुनिबोटेको हिउँदे स्कुल, ठोट्ने प्रावि, तेम्बे माबि र बालसुबोधिनी संस्कृत मावि बरडाँडामा अध्ययन गर्दा नै निर्भिक स्वभावको हुनुहुन्थ्यो, मदन । राजनीतिमा अग्रस्थानमा नै रहनुभएका मदन बिद्यार्थी जिवनमा पनि सधै अग्रस्थानमा आउनुहुन्थ्यो । त्यसैले भण्डारीले बृन्दावन र वनारसबाट शास्त्री प्रथम उर्तिण गरी आचार्य सम्मको अध्ययन गर्न सफल हुनुभयो । सानो उमेर देखि नै साहसी, धैर्यवान् र निर्भिक हुनुहुन्थ्यो ।

सानै देखि परिवर्तनका पक्षपाती र अन्याय अत्याचारका बिरोधी मदन २०२८ सालमा पुष्पलाल नेतृत्वको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्य हुनुभयो । उहाँ २०२९ सालमा पुष्पलाल नेतृत्वकै नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुनुहुन्थ्यो । २०३३ सालमा मुक्तिमोर्चा समूहको सदस्य हुनुहुन्थ्यो । राजनीतिक जीवनमा फड्को मार्ने क्रममै मदन भण्डारी २०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कम्युनिष्टको अर्डिनेसन कमिटीको केन्द्रीय सदस्य हुनुभयो । २०३५ सालमा उहा तत्कालिन नेकपा मालेको संस्थापक केन्द्रीय सदस्य हुनुभयो । २०४१ सालमा नेकपा मालेको पोलिट्ब्युरो सदस्य हुनुभयो, मदन भण्डारी । २०४६ सालमा नेकपा मालेको चौथो महाधिवेशनबाट शक्तिशाली पद महासचिवको ज्रिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

भुमिगत जिवनमा राजनीति गर्दै आउनुभएका भण्डारी पार्टी एकिकरण पछि नेकपा एमालेको प्रवक्ताको रुपमा सार्बजनिक हुनुभयो, २०४७ साल बैशाख १६ गते ।

Madan-Bhandari-speech

भुमिगत राजनीतिमा रहँदा जीवन, भीष्म, सागर, लोकेश, श्वेतशार्दूल, सङग्रामसिंह, एसएस, राजमोति, बीबीआर, बरबरिक र भीम अधिकारी जस्ता एक दर्जन उपनामले चिनिने नेता खुल्ला राजनीतिमा भने मदन भण्डारीकै नाममा जनताको मनमा बस्नुभयो । राजनीतिक क्षेत्रमा तिब्र प्रगति गर्ने क्रममा मदन भण्डारी २०४७ सालमा नेकपा एमालेको महासचिव हुनुभयो । उहाँले जनताको मन मस्तिष्कमा बसेको दरिलो २०४८ सालमा दिनुभयो । किनभने २०४८ सालको संसदिय चुनावमा उहाँ काठमाडौको दुई–दुई क्षेत्रबाट बिजयी हुनुभयो ।

काठमाडौको दुई क्षेत्रबाट विजयी जननेता भण्डारीले एमालेको पाचौ महाधिवेशनबाट पुन महासचिवको पद सम्हाल्नुभयो ।

दुरदर्शी क्षमताका मदन भण्डारी आफ्नो परिवारकोबारेमा भन्दा देश र जनताको बारेमा चिन्तित हुनुहुन्थ्यो ।

जनता र पार्टीका निम्ति आवश्यक परे पड्किरहेको तोपको मुस्लोमा उभिन तैयार रहेको बताउने नेपाली कम्युनिष्ट आन्दोलनका अर्का हस्ती जिवराज आश्रितले पनि मदनसँगै ज्यान गुमाउनुभयो ।

२००१ साल साउन १८ गते गुल्मीको चन्द्रकोटमा जन्मनुभएका जीवराज किसानको छोरा हुनुहुन्थ्यो, त्यसैलै गरिब जनताका पक्षमा डटेर लाग्नुभयो । २०२१ सालमा रुपन्देहीको सुर्यपुरा गाविसमा बसाइसराइपछि परिवार धान्न बुटवल कालिकानगर प्राविमा अध्यापन सुरु गर्नुभएका जिवराजको राजनीतिक त्यहींबाटै जिवन सुरु भयो ।

२०१७ सालको प्रतिगामी कदमबाट समाप्त भएको कम्युनिष्ट आन्दोलनलाई उहाँले रुपन्देहीबाट पुर्नजिवित गर्न योगदान गर्नुभयो । अध्ययनको लागि २०२२ सालमा बनारस पुग्नुभएका आश्रितले बनारसमै कम्युनिष्टका सस्थापक नेता पुष्पलाललाई भेट्नुभएको थियो । २०२५ सालमा नेकपाको रुपन्देही जिल्ला कमिटी सदस्य रहनुभएका जीवराज २०२६ सालमा विदार्थी आन्दोलनका क्रममा पन्चायती शासकहरुको थुनामा पर्नुभएको थियो । थुनामा उहाँले कठोर अमानविय यातना पाउनुभयो । २०२८ सालमा लुम्बिनी अन्चल कमिटिको सदस्य र कपिलबस्तु जिल्ला कमिटीको इन्चार्ज सम्हाल्नुभएका जिवराज आश्रित २०३५ सालमा नेकपा मालेको पोलिट्ब्युरो सदस्यमा चयन हुनुभयो ।

२०४६ सालको जनआन्दोलन ताका उहाँले नेकपा मालेको संगठन बिभाग प्रमुखको जिम्मा सम्हाल्नुभएको थियो । २०४९ सालमा भएको पाचौ महाधिवेशन पछि पनि संगठन विभाग प्रमुख रहनुभएका आश्रित जनताको बहुदलीय जनवादलाई ठीक तरिकाले प्रयोग र बिकास गर्नेमा दृढ हुनुहुन्थ्यो ।

एमाले अहिले पनि उनै मदन र जीवराजहरुकै पसिनाका कारण जनताको मनमा बसेको छ । पाँचौ महाधिवेशनबाट पारित मदन भण्डारीकै राजनीतिक विचार जनताको बहुदलिय जनबादलाई एमालेले आत्मसात गरिरहेको छ । तर, जनताको बहुदलिय जनबादका प्रतिपादक मदन भण्डारी र अर्का नेता जिवराज आश्रितको हत्याको सत्य तथ्य बाहिर आउन सकेको छैन । कोही हत्या भन्छन्, कोही दुर्घटना । भ्रम मत्रै सिर्जना भइरहेको छ । एमालेको हत्या थियो कि दुर्घटना ? जवाफ कस्ले दिन्छ ? बल्खुको नेतृत्व गर्ने झलनाथ खनालले कि सिंहदरबारमा एमालेको नेतृत्व गर्ने बामदेव गौतमले ?

प्रतिक्रिया
सम्बन्धित