सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

यसकारण ओलीलाई मेरो समर्थन…

दैनिक नेपाल २०७१ वैशाख २६ गते २१:४०
bamdev-gautam
हाम्रो काँधमा अहिले स्थानीय निर्वाचनको निर्वाचन गर्नुपर्ने जिम्मेवारी छ । स्थानीय निर्वाचन गराउने विषयमा नेपाली कांग्रेस र एमालेबीच लिखित सहमति भएको छैन । तर, प्रधानमन्त्रीले दुई पार्टीबीच कुराकानी गर्दा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भन्ने कुरा बोल्नुभएको छ । एमाओवादी र मधेशवादी पार्टीले स्थानीय निर्वाचन भएमा हामी असफल बनाइदिन्छौं, ध्वस्त बनाइदिन्छौं भनेका छन् । तर, त्यस्तो सम्भव छैन । हामी अहिले कसरी राजनीतिक सहमति गर्ने भन्ने पक्षमा छौं । स्थानीय निर्वाचनमा कुनै पार्टी आउँछ कि आउँदैन भनेर हाम्रो पार्टीले हेरेको छैन । स्थानीय निर्वाचन हुनुपर्छ, त्यसलाई सफल बनाएरै छाड्नुपर्छ ।
०००
यो सरकारले गति लिन सकेन भनिन्छ । तर, अहिले हामी जस्ता किसिमका मानिसहरुलाई लिएर सरकार बनाएका छौं, त्यस्तो सरकारबाट हुने काम यस्तै हुन्छ । यो भन्दा बढी काम गर्नुपर्छ भनिन्छ, तर गर्नेहरुको तागत जति छ, हुने त्यति नै हो । हामीले जे–जे गरिरहेका छौं, त्यो राम्रै गरिरहेका छौं । त्यसमा असन्तोष गर्नुपर्ने कारण म देख्दिनँ । जुन उद्देश्यका निम्ति सरकार बनेको हो, त्यो दिशामा यो सरकार लागेको छ । एक वर्षभित्र हामी सरकार बनाउँछौं । अहिले संविधानसभाका समितिहरु अत्यन्तै सक्रिय छन् । यो संसदले एकवर्षभित्र संविधान दिएरै छाड्छ । र, यो संसद अझै चार वर्षसम्म चल्छ । संविधान जारी भएपछि संविधानअनुरुप यो संविधानसभाले व्यवस्थापिका संसदका रुपमा काम गर्ने छ । अर्को आम निर्वाचनबाट प्रतिनिधी सभा नचुनिएसम्म यही संसद कायम रहनेछ ।
०००
नेपाली कांग्रेससँग सात बुँदे समझदारीका आधारमा हामी सरकारमा सामेल भयौं । त्यो सात बुँदामध्ये दुईवटा बुँदा छन्, एउटा वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिलेको संसदबाट अनुमोदन गर्ने । र, अर्को हो, संविधान जारी हुनुपूर्व सभामुख र उपसभामुखको नयाँ निर्वाचन गर्ने । तर, नेपाली कांग्रेसले सरकार बनेपछि राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिलेको संसदबाट अनुमोदन गर्ने विषय निकाल्नै चाहँदैन ।
०००
नवौं महाधिवेशनबाट पार्टीको नेतृत्व हस्तान्तरण हुँदैछ, तर पुस्तान्तरण हुँदै छैन । पुस्तान्तरण हुँदैछ भनेर ज–जसले भन्दै हुनुहुन्छ, उहाँहरुले अप्राकृतिक कुरा हो । कुनै व्यवहारिक र वैज्ञानिक कुरा उहाँहरुले गरिरहनुभएको छैन । पुस्तान्तरण गर्ने भनेर हुँदैन, त्यो त स्वतः हुँदै जाने कुरा हो । त्यसैले मैले कमरेड केपी ओलीलाई अध्यक्ष बनाउने भनेको छु । यही नै उपयुक्त बाटो हो । मलाई तपाईंहरुले साथ दिनुस् ।
०००
झलनाथ खनाल पार्टीको अध्यक्ष हुनुअघि महासचिव हुनुहुन्थ्यो । उहाँलाई महासचिव बनाउन भनेर मैले नै प्रस्ताव गरेको हुँ । आठौं महाधिवेशनमा उहाँलाई अध्यक्ष बनाउने पनि मैं हुँ । मैले साथीहरुलाई झलनाथलाई अध्यक्ष बनाउन सहयोग गर्नुस् भनेको थिएँ । उहाँले मेरो अनुरोधलाई स्वीकारेर झलनाथलाई अध्यक्षमा निर्वाचित गराउनुभयो । उहाँ अध्यक्ष भइसकेपछि तीन–तीन वर्षसम्म केन्द्रीय कमिटीभित्रैबाट असहयोग भयो । उहाँले नै अध्यक्षता गरेको बैठकमा उहाँलाई निलम्बन गर्नेसम्मको कुरा निस्कियो । त्यस्तो बेलामा उहाँलाई साथ दिने म एक्लो थिएँ । एकजना साथीले उहाँलाई निलम्बन गरिएको छ भनेर माइन्युट लेख्छु भन्नुभयो । मैले नलेख्नुस् भनेँ । उहाँले ‘हैन, म त लेख्छु’ भन्दै माइन्युट आफ्नो हातमा लिनुभयो । मैले कड्किएर ‘नलेख्नुस्’ भनेँ । उहाँले ‘हैन, म त लेखेरै छाड्छु’ भन्नुभयो । मैले ‘नलेख्नुस्’ भनेँ । उहाँले ‘लेखेँ भने के गर्नुहुन्छ’ भनेर सोध्नुभयो । मैले भनेँ, ‘तपाईंले त्यस्तो लेख्नुभयो भने म पनि त्यो माइन्युट च्यातचुत पारेर यहीँ आगो लगाइदिन्छु ।’ मैले अध्यक्षलाई यसरी एक्लै एक्लै लडेर पनि जोगाएँ । म पार्टीको उपाध्यक्ष । तर, एकचोटि उहाँ विदेश गएको बेला मलाई थाहै नदिई अर्कैलाई कावा दिएर जानुभयो ।
०००
म यो पार्टीको संस्थापक हुँ । ०४७ सालमा माक्र्सवादीसँग एकीकरण हुँदा र त्यसपछिको केन्द्रीय कमिटीमा पनि म थिएँ । राम्रो गरेँ कि नराम्रो गरेँ, म बीचमा चार वर्ष अन्तै थिएँ । हामी चार वर्षपछि पार्टीमा फर्कियौं । त्यसबेला गल्ती गरियो । तर, त्यो गल्तीको सजायँ कहिलेसम्म भोग्नुपर्छ ? आज मैले केपी कमरेडलाई अध्यक्ष बनाउने भनेको छु, त्यसैले धेरै साथीहरु त्यो कुरामा सहमत हुनुहुन्छ । तर, मैले म आफैं अध्यक्ष बन्छु भनेको भए आज सबका सब शीर्ष नेताहरु मेरा विरुद्धमा एकजुट हुनुहुन्थ्यो ।
(राजधानीमा शुक्रबार युवा किसान संघको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटनका क्रममा गौतमबाट व्यक्त मन्तव्यको मूल अंश)
प्रतिक्रिया
सम्बन्धित