२८ आश्विन २०८३, बुधबार

भट्टराई–गुट फकाउँदै दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamalकाठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय नेतृत्वप्रति तीव्र असन्तुष्ट बाबुराम भट्टराई पक्षलाई फकाउन सक्रिय भएका छन्। पार्टीको राष्ट्रिय सम्मेलनमा आफूले प्रस्तावित गरेको केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै समापन समारोह बहिष्कार गरेका नेता भट्टराई पक्षधरसँग उनले दिनहुँ भेटवार्ता र छलफल गरिरहेका छन्।

भेटघाटमा संलग्न भट्टराई निकट नेताहरुका अनुसार दाहाल असन्तुष्टलाई केन्द्रीय समितिमा फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा छन्।
लाजिम्पाटस्थित निजी निवास र पार्टी मुख्यालय पेरिसडाँडामा भट्टराई निकट नेताहरुलाई भेटेर दाहालले पार्टीलाई विभाजनबाट जोगाउने विषयमा छलफल गरिरहेको उनी निकट स्रोतको भनाइ छ।

यही क्रममा शनिबार लाजिम्पाटस्थित निवास डाकिएका भट्टराई निकट नेता देवेन्द्र पौडेललाई दाहालले ‘भट्टराई तिब्बतबाट फर्केपछि सल्लाह गरेर अघि बढ्नेु प्रतिबद्धता जनाए। ‘अध्यक्षले बाबुरामजी लगायत तपाईहरुलाई बाहिर राखेर अघि बढ्दिनँ, त्यसका लागि बाबुरामजी नेपाल फर्केलगत्तै सल्लाह गरेर अघि बढ्नेछु भन्नुभयो,’ पौडेलले शनिबार साँझ नागरिकसँग भने, ‘मैले पनि भिन्न विचार राखेकै आधारमा तपार्इं त्यसरी आक्रामक हुनुहुँदैनथ्यो भनेँ।’ दाहाललाई सबैलाई केन्द्रीय समितिमै फर्काएर मात्र अघि बढ्ने मनस्थितिमा आफूले पाएको पौडेलले जनाए।

विराटनगरमा गत बुधबार सम्पन्न राष्ट्रिय सम्मेलनमा दाहालले एकलौटी गर्न खोजेको, भिन्न मत राखेकै आधारमा माइनस गर्न खोजेको, संगठनको बलमा आफ्नो समूहलाई कमजोर बनाउन खोजेको भन्दै भट्टराईसहित उनी पक्षधर नेताले केन्द्रीय समिति सदस्य पद अस्वीकार गरेका थिए।
भट्टराई पक्षको अस्वीकारका बाबजुद दाहालले ९९ सदस्यीय केन्द्रीय समिति घोषणा गरेपछि दाहाल–भट्टराई पक्षबीच विवाद चुलिएको छ।
भट्टराई सम्मेलन समापनकै दिन राजधानी फर्किएर मानसरोवर यात्रा (तिब्बत भ्रमण) मा लागेका छन्।

सांगठनिक विवाद मत्थर गर्ने उद्देश्यले भट्टराई तिब्बत रहेकै बेला दाहालले उनी निकट नेतालाई छुट्टाछुट्टै भेटघाट गरिरहेका छन्। त्यस क्रममा उनले पार्टी मुख्यालय पेरिसडाँडामा प्रभु साहलाई बोलाएर छुट्टै छलफल गरे।

‘अध्यक्षले आफ्ना नेताहरु भेट्नुभएको हो, यो कुनै ठूलो कुरा होइन,’ दाहालका प्रमुख स्वकीय सचिव चुणामणि खड्काले नागरिकसँग भने, ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने र आगामी चुनौती कसरी सामना गरेर अघि बढ्ने भन्ने विषयमा राय लिनुभएको हो।’ उनका अनुसार दाहाल पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्।

दाहाल जेठ १ गते डाकिएको नयाँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकअघि भट्टराईसँग छलफल गरेर मात्रै केन्द्रीय समितिलाई पूर्णता दिने योजनामा छन्। भट्टराई ३० गते तिब्बत भ्रमण सकेर स्वदेश फर्किंदैछन्।

‘बाबुरामजीसँग ३०–३१ गते कुराकानी गरेर मात्रै थप निर्णय लिने पक्षमा अध्यक्ष (दाहाल) हुनुहुन्छ,’ दाहाल निकट एक नेताले भने, ‘विराटनगरमा जे–जे भए पनि अहिले बाबुरामजीलाई अलग राखेर अघि बढ्ने पक्षमा उहाँ हुनुहुन्न।’ नागरिक दैनिकबाट