काठमाडौ । गरिव परिवारमा जन्मिएर विपन्नतामा हुर्किदै, आत्मविश्वासको बल र उपलब्धिलाई आफ्नो परिचय बनाएका नरेन्द्र मोदीलाई भारतीय मतदाताहरुले मतपत्रको ताकत प्रयोग गरेर प्रधानमन्त्री बनाउने भएपछि लोकतन्त्रको अर्थ आफैं सजिव भएको छ ।
मतदान सकिएको आधा घण्टापछि, मत गणना शुरु हुनुभन्दा पहिले नै एक्जिट पोलुको भविष्यवाणी सार्वजनिक हुन थाल्यो । सबैको भविष्यवाणी नरेन्द्र मोदीको विजयमा एकमत थियो । यी दुई आधारभुत महत्वका बिन्दु हुन् । यसले एकातिर भारतीय जनता राष्ट्रिय राजनीति र शासकीय ब्यवस्थाको चरित्र फेर्न अघि बढेको प्रष्ट हुन्छ, अर्कोतिर सेफोलोजिष्टहरुले मतदाताको मनको स्पन्दन बुझ्ने अपुर्व क्षमता देखाएका छन् । दक्षिण एसिया र खासगरि नेपालको लागि यसको अर्थ के हुनसक्छ ?
२१औँ शताब्दी एसियाको हुने बताइएको छ । यसको अर्थ भुमण्डलिय सामरिक र आर्थिक केन्द्रबिन्दुमा एसिया रहन्छ । यो केन्द्रबिन्दुको मध्यभागमा उभ्याएर तीब्र गतिमा बढ्दो एसियाको सामरिक धुरीमा भारतलाई स्थापित गर्न नरेन्द्र मोदीले सुशासन र विकासको मन्त्र जपेका र यसमा जनतालाई सहमत तुल्याएका छन् । यी दुबै मन्त्रलाई मोदीले १३ वर्ष लामो लोकप्रिय शासनमा गुजरातमा साकार तुल्याएका हुनाले उनको नेतृत्वमा भारतको शासकीय चरित्र सुध्रिने र चौतर्फी विकासमा केन्द्रित हुने अपेक्षा गरिएको छ । वास्तवमा मोदीको नेतृत्वमा गुजरातको आर्थिक विकास चमत्कारपुर्ण नै छ । गुजरातमा बनेका रेल्वे डब्बाहरुले भारतमा मात्र हैन, दक्षिणपुर्वी एसिया र एसिया-प्रशान्त क्षेत्रमा पनि बजार कब्जा गरेका छन् । भारतका विभिन्न राज्यका युवाहरुले गुजरातमा रोजगारी पाएका छन् । मोदीको नेतृत्वमा लगानीकर्ता, ब्यापारी र उद्योगपतिको पत्यार तथा आमजनताको विश्वास देखिएको छ ।
भारतका ठुला लगानीकर्ताहरुले आमचुनावको घोषणा हुनुअघि नै भारतको आर्थिक विकासका लागि मोदीलाई प्रधानमन्त्री बनाउने अभियान चलाएका थिए । बिबिसिका अनुसार भारतका अन्य सबै राज्यहरुको तुलनामा गुजरातको आर्थिक विकास गति तिब्र रहेको छ । यसबाट लाभान्वित हुने राष्ट्रिय एजेण्डा नेपालले बनाउनु पर्छ । हाम्रो सिमाना जोडिएका सबै भारतीय राज्यहरु गरिव छन्, बेरोजगारीको चर्को समस्या, शान्तिसुरक्षाको खराव अवस्था भोगिरहेका छन् । तर भारतको आर्थिक विकास दरलाई उल्लेखनिय रुपमा बृद्धि गर्न यी राज्यहरुको विकास गति तिब्र हुनु अनिवार्य हुन्छ ।
यसका साथै मोदीले सार्वजनिक गरेको राज्यहरुलाई बलियो पार्ने, राष्ट्रिय नीति तर्जुमा र कार्यान्वयनमा निणरयक भुमिका दिने नीतिले पनि नेपालले भारतसँगको सम्बन्धलाई नयाँ दिल्लीकेन्द्रित गरेर अब पुग्दैन । सिमाना जोडिएका भारतीय राज्यहरुसँग निकटको सम्बन्ध र सहकार्यको क्रम शुरु गर्नु पर्दछ । मोदी सरकारको नेपाल नीति सीमा जोडिएका उत्तर प्रदेश, बिहार र पश्चिम बंगालजस्ता राज्यहरुको आर्थिक हित र सुरक्षा आवश्यकताबाट प्रभावित हुनेछ ।
मतगणना शुरु हुने ७२ घण्टाअघि नै नयाँ सरकार गठनका बारेमा भारतीय जनता पार्टीका शीर्षस्थ नेताहरुबीच छलफल शुरु भएको थियो । यसले चुनाव परिणाम आफ्नो पक्षमा आउनेमा भाजपाको पुर्ण विश्वास देखाउँछ । मतदातासँग भाजपाले कायम गरेको यस्तो निकटता लोकतान्त्रिक राजनीतिमा अपवाद हो । यसले भाजपा र विशेषगरी नरेन्द्र मोदीको संगठनात्मक क्षमता एबम् आमजनतासँगको अति निकट सम्बन्धलाई खुलस्त पार्छ । यो त्यस्तो ताकत हो, जसको प्रभावकारी उपयोगले भारतीय राजनीतिको चरित्रमा ऐतिहासिक परिवर्तन हुनसक्छ ।
दक्षिण एसियाको राजनीतिक ढाँचालाई प्रभाव पार्न सक्ने यो लक्षणको केन्द्रबिन्दुमा राष्ट्रिय स्वयम्सेवक संघ रहन्छ । भाजपा ठुलो संघ परिवारको एउटा अङ्गमात्रै हो । सन् १९२५ मा स्थापित यो संस्थाको मुल उद्देश्य हिन्दु राष्ट्रवाद र हिन्दु संस्कृतिलाई सुरक्षित र सुदृढ गर्नु तथा मुल लक्ष्य मातृभुमिको निस्वार्थ सेवा गर्नु तोकिएको छ ।
संघ परिवारका ३६ वटा संङ्गठनहरुमध्ये भाजपा राजनीतिक फाँट हो भने विश्व हिन्दु परिषद, बजरङ्ग दलका साथै सुरक्षा सेवाहरुमा प्रवेश गर्न हिन्दुहरुलाई प्रोत्साहित गर्न केन्द्रिय हिन्दु सैनिक शिक्षा समाज छ । शिवसेना समान विचार बोकेको नजिकको अकरे दल हो । यिनको प्रभाव अब दिल्लीमा बढनेछ ।
राष्ट्रिय स्वयम्सेवक संघको छविको जरा हिन्दु राष्ट्रवादमा छ । चुनावको गर्मी अति नै चर्किएको बेलामा काश्मिरको वैष्णोदेबीदेखि बाराणसीको विश्वनाथ मन्दिरसम्म गएर मोदीले आपmनो धार्मिक विश्वास, संस्कार र निर्देशक मुल्यमा बल दिएका थिए । राष्ट्रिय स्वयम्सेवक संघको अगाध बिश्वास र विशेष संरक्षण मोदीलाई प्राप्त छ । यसैले भाजपाका स्थापित दिग्गज नेताहरुलाई पन्छ्याएर संघले मोदीलाई प्रधानमन्त्रीको उम्मेदबार बनायो ।
नया सरकार गठनमा निर्देशन दिन संघका प्रमुख मोहन भागवत बैशाख ३१ गतेदेखि नै नयाा दिल्लीमा बस्नुले भावी सरकारको स्वरुपको संकेत गरेको छ । रिक्त हुने गुजरातको मुख्यमन्त्री छनौटको एकाधिकार संघले मोदीलाई दिएको छ । यसबाट भाजपा नेताहरुको तहमा समान हैसियत भएकाहरुमध्ये प्रथम हुने अटलबिहारी बाजपेयी र लालकृष्ण आडवानीको परम्परा निस्त्रिmय भएको बोध हुन्छ ।
यसको अर्थ के हो भने मतदाता, पार्टी सङ्गठन र सरकारमा चमत्कारिक पकड राखेका नरेन्द्र मोदी भारतको शक्तिशाली प्रधानमन्त्री हुने छन् । भारतीय समाजमा भन्दा राजनीतिक नेतृत्वमा धार्मिक संस्कार र परम्पराको पकड निकै बढी छ । भारतका मानव संशाधनमन्त्री शशि थरुरले एक लेखमा यसको चर्चा गर्दै ज्योतिषको सल्लाहमा तामिलनाडुकी मुख्यमन्त्री जय ललिताले आपनो नामको हिज्जेमा ए अक्षर थपेकी र बिहारका पुर्वमुख्यमन्त्री लालु यादवले आपनो पार्टीका सांसदहरुले दल बदल्ने खतरा रोक्न गुरुको सल्लाहअनुसार पौडी पोखरी गाईको गोबरले पुरेको रोचक विवरण दिएका थिए । तर, अन्धबिश्वास र धार्मिक सास्कृतिक संस्कार र परम्परा फरक छन् ।
संघ परिवारको बिचार पद्धति धर्म र संस्कृतिबाट अनुप्राणित छ । धर्म, परम्परा र मुल्य ब्यवस्थामा मोहन भागवत अथवा नरेन्द्र मोदीको प्रतिवद्धता अटल बिश्वासको जगमा उभिएको छ । यसमा भारतको नयाँ सत्ताको भावनात्मक संलग्नतालाई नेपालले सम्मान गर्नु दुई देशबीचको धार्मिक र सांस्कृतिक निकटताअनुरुप हुने मात्र हैन, नयाँ नेतृत्व र यसको अभिभावकसँग भावनात्मक निकटता कायम गर्ने विधि पनि हो । यसमा गम्भीरताको खााचो छ । उदाहरणको लागि श्रीपशुपतिनाथमा विशेष पुजा आन्तरिक कलहले डेढ महिनादेखि रोकिएको छ । यसले बिश्वभरीका हिन्दुलाई जस्तै भारतको नयाँ सत्तामा नेता तथा कार्यकर्ताहरुको भावनामा ठेस पुर्याउन सक्छ । राज्य सञ्चालनको झमेलामा तपसिल लागे पनि यसले नयाँ भारतको आध्यात्मिक र भावनात्मक सोचमा नकारात्मक प्रभाव पार्न सक्छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया