बुटवल । तेल चोरीमा संलग्न रहेको आरोपमा फरार ट्यांकर व्यवसायी हरिबहादुर कुँवर सोमबार बिहान राजधानीमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डिएसपी दीपक न्यौपानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं वनस्थलीबाट नियन्त्रणमा लिएको हो।
भारतबाट ल्याइएको तेल रुपन्देहीको भलवारी डिपोमा पुग्नुअघि चोर्दाचोर्दै पक्राउ परेका ट्यांकर चालकले व्यवसायीको समेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले कुँवरलगायत १६ व्यवसायीविरुद्ध पक्राउपुर्जी जारी गरेको छ। कुँवर पश्चिमाञ्चल ट्यांकर व्यवसायी महासंघका निर्वतमान अध्यक्ष हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठ, संघका अध्यक्ष राकेशकुमार कसौधन, वरिष्ठ उपाध्यक्ष बालकृष्ण गैरे, व्यवसायी विनोद उप्रेती, पशुपतिनाथ कसौधन, प्रेम गैरे, दयाशंकर प्रसाद कसौधन, लक्कु चौधरी, विकास क्षेत्री, रामचन्द्र अधिकारी, श्रवणकुमार श्रेष्ठ, रुद्र शर्मा, प्रिती जयसवाल, पिंकी जयसवाल र पप्पुकुमार कसौधनका नाममा पनि पक्राउपुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तको खोजी गर्न दुई टोली परिचालन गरेको जनाएको छ। प्रहरी अनुसन्धानअनुसार फरारमध्ये केही भारतमा र अन्य नेपालमै छन्।
प्रहरीले भने व्यवसायीप्रति नरम हुँदै मुद्दा अघि बढाउनुपर्ने दबाब झेल्दै आएको छ। ‘फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन कुनै कसर बा“की राख्दैनौं, कसैको दबाब आउँदैमा प्रहरी पछि हट्दैन,’ रुपन्देहीका प्रहरी प्रमुख विक्रमसिंह थापाले भने। नागरिक दैनिकबाट











प्रतिक्रिया