२८ आश्विन २०८३, बुधबार

स्वादिलो सहर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khane Kuraकाठमाडौं । नाङ्लो बेकरी क्याफेका संस्थापक श्याम कक्षपतिको भनाइ केलाउने हो भने काठमाडौंमा ‘रेस्टुराँ कल्चरु मौलाइसकेको छ। कुनैबेला रेस्टुराँमा पुरुष मात्रै जम्थे। समयको गतिसँगै अचेल सबै उमेरका महिला–पुरुष रेस्टुराँ धाउँछन्। थरीथरीका परिकार चाख्छन्। स्वादमा रमाउँछन्। यसैको परिणाम हो, काठमाडौंका टोलटोलमा सानादेखि ठूला रेस्टुराँसम्म खुलेका छन्। बजेटअनुसारका, सस्ता–महँगा। स्वादअनुसार परिकार पाइने।

साथीसँगी भेट्न होस् या लन्च, डिनर, खाजा खान वा शुभकामना भोज गर्न, रेस्टुराँ अनिवार्य बनिसकेको छ। कुनै रेस्टुराँ पुग्दा गाउँको घरमा पुगेजस्तो लाग्छ, कुनैमा पुग्दा न्युयोर्क, बेलायत वा टोकियो पुगेको अनुभव हुन्छ। विदेश नपुगे पनि त्यहाँको झल्को दिने वातावरणमा बसेर त्यतैका खाना चाख्न पाइन्छ काठमाडौंमा। दरबारमार्ग, ठमेल, पुल्चोक, लाजिम्पाट, बानेश्वर, झम्सीखेल, जावलाखेल, सुन्धारालगायत ठाउँमा अनगिन्ति रेस्टुराँ खुलेका छन्।

र, ती सबै ठाउँमा नेपालीकै भिड लाग्छ।

४० वर्षअघिको काठमाडौं यस्तो थिएन। औंलामा गन्न सकिने रेस्टुराँ थिए। भर्खर–भर्खर पश्चिमा प्रभाव फैलिँदै थियो। पश्चिमा खानाको त्यति चल्ती थिएन। कक्षपति युवा थिए। उनले ‘हयाङ आउटु हुने उपाय सोचे। रेस्टुराँ खोले।

उनले सन् १९७३ मा रत्नपार्कमा खोलेको ‘क्याफे डि पार्कु ले युवामा पश्चिमा खानाप्रति क्रेज बढायो। संगीत सुन्न रेडियो बजाउनुपर्ने युगमा रेस्टुराँमै संगीत सुन्दै खान पाइने भएपछि तन्नेरीको भिड लाग्न थाल्यो। साँझ रत्नपार्क बगैंचामा घुम्नेहरूको भिड लाग्थ्यो कक्षपतिको रेस्टुराँमा। उनीहरूलाई कक्षपतिले ताने।

‘ह्याम बर्गर, हट डग, पिज्जा, पेस्ट्री नौलो स्वाद भयो,ु कक्षपति सम्झन्छन्, ‘साँझ रत्नपार्क घुम्न आउनेहरू हाम्रोमा इन्जोय गर्न थाले। रेस्टुराँ चाँडै पपुलर भयो।’

उनले बजार जमाउनुअघि रत्नपार्कमा पार्क रेस्टुराँ र भूगोलपार्कमा इन्दिरा रेस्टुराँ थिए, जहाँ पश्चिमा र भारतीय खाना पाइन्थ्यो। कक्षपतिका भनाइमा ती रेस्टुराँ महँगा थिए। उनले चाहिँ मध्यम वर्गलाई निशाना बनाए।

रेस्टुराँ गएर खानु राम्रो मानिँदैनथ्यो त्यतिबेला। केटा मात्रै आउँथे। केटी आउन लजाउँथे। परिवार पनि आउँदैनथ्यो। ‘अरू केही काम पाएन रेस्टुराँ खोल्यो भनेर मलाई समेत साथीभाइले उडाए,’ भन्छन्, ‘आज रेस्टुराँ समाजले स्विकारेको एउटा कल्चर बनिसक्यो।’

असन, इन्द्रचोक, न्युरोड र दरबारमार्गबाट काठमाडौं सहर फैलिँदै गयो। सहरको आयातनसँगै रेस्टुराँ थपिँदै गए। कक्षपतिले रत्नपार्कमा क्याफे चल्दाचल्दै दरबारमार्गमा सन् १९७६ मा नाङ्लो बेकरी क्याफे खोले। पछि सन् १९८० मा पार्क बन्द गरे। नेपालको पहिलो चेन रेस्टुराँ द बेकरी क्याफे नै थियो।

अहिले काठमाडौं उपत्यकामा मात्रै बेकरी क्याफेका १० शाखा छन्। चप्पल पड्काउनेदेखि सुट ढल्काउनेसम्म बेकरीमा बसेर मज्जाले खान्छन्। सबै खाले ग्राहक सजिलै भित्र पस्न सकून् भनेर तडकभडक नगरी सामान्य सज्जा गरिएको उनी सुनाउँछन्।

रेस्टुराँ जाने स्वभाव, शैली र कारण व्यक्तिपिच्छे फरक हुन्छन्। व्यस्त जीवनशैली बाँचिरहेका कतिपय कामकाजीहरू रेस्टुराँमै बे्रकफास्ट, लन्च लिन्छन्, खाजा खान्छन्। पहिले–पहिले साथीभाइ मिटिङ गर्नुपर्‍यो भने घर वा अफिसमा गरिन्थ्यो। हिजोआज कफी वा जुस पिउँदै रेस्टुराँमा गरिन्छ। मुख फेर्न र रमाइलो गर्न रेस्टुराँ धाउनु त छँदैछ। नागरिक दैनिकबाट