२८ आश्विन २०८३, बुधबार

दर्जनभन्दा बढी विभागीय प्रमुख हेरफेर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simhadarbarकाठमाडौं । सरकारले विभिन्न मन्त्रालय मातहतका एक दर्जनभन्दा बढी विभाग र निकायका प्रमुख हेरफेर गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णहरि पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको जगेडामा सरुवा गरिएको छ । यही महिना विदेशमा अध्ययन गर्न जान लागेकाले पुष्करलाई जगेडामा सरुवा गरिएको स्रोतले जनायो ।

श्रम तथा रोजगार मन्त्रालयले सहसचिव जगन्नाथ देवकोटालाई वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएको छ । मन्त्रालयले अर्का सहसचिव विश्वनाथ ढकाललाई सीप विकास तालिम केन्द्रको महानिर्देशकमा सरुवा गरेको छ । श्रम मन्त्रालयमा सरुवा र पदस्थापना भएर आएका दुई सहसचिवमध्ये कनिष्ठ देवकोटालाई महत्त्वपूर्ण विभाग र वरिष्ठ ढकाललाई सामान्य कार्यालय मानिने केन्द्रमा सरुवा गरिएको हो । देवकोटा हालै सहसचिव बढुवा भएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव काशीराज दाहाललाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ ।

स्थानीय विकास मन्त्रालयले सहसचिव धनबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा सरुवा गरेको छ । कार्यकारी अधिकृत लक्ष्मण अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएपछि रिक्त पदमा श्रमबाट सरुवा भएका श्रेष्ठलाई लगिएको हो ।

अर्थ मन्त्रालयले ठूला करदाता कार्यालय ललितपुरका प्रमुख जगदीश रेग्मीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको छ । मन्त्रालयले सहसचिव शंकर खरेललाई ठूला करदाता कार्यालय प्रमुख बनाएको छ । स्रोतका अनुसार सहसचिव बालकृष्ण घिमिरेलाई राजस्व अनुसन्धान विभागको नायब महानिर्देशकमा सरुवा गरिएको छ ।

विभागका नायब महानिर्देशक आनन्द ढकाल अख्तियारमा सरुवा भएपछि उक्त पद रिक्त थियो । सहसचिव रामशरण चिमोरियालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नायब महानिर्देशकमा सरुवा गरिएको छ । अर्थकै अर्का सहसचिव शोभाकान्त पौडेललाई भन्सार जाँचपास परीक्षण कार्यालय प्रमुखमा सरुवा गरिएको छ । कान्तिपुर दैनिकबाट