काठमाडौं । एमाओवादी नेता बाबुराम भट्टराईले नेकपा-माओवादीलाई विद्रोहको कार्यदिशामा नभै संविधानसभाको प्रक्रियामा फर्काउन पहल गर्न अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।
विराटनगर सम्मेलनपछि दुईतिर फर्किएका दुई नेताबीच बुधवार पहिलोपल्ट दाहालनिवास लाजिम्पाटमा भेट भएको हो । त्यसक्रममा नेता भट्टराईले समयमै प्रगतिशील संविधान बनाई मुलुकलाई राजनीतिक निकास दिने बेलामा विद्रोहको कार्यदिशातिर पार्टीलाई धकेल्नु आत्मघाती हुने बताएका हुन् ।
‘बरु वैद्यजीहरुलाई नयाँ संविधान निर्माणकै प्रक्रियामा फर्काउन अधिकतम प्रयास थालौं,ु भट्टराईको सुझाव उद्धृत गर्दै दाहाल निकट एक नेताले बताए । दुई नेताबीच अढाइ घण्टा भएको कुराकानीमा भट्टराई पक्षीय नेतालाई केन्द्रीय समितिमा ल्याउने विषयमा पनि सकरात्मक छलफल भएको थियो ।
विराटनगर सम्मेलनमा खासगरी अध्यक्ष दाहालको राजनीतिक र सांगठनिक प्रस्तावप्रति आपत्ति जनाउँदै भट्टराई पक्षधर नेताहरुले ले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका थिए । उनीहरु सम्मेलनको समापन कार्यक्रममा समेत सहभागी नभइ बाहिरिएका थिए । सम्मेलनबाट फर्केलगत्तै परिवारसहित तिब्बत यात्रामा पुगेका उनी मंगलबार फर्किएका हुन् । भेटमा वैचारीक र सांगठनिक विषयमा छलफल भएको थियो । विराटनगर सम्मेलनमा फरक मत पक्षधरलाई सिध्याउने गरी सांगठनिक संरचना बनाएकोमा भट्टराईले आपत्ति समेत जनाएका थिए ।
तत्कालीन कार्यदिशामा पनि पार्टीले संविधानसभाबाट प्रगतिशील संविधान बनाई समाजवादी क्रान्तितर्फ उन्मुख हुनुपर्नेमा विराटनगरमा ‘चलखेलु हुन थालेको भन्दै भट्टराईले संशय राखेका थिए । ‘एउटा पक्षलाई तर्साउन वैद्यसँग एकिकरणको प्रस्ताव ल्याउने, त्यसका लागि विद्रोहको कार्यदिशामा समेत जान सकिने प्रस्ताव त्रुटिपूर्ण छ,’ अध्यक्ष दाहालसामू भट्टराईले राखेको प्रसङ्ग राख्दै ती नेताले भने, ‘कसैलाई तर्साउनका लागि होइन । राजनीतिक निकास दिनका लागि भने पार्टी एकिकरण गरे हुन्छ । तर, पहिले संविधान निर्माणलाई प्राथमिकता दिनुपर्छ ।’
अध्यक्ष दाहालले कहिले भट्टराई र कहिले अर्का नेता नारायणकाजी श्रेष्ठको पक्ष लिई पार्टीको समिकरण विगारेको र दूरी बढाएको प्रसङ्ग पनि भेटमा उठेको थियो । आफू र नेता श्रेष्ठलाई बेग्लाबेग्लै भन्दा सँगै बसी पार्टीको विवादबारे छलफल गर्नुपर्ने भट्टराईको प्रस्तावपछि शीर्ष ३ नेता बिहीवार बिहान सानेपामा बस्दैछन् ।
अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणी खडाले भने नेताबीच सैद्धान्तिक, सांगठनिक र क्रान्तिको कार्यदिशाबारे छलफल भएको भएको बताए । ‘के के कुरा भयोभन्दा पनि सैद्धान्तिक कुरा धेरै भएको हो । थप छलफल ३ नेताबीच भोलि (बिहीबार) हुनेछ,’ उनले भने, ‘तर, दुई नेताबीच कुराकानी असाध्यै सकारात्मक छ । बाहिर हल्ला भएजस्तो विवाद छैन ।’
संविधानतिरै लाग्नुस् : राष्ट्रपति
यसैबीच राष्ट्रपति डा.रामवरण यादवले बुधवार साँझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटी संविधान बनाउनतिरै केन्द्रीत हुन जोड दिएका छन् । विराटनगर सम्मेलनपछि पुन अध्यक्ष भएपछि दाहाललाई बधाई दिंदै राष्ट्रपति यादवले संविधानविरोधी तप्काको उक्साहटमा नपर्न सुझाव समेत दिएका थिए ।
‘समयमै संविधान बनाउन र सबै दललाई त्यसैमा केन्द्रीत पार्न एक सूत्रीय एजेण्डा तपाइको हुनुपर्छ’, राष्ट्रपतिको सल्लाह उद्धृत गर्दै स्वकीय सचिव ललितबहादुर बस्नेतले बताए । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया