२८ आश्विन २०८३, बुधबार

सभासद थुन्न कोठै पुगेन कारागारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjaya-Saha-Taklaमहोत्तरी । जनकपुर बमकाण्डका ‘मुख्य योजनाकारु सञ्जय साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाउँदै जलेश्वर कारागारले फिर्ता पठाइदिएको छ।

सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सभासद साहलाई कारागारले नमानेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। जिल्ला अदालत धनुषाले थुनामा राख्न आदेश दिएसँगै साहलाई बिहीबार राति ८ बजे जलेश्वर कारागार पुर्‍याइएको थियो। पहिल्यै क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारमा उनलाई राख्न ठाउँ नपुगेकाले फिर्ता पठाउनुपरेको जेलर शोभेन्द्र ठाकुरले बताए।

‘पहिल्यै क्षमताको चार गुना कैदी छन्,’ उनले भने, ‘सुरक्षा दृष्टिले पनि उच्च जोखिम रहेकाले उनलाई अन्य कारागारमा राख्न अनुरोधसहित पत्र लेखेका छौं।’

एक सय ३५ जना क्षमताको कारागारमा ५ आश्रित बालबालिकासहित ३२ महिला र ४ सय १२ पुरुष गरी ४ सय ४९ कैदी कष्टपूर्ण जीवन बिताइरहेको र थप कैदी राख्न सकिने अवस्था नरहेको उनले जानकारी दिए।

पाँच जनाको ज्यान जानेगरी भएको उक्त बमकाण्डमै संलग्न राजन मुक्ति भनिने रञ्जित झालगायत आधा दर्जनभन्दा बढी आपराधिक समूहका सदस्य एकैठाउँ रहेकाले आन्तरिक सुरक्षालाई समेत ध्यानमा राखी साहलाई फर्काइएको कारागार प्रशासनले जनाएको छ।

कारागारले राख्न नमानेपछि साहलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्नुपरेको महोत्तरी प्रहरीप्रमुख एसपी रामप्रसाद श्रेष्ठले बताए। ‘फेरि कारागार पठाउन कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले अझै एक–दुई दिन यहीँ राखिनेछ,’ उनले भने। नागरिक दैनिकबाट