दोहा – डाक्टर भन्छन् :
– वर्षमा एकपटक स्वास्थ्य जाँच गरौं
– मुटुको स्क्यानिङ गरौं
– रगत जाँच गरौं
– सुंगुरको जाँच गरौं
कतारमा कार्यरत नेपाली डाक्टरहरूले मुटुलाई परीक्षण गर्न सबै कामदारलाई सुझाव दिएका छन् । नेपाली दूतावासको विशेष सहयोगमा प्रवासी नेपाली समन्वय समितिद्वारा आयोजित जनस्वास्थ्य अन्तरक्रियामा सहभागी हुँदै नेपाली डाक्टरहरूले युवा अवस्थामा नेपालीको मृत्यु भएकाले सबैले मुटुको परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ‘यहाँ मर्ने ६० प्रतिशत नेपाली सडेन कार्डियक एरेस्टबाट भइरहेको छ । जुन हाम्रो मुटुको कमजोर स्थिति हो,’ मुटु विशेषज्ञ डा. हरिलाल नकर्मीले भने, ‘मुटुको परीक्षण नगराउँदा धेरै नेपालीको अकालमा मृत्यु भइरहेको छ ।’
उनले सडेन कार्डियक हुनको लागि आफूले चलाउने एसीलाई सही ढंगले चलाउन नजान्नु, रोग प्रतिरक्षामा कमी हुनु, उच्च रक्तचाप भइरहँदा पनि कडा परिश्रम गर्नुजस्ता रहेको छ । ‘जो मुटुरोगी छ । त्यो बढी एसीको सिधै चिसोमा बस्यो भने सुतेको सुत्यै हुन सक्छ,’ उनले भने ।
जनरल फिजिसियन डा. नरेन्द्र शाक्यले ९९ प्रतिशत कार्डियक एरेस्ट मुटु रोगबाट हुने बताए । ‘नेपालबाट कतार आउँदा अनिवार्य रूपमा मुटुको स्क्यानिङ गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा गर्ने स्वास्थ्य परीक्षणले कामदारको रक्षा गर्ने होइन । त्यो सम्बन्धित देशका लागि जानयोग्य छ कि छैन भनेर हेर्ने मात्रै हो ।’
शाक्यले ९० प्रतिशत युवा उमेरका नेपालीको ज्यान जानु निकै दुःखद भइरहेको बताए । ‘धेरैजसो नेपाली स्वदेशमा उपचार जारी गर्दै गरेको अवस्थामा छोडेर आएका छन् । त्यसलाई यहाँ निरन्तर दिएको हुँदैन,’ उनले भने, ‘सुरुको अवस्थामा रोग देखिँदैन । यस्तो रोग लुप्त अवस्थामा बसिरहेको हुन्छ ।’
नकर्मीले नेपालीको अन्य देशका नागरिकको भन्दा मृत्युदर बढी रहेको बताए । ‘कतिपय नेपालमा लाग्ने रोग यहाँ लाग्दैन,’ उनले भने, ‘त्यस्तोको औषधि पनि यहाँ हुँदैन ।’
नेपाली डाक्टरहरूले स्वास्थ्यसम्बन्धी चेतनामा अभिवृद्धि ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले गर्मीको समयमा शरीरबाट पसिना बढी बग्ने र त्यसअनुरूप शरीरमा पानीको मात्रा पूरा गर्न नसक्दा मृगौलासम्बन्धी रोग पनि नेपालीलाई बढी हुने गरेको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष टीबी कार्कीले एनआरएनमार्फत स्वास्थ्यसम्बन्धी जनचेतना र प्रचार प्रसारमा जोड दिने बताउँदै कामदार परिचालन गर्ने व्यवसायीलाई नेपाली कामदार सामान्य बिरामी पर्दा हस्पिटलको बिरामी बिदाको पत्र नकुरी आराम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले जनचेतनामूलक कार्यक्रमले कलिला उमेरका मान्छेहरूको मृत्युदर घटाउन सहयोग पुग्ने बताए । नेपाली कामदारको मृत्युदर घटाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै पाण्डेले नेपाल सरकारलाई मुटुको परीक्षणपछि मात्रै श्रम स्वीकृति गर्न सिफारिस गर्ने बताए । निराजन भण्डारीले सहजीकरण गरेको कार्यक्रममा समितिका कतार प्रतिनिधि अभिमान लामाले नेपाली कामदारको स्वास्थ अभिवृद्धिका लागि यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।
कान्तिपुर कतार संस्करणबाट












प्रतिक्रिया