बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

दैनिक नेपाल २०७१ जेठ २ गते २०:१५

modi

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ ।

शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३३७ सिट जितेको छ ।

सत्तारुढ काँग्रेस लज्जास्पद हार व्यहोरेको छ ।  काँग्रेसले ४३ सिटमात्र जितेको छ । काँग्रेस नेतृत्वको युपीए गठबन्धनले ५८ सिट जितेको छ । काँग्रेस गठबन्धनमा रहेको लालू यादवको पार्टीले तीन सिट जितेको छ ।

काँग्रेसका प्रभावशाली नेता र मन्त्रीहरु पराजित भएका छन् । हारको विषयलाई लिएर काँग्रेसभित्र हंगामा भएको छ । काँग्रेस उपाध्यक्ष राहुल गान्धीलाई पार्टीबाट हटाउन माग गर्दै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सस्तो नारा दिएर छोटो समयमै चर्चा कमाएको अरविन्द केजरीवालको आमआद्मी पार्टीले चार सिट मात्र जितेको छ । मोदीविरुद्ध बनारसमा उम्मेदवारी दिएका केजरीवाल हारेका छन् ।

जय ललिताको नेतृत्वमा रहेको एआइडीएमके गठबन्धनले ३६ सिट जितेको छ । ममता बेनर्जीको त्रिणमुल काँग्रेसले ३४ सिटमा जित हासिल गरेको छ ।

मुलायम सिंहको एसपीले पाँच सिटमात्र जितेको छ । यो चुनावमा ८१ करोड भन्दा बढी जनताले मतदाता थिए । ७ अप्रिलदेखि १२ मेसम्म भएको निर्वाचनमा ५१ करोड जनताले मतदानमा भाग लिएका थिए । भारतकै इतिहासमा सबैभन्दा धेरै ६६ दशमवल ४ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगले जनाएको छ । सन् १९८४ तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि भएको चुनावमा ६४ प्रतिशत मतदानको रेकर्ड यसपालि तोडिएको छ ।

‘काँग्रेस विनाको सरकार’

भारतका भावी प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक काँग्रेस विनाको बहुमत सरकार बन्न लागेको बताएका छन् ।

आफ्नो जितपछि जनतालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्र बडोदरा पुगेका नेता मोदीले भारतीय जनता पार्टी (भाजपा) लाई बहुमत दिलाएकोमा धन्यवाद व्यक्त गरे ।

‘देश स्वतन्त्र हुनासाथ काँग्रेस पार्टीको सरकार रह्यो । जब काँग्रेसविनाको सरकार बन्यो, ती सबै एक प्रकारले गठबन्धन सरकार बन्यो ।,’ मोदीले भने, हिन्दूस्तानकै इतिहासमा विशुद्ध रुपमा काँग्रेस बाहेकको बहुमतको सरकार हुन लागेको यो पहिलो हो ।’

सवा सय करोड़ देशवासीका लागि कल्याण, सुख, जिन्दगीमा परिवर्तन ल्याउनु सरकारको प्राथमिकता हुने उनले बताए ।

चुनावी सरगर्मी समाप्त भएको भन्दै मोदीले भने, ‘जनताले आफ्नो फैसला सुनाइदिएका छन्, सवा सय करोड़ देशबासीको सपना पूरा गर्नका लागि अब कडा परिश्रम गर्छु ।’

आफ्नो मुख्यमन्त्रीको कार्यकालमा एक पनि छुट्टीमा नबसेको भन्दै मोदीले आफूले गुजरातमा देखाएको विकासको ‘स्प्रीट’ देशभर देखाउने बताए । उनले आफ्नो नारा सुनाए, ‘सबैको साथ, सबैको विकास ।’

३० बर्षपछि आफ्नो पार्टीलाई जनताले बहुमत देखाएको भन्दै मोदीले आभार पनि व्यक्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित