काठमाडौं । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सहसचिवस्तरका २५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेका छन् । उपसचिवस्तरका ४३ प्रजिअको सरुवा गरेको दुई साता नपुग्दै उनले फेरि अर्को लट सरुवा गरेका हुन् । उनीहरूको पहिलो चरणमा काज सरुवा गरिएको हो । सामान्य प्रशासन मन्त्रालयले सहमति दिएपछि उनीहरूलाई सोही ठाउँमा सरुवा गरिने जानकारी स्रोतले दियो ।
गौतमले हालै बढुवा भएकामध्येबाट आफूले रोजेर ल्याएका सहसचिवलाई महत्त्वपूर्ण जिल्लाको प्रजिअ बनाएको एक अधिकारीले बताए । आफ्नो स्वार्थमा काम गर्न नचाहनेलाई भने क्षेत्रीय प्रशासन कार्यालयमा लगेर थन्क्याएका छन् । सहसचिव प्रजिअ हुनेमध्ये उपनिर्वाचन तय भएका चार जिल्ला काठमाडौं, चितवन, कैलाली र बर्दियाका प्रजिअलाई सरुवा गरिएको छैन ।
हालै बढुवा भएका सहसचिवमध्ये वीरेन्द्रकुमार यादवलाई सप्तरी, भगिराज इङनामलाई धनकुटा, मदन भुजेललाई रौतहट, विनोदप्रकाश सिंहलाई कपिलवस्तु, कृष्णप्रसाद ढुंगानालाई धनुषा, अब्दुल कलाम खाँलाई सिरहा, दुर्गाप्रसाद पोखरेललाई सर्लाही, गोविन्दबहादुर कार्कीलाई डोटीमा र केदार न्यौपानेलाई काभ्रेमा प्रजिअ बनाइएको छ ।
गौतमले रोजेर उनीहरूलाई आफ्नो मन्त्रालयमा पदस्थापना गराई अहिले प्रजिअको जिम्मेवारी दिएका हुन् । गृहमन्त्रीले अरू मन्त्रालयबाट छानेर ल्याएका सहसचिव सुदर्शन ढकाललाई सुनसरीको प्रजिअ बनाएका छन् । ढकाल यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक थिए ।
चार प्रजिअ डोटीका दीपक काफ्लेलाई क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल, उदयपुरका राजकुमार श्रेष्ठलाई क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिम, सुर्खेतका पुरुषोत्तम कुँवरलाई क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चल र काभ्रेका दुर्गाप्रसाद भण्डारीलाई क्षेत्रीय प्रशासन कार्यालय पश्चिमाञ्चलमा सरुवा गरेका छन् ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार स्याङ्जाका कृष्णबहादुर राउतलाई कास्कीमा, बाराका दिनेश भट्टराईलाई दाङमा, सिरहाका अनिलकुमार ठाकुरलाई भक्तपुरमा, कञ्चनपुरका पर्शुराम अर्याललाई बारामा, कपिलवस्तुका कृष्णचन्द्र घिमिरेलाई कञ्चनपुरमा सारिएको छ ।
नवलपरासीका केशवराज घिमिरेलाई मकवानपुरमा, दाङका रविलाल पन्थलाई महोत्तरीमा, धनुषाका हरिप्रसाद मैनालीलाई नवलपरासीमा, महोत्तरीका रामप्रसाद थपलियालाई उदयपुरमा, सर्लाहीका दिनेशकुमार घिमिरेलाई स्याङ्जामा, रौतहटका दिलबहादुर घिमिरेलाई सुर्खेतको प्रजिअमा सरुवा गरिएको छ । कान्तिपुर दैनिकबाट











प्रतिक्रिया