विजय थापा
भर्जिनिया । डिसी महानगर क्षेत्रमा गत बर्ष स्थापना भएको गैरमुनाफा सामाजिक संस्था नेपाली आकाशले कैलाली जिल्लामा मुक्त कमैयाका बालबालिकाहरुका बिद्यालय निर्माण गरि दिएको छ ।
गत बर्ष समुद्घाटन गरेकै दिन कैलालीमा पढन नपाएका मुक्त कमैयाका छोराछोरीहरुको लागि पक्की पाठशाला बनाउने प्रतिबद्धता जनाए अनुसार एक बर्ष नबित्तै पाठशाला निर्माण गर्न सकेकोमा हर्ष व्यक्त गर्दै आउदो जुनको दोश्रो हप्तामा हस्तान्तरण गरिने कुरा संस्थाका अध्यक्ष नरेश उप्रेतीले बताए ।
उक्त बिद्यालय कैलाली जिल्लाको टिकापुर नजिक जोशीपुरमा रहेको बताउदै अमेरिकाबाट दिन सक्ने र नेपालबाट पाउने भन्ने आशा गरेकालाई सम्पर्क गराई दिने उदेश्य रहेकोले कसैसंग सम्पर्कमा नरहेका र कुनै पनि सहयोग नपाएकालाई नेपाली आकाशले छनौट गरेको अध्यक्ष उप्रेतीले बताए।
संस्थाका मुख्य कार्यकारी अधिकारी रन्जन केसीका अनुसार, संस्थाको मुख्य उदेश्य आर्थिक हिसाब किताब पारदर्शिता राख्नु रहेकोले भवन निर्माणमा लागेका सम्पूर्ण भरपाई तथा बिजक पनि संस्थाको सन्जालमा राखिएको छ ।
बिद्यालयको शिल्यान्यास एक महिना अगाडी सकिएको जानकारी गराउँदै उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थी तथा वरिष्ठ नागरिकद्वारा गरिएको थियो । शिक्षा मन्त्रालयको मापदण्ड अनुसार करिब १० लाखको लागतमा एक कोठामा पचपन्न जना अटाउने गरि निर्माण गरिएको हुनाले २ कोठे पक्की पाठशालामा एक सय दस जना बिद्यार्थी पढ्न पाउने गरि निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताए ।
उनले अगाडी थप जानकारी गराउदै पाठशाला निर्माणको लागि स्थानीय व्यक्तिहरुले निशुल्क श्रमदान गरेको बताए भने उक्त भवन निर्माणको लागि आर्थिक सहयोग अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा कतारबाट पनि प्राप्त भएको जनाए । यो परियोजनाको लागि आर्थिक रुपमा सहयोग गर्ने चन्दा दाता तथा नैतिक रुपमा सहयोग गर्ने सबै पक्षलाई नेपाली आकाश परिवारको तर्फबाट धन्यवाद दिएका छन् । आफु पनि नेपाल जुन महिनामा जाने तयारी गरि रहेकोले समयले साथ दिएको खण्डमा आफु नै गएर बिद्यालयलाई चाहिने डेस्क तथा बेञ्चसहित हस्तान्तरण गर्ने योजना रहेको बताए ।













प्रतिक्रिया