भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ ।
अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको जस नरेन्द्र मोदीलाई दिएका छन् । आफ्नो जितपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै सिंहले उत्तेजक शब्दमा नाराबाजी नगर्न कार्यकर्तालाई अपिल गरेका छन् ।
दिल्लीको ७ सिटमा विजेपीले कब्जा जमाएको छ ।
५४३ सिट मध्ये भाजपा नेतृत्वको एनडीएको ३२९ भन्दा बढी सिट देखिएको छ । जबकि काँग्रेस नेतृत्वको यूपीए गठबन्धन ६७ सिटले मात्र अघि छ । जसमा काँग्रेस एक्लै ४८ सिटमा अघि छ । यहि अवस्था रह्यो भने काँग्रेस दोस्रो दलसम्म नहुने अवस्था देखिएको छ ।
सस्ता नाराका कारण छोटो समयमै चर्चा पाएको आम आद्मी पार्टीलाई केवल ४ सिट मात्रै मिल्ने देखिएको छ । अन्य गठबन्धनको १४३ सिट आउने देखिएको छ ।
मोदीको नेतृत्वमा भाजपाले नयाँ रेकर्ड कायम गर्ने देखिएको छ । सन् १९९९ मा अटल विहारी वाजपेयीको नेतृत्वमा एनडीएलाई २७० सिट प्राप्त भएको थियो । अहिले मोदीले त्यो रेकर्ड तोड्ने देखिएको छ ।
काँग्रेसको सरकारमै रहेका प्रभावशाली मन्त्रीहरुले समेत चुनाव हारेका छन् । काँग्रेस नेतृ सोनिया गान्धीले रायबेरलीबाट जितेकी छिन् । तर, राहुल गान्धीका कारण काँग्रेस हारेको भन्दै उनलाई पार्टीबाट हटाउन नाराबाजी भएको छ ।
लगातार भारतीय सत्ताको बागडोर सम्हालेको काँग्रेसले दुई दशकपछि यो लज्जास्पद हार व्यहोरेको हो । जसका कारण काँग्रेस इतिहासमै सबैभन्दा संकटमा परेको छ ।
















प्रतिक्रिया