काठमाडौ। भारतमा भर्खरै सम्पन्न निर्वाचन आफैंमा एउटा महाभारत थियो । शक्तिको चरम घर्षणले साना फिलिंगा होइन, ठूलै लप्का उडाएको छ त्यहाँको वायुमण्डलमा । शक्तिको कुइरीमण्डलबाट हातमा कलश र अनुहारमा दिव्य आभा पोतेर प्रकट भएका छन् नरेन्द्र मोदी । भारतीय टेलिभिजनले बजाउने विष्णु पुराण सिरियलमा प्रकट हुने भगवान विष्णुको जस्तो तुजुकसाथ शक्तिपटमा दृश्यमान छन् उनी ।
मोदीले प्रधानमन्त्रीको ‘करिस्म्याटिक’ उम्मेद्वार बन्न दक्षिणपन्थको ब्याज छातीमा टाँसेरै आएका हुन् । त्यसैले सहजै अनुमान लगाउन सकिन्छ, उनको नेतृत्वमा भारत मुलतः माथिल्ला केही प्रतिशत मानिसका लागि खुला क्रिडा मैदान बन्नेछ । जनसंख्याको ठूलो हिस्साले आफ्नो देशलाई आजका दिनसम्म कुनै स्वर्ग सम्झने मौका पाएको छैन । चुनावी मौसमभरी मोदीको करिश्माले भुलाएका निमुखाहरु आफ्नो जीवन अलि होलो हुने आशामा छन् । तर, सत्य के हो भने मोदी कुनै उदारमना मालिक बन्ने छैनन् ।
अर्को तितो सत्य के पनि हो भने भारतीय गैर-हिन्दु र खासगरी मुसलमान समुदायका दिन अझ कष्टकर हुने निश्चित छ । कम्तिमा उनका चुनावी भाषणमात्रको स्मरण गर्दा पनि बुझिन्छ, उनको नेतृत्वमा भारतले कस्ता नीति तर्जुमा गर्नेछ । उनको दक्षिणपन्थी विश्व-दृष्टिकोणका तीन अमुल्य तत्व हुन् स् निरपेक्ष विकास, संकीर्ण हिन्दुवाद, र चर्को राष्ट्रवाद । उनका समग्र नीति यिनै तीन धातुबाट निर्देशित हुनसक्ने आँकलन गर्ने प्रशस्त ठाउँ छ ।
पहिले मोदीको आन्तरिक नीतिलाई नै हेरौं । सिंगो भारतलाई गुजराती विकासको मोडलमा ढाल्ने मोदीको प्रयत्न हुनेछ । गुजराती मोडलको हाई-हाई गर्ने जगदीश भागवती हुन् वा अनिल पानग्रिया, उनीहरुको दलिलमा त्यति दम छैन, जति गुजराती मोडलको खोट देखाउने अमत्र्य सेन वा क्रिस्टोफर जेफरलटका तर्कमा छ । यी विपरित ध्रुवमा उभिएका विद्धानका तर्कहरुको फेहरिस्त यहाँ पेश गर्न सम्भव छैन ।
तर, कतिचाहिं स्पष्ट भन्न सकिन्छ भने, जसरी गुजरातको आर्थिक वृद्धिदर वा प्रतिव्यक्ति आयको आँकडामा हजारौं गरिबका दुःखको कुनै हिसाब-किताब छैन, भोलि सिंगो भारतले आर्थिक वृद्धिदरमा छलांगै मार्यो भने पनि त्यो करोडौं गरिबहरुको उन्नतीको होइन, अधोगतिकै द्योतक हुनेछ । तथ्यांकको मोहजालमा सोझा मानिस लठ्याउन सिपालु मोदीले मुकेश अम्बानीको दैनिक आय र नगरपालिका सफा गर्ने प्राइभेट ठेकेदारले खटाएको स्वीपरुको वार्षिक आयबीचको फरक कहिल्यै बताउन आँट गर्ने छैनन् ।
मोदीले तर्जुमा गर्ने आर्थिक नीति चुनावमा अरबौं लगानी गरिदिने कर्पोरेट जगतको अनुकुल हुनेछ । बहुराष्ट्रिय कम्पनी र कर्पोरेटको निगाहामा हुने विकासको सिमितताभित्र पूर्णतया कैद हुनेछ भारत । कर्पोरेट जगतले सामान्य मान्छेको सर्वोपरि हितमा काम गर्छ भन्नु भारतलाई संसारको सबभन्दा उत्तम लोकतन्त्र भन्नु जतिकै हाँस्यास्पद हुनेछ ।
प्रधानमन्त्री नै भइसकेपछि मोदीको हिन्दु राष्ट्रवाद मथ्थर हुने एकथरी उदारवादी विद्धानले बताउने गरेका छन् । भारतको लामो लोकतान्त्रिक अभ्यास र इतिहासका कारण उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर मुस्लिम र अन्य पिछडिएका जाति, धर्म, र क्षेत्रका जनतामाथि दमन वा हेलोहोचो गर्ने छुट पाउने छैनन् भन्ने उनीहरुको तर्क छ । तर, अत्यन्त ‘मोडरेट’ भनिएका अटलबिहारी वाजपेयीको प्रधानमन्त्रीत्व कालका घटना सम्झियो भने मोदीबाट त्यसभन्दा बढी अपेक्षा गर्नु अतियुक्ति हुनेछ । स्मरण रहोस्, मोदीको नाम मुछिने गरेको सन् २००२ को गुजरात काण्डका बेला वाजपेयी नै प्रधानमन्त्री थिए । मोडरेट हिन्दु वाजपेयी प्रधानमन्त्री भएकै बेला हो, क्रिश्चियन धर्मावलम्वी अष्ट्रेलियन समाजसेवी ग्राहम स्टेइन्स र उनका छोराहरुलाई हिन्दुवादी जत्थाले कुटेर हत्या गरेको । मोदी प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा अगाडि आएपछि सिद्धार्थ वर्दराजनजस्ता उनका आलोचकहरुमाथि गरिएका आक्रमणहरु पनि मोदीको शासनशैलीका पूर्वसंकेतहरु हुन् ।
हिन्दु राष्ट्रवादीहरुले वेन्डी डोनीगरको खोजमुलक पुस्तक द हिन्दुजको प्रकाशन बन्द गराउनुले भारतीय हिन्दुवादीहरुको असहिष्णुताले लोकतन्त्रको आधारभुत मान्यतामै प्रहार हुन थालेको बुझ्न गाह्रो छैन । त्यसैगरि चुनावी अंकगणितलाई हेरेर मुज्जफरनगरको लगभग ५० हजार मुस्लिम जनसंख्या भएको सिंगो बस्तीकै उठिबास गराउनुले पनि भारतको भविष्य सुखद छैन भन्ने संकेत हो । मोदी उग्रहिन्दु राष्ट्रवादीका अनेक जत्थाहरुका साझा र सर्वमान्य नेताका रुपमा प्रधानमन्त्रीमा निर्वाचित हुँदैछन् । त्यसैले उनको नेतृत्वको भारतमा लोकतन्त्र सवल हुने सम्भावना अत्यन्त न्युन छ ।
मोदीको उदयसँगै उनको विदेश नीतिबारे पनि अनेक आँकलन आएका छन् । धेरै विज्ञहरुले भारतको विदेश नीतिको व्यापक खाकामा पाँच दशकदेखि कुनै खास परिवर्तन नआएको बताउने गरेका छन् । भाजपाको ५२ पृष्ठको घोषणापत्रमा पुगनपुग एक पृष्ठमात्र विदेश नीतिका बारेमा उल्लेख छ । घोषणापत्रमा उल्लिखित विदेश नीति आर्थिक कुटनीतिकै सेरोफेरोमा घुमेको छ । आर्थिक विकास र कारोबारको सम्भावना खोज्न राज्यले आफ्नै पहलकदमीमा विदेश नीति अख्तियार गर्नसक्ने खुकुलो नीति बनाउनेमा भाजपाको बढ्ता जोड देखिन्छ । सामरिक पाटोमा भने कंग्रेस आईभन्दा खरो हुने प्रशस्त संकेत देखिएको छ ।
मोदी नेतृत्वको भारतले नेपाल-नीतिमा कति फेरबदल ल्याउन सक्छ भन्नेमा मतहरु विभाजित छन् । यसबारे चासो राख्ने विद्धानले धेरै ठूलो फेरबदलको अपेक्षा नगरेपनि नेपालका दक्षिणपन्थी शक्तिहरु आशावादी बनेको बुझ्न गाह्रो छैन । मोदीबाट भारत र नेपाल दुवैलाई असाध्यै धेरै फाईदा पुग्ने अतिरञ्जना पनि प्रकट हुने गरेका छन् । भारतका लागि नेपालका पूर्वराजदुत रुक्मशमशेर राणाले एक दैनिक पत्रिकामा मोदीको जमेर प्रशंसा गर्दै उनको प्रधानमन्त्रीत्व नेपालका लागि अत्यन्त ठूलो उपलब्धि हुने बताएका छन् । पशुपतिदेखि तिरुपतिसम्मको बाटो निर्माण गर्ने र धार्मिक पर्यटन भित्र्याउन मोदी सहयोगी हुनेजस्ता अनेक सम्भावनाबारे पनि छलफल भइरहेको छ । कसैले मोदीमार्फत जलविद्युतमा भारतको लगानी ल्याउन सहज हुनेजस्ता दलिल पनि पेश गरेका छन् । यी सबै दलिलहरुको साझा आशय के छ भने मोदी प्रधानमन्त्री हुनुले नेपाललाई केही घाटा छैन, बरु फाईदा नै बढी हुन्छ । बस्, हाम्रा नीति नीर्माता र नेतृत्वले बुद्धि पुर्याउनु पर्नेछ ।
तर, सामरिक महत्वका दृष्टिले नेपालको अवस्थिति भारतका लागि संवेदनशील भएकाले नेपाल-निगरानी बढ्ने सम्भावनालाई नकार्न सकिदैन । खासगरि पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई र भारतीय संस्थापनको शब्दमा पाकिस्तानी आतंकवादी तत्वुले नेपाली भुमि प्रयोग गर्ने सवालमा मोदी सरकार बढ्ता प्यारानोइड हुनसक्ने देखिन्छ ।
भर्खरै धर्मनिरपेक्ष घोषणा गरिएको नेपालमा धर्मनिरपेक्षताविरोधी भावना त्यति कमजोर छैन । नयाँ बन्ने संविधानमार्फत गैरहिन्दु अल्पसंख्यकहरुको हक-अधिकार स्थापित गरिने र हिन्दु अहंकारवादलाई मथ्थर पारिने परिवर्तन पक्षधर शक्तिको प्रयत्न अझै जारी छ । यस्तो पृष्ठभुमिमा हाम्रो हरेक परिवर्तनमा दह्रो अंशियारी राख्दै आएको भारत आफैं दक्षिणपन्थी घुम्तिमा आईपुग्नुले धेरैलाई सशंकित भने बनाएको छ । कारण, नेपाल-नीतिको कोर कन्टेन्टुमा उति ठूलो भिन्नता नआए पनि भारतको सत्तासिन पार्टीको सांकेतिक कदमले नै ठूलो खैलाबैला ल्याउने गरेको छ । संस्थागत हुन लागेको परिवर्तनविपरित केही जेस्च देखिएको खण्डमा यहाँका पश्चगामीहरुको फणा उठ्ने सम्भावना रहँदैन भन्न सकिन्न । तर, त्यसो भन्दै गर्दा भारतीय प्रशासन संयन्त्रले नै बढ्ता नियन्त्रण गर्ने नेपाल-नीति मोदी प्रधानमन्त्री हुनुसँगै राजतन्त्रपक्षधर बन्छ भन्ने हुँदैन । तापनि यताका राजावादीहरु दिवास्वप्नमा भुले भने मोदीको के दोष ?
– कान्तिपुर दैनिकबाट













प्रतिक्रिया