बुधबार, २६ चैत २०७६
DainikNepal.com
बुधबार, २६ चैत २०७६

सामसुङ मोबाइलले नै मलाई चिनायो

दैनिक नेपाल २०७१ वैशाख २६ गते १६:३२

Samsung-galaxy-Deepak-Malahotra

नेपाली बजारमा ५० प्रतिशत हिस्सा सामसुङ मोबाइलले लिएको छ भन्दा फरक पर्दैन होइन त ?

यसलाई हामीले दुई किसिमले हेर्नुपर्दछ । एउटा भ्यालु र अर्काे भोलुम । भ्यालुबाट हामीले ५० प्रतिशत हिस्सा ओगटेका छांै । संख्याको हिसाबबाट हामीले २५ प्रतिशतमात्र ओगटेका छौं । किनभने हाम्रो स्मार्टफोन महँगो भएको कारणले गर्दा ।

ग्राहकले सामसुङ ब्रान्ड रुचाउनुको कारण चाहिँ के नि ?

सस्तोमा २२ सयदेखि महँगोमा ९१ हजारसम्म रूपैयाँ पर्ने मोबाइल सामसुङको बिक्री गरिरहेका छौं । यसमा सबै खालका व्यक्तिलाई मन पर्ने मोडल पाइन्छ । यसको गुणस्तर र नयाँ प्रविधि अनि फङ्सनले पनि ग्राहकको मन जित्ने गरेको छ । एकवर्षे वारेन्टी छ । ब्याट्रीमा ६ महिनाको ग्यारेन्टी छ । नेपालका पाँच ठाउँमा सर्भिस सेन्टर छन् ।

नेपालमा वार्षिक कति जति बिक्री भएको छ ?

वार्षिक तीन लाख सेट बिक्री गरिरहेका छौं ।

नक्कली मोबाइल कर नतिरीकन नेपाली बजारमा आइरहेका छन्, यसले पनि त बजारमा असर पारेको होला नि ?

खासा बजारबाट नक्कली फोन आइरहेका छन्, त्यो चोरी गरी ल्याइएको हो । सक्कली मोबाइल पनि भारततिरबाट चोरीपैठारी गरेर आएको छ । हाम्रो प्रतिस्पर्धी भनेको चोरी गरी आएका सामसुङ मोबाइल नै हो । यसले हाम्रो बजार बिगारिरहेको छ । त्यसलाई कसरी नियन्त्रण गर्ने भनी हामीले योजना बनाइरहेका छौं । हामीले बजार मूल्य घटाएर पनि तिनीहरूसँग प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छौं ।

इन्सुरेन्सका कारण पनि सामसुङ बढी बिक्री भएको भनिन्छ नि ?

हामीले महँगो फोनमा इन्सुरेन्स दिएका छौं ।

तपाईलाई सामसुङले नै चिनाएको हो नि ?

निश्चित रूपले । यसैबाट म राम्रोसँग स्थापित हुन सकेको छु ।

घरजग्गामा बैंकहरूले अधिक लोन दिएर व्यवसायमा समस्या देखियो । अहिले धेरै व्यवसायीहरू डुबेको अवस्था छ, तपाई पनि त्यसमा संलग्न रहेको नाताले के भन्नुहुन्छ ?

विगत चार–पाँच वर्षयता घरजग्गा व्यवसाय नराम्रोसँग बिग्रियो । केही व्यवसायी थला परेको छर्लङ्ग छ । बढी कमाउने लोभमा परेर जो हाउजिङमा मात्रै लागे उनीहरू डुबेका हुन् । सरकारको नीतिकै कारण घरजग्गामा यस्तो समस्या आएको हो । अहिले बजारमा तरलता बढी छ । सेयर बजार पनि सप्रिँदै छ । त्यसको घरजग्गा व्यवसायमा पनि सकारात्मक असर देखिन थालेको छ ।

घरजग्गा व्यवसायलाई सुधार्न कसले के गर्नुपर्छ ?

घरजग्गामा लगानी नगराउने अनि व्याजदर बढाउने । यी र यस्ता नीति नै कारक थिए यो व्यवसाय नराम्रो अवस्थामा पुग्नुमा । व्यक्तिगत लोनमा सीमा तोक्नु उचित होइन । यो व्यवसायलाई पनि उद्योग सरह सुविधा दिएर लगानी नीति खुकुलो बनाउन सरकारले पहल गर्नुपर्दछ । अनि मात्रै सुधार आउने छ ।

बैंकले गर्दा नै रियलस्टेट समस्याग्रस्त बनेको भनिन्छ, यो कुरालाई स्वीकार्नुुहुन्छ ?

यो व्यवसायमा बैंकहरू पनि अप्रत्यक्ष रूपमा संलग्न भए । कृत्रिम रूपमा मूल्य बढाइयो । त्यसले थेग्न सक्ने अवस्था नै रहेन र विस्फोट भयो ।

अहिले नेपालमा सुन तस्करी बढिरहेको छ किन होला ?

व्यापारीहरू जता नाफा हुन्छ उतै लाग्ने नै भए । सुन आयात गर्दा १२ प्रतिशत भन्सार लाग्छ तर लुकाएर ल्याउँदा फाइदा नै हुने भयो । सुन नगद रूपैयाँ जस्तै पनि भयो, तत्काल नाफा आर्जन गर्न सकिन्छ ।

सुन व्यापार कस्तो छ अहिले ?

सरकारले बैंकिङ च्यानलबाट आयात गर्न सुरु ग¥यो तर भने जति उनीहरूले सुन ल्याउन सकेनन् । नपुगेपछि चोरीपैठारी गरेर आउन थाल्यो । सुन नेपालीहरूको पर्व वा समारोहमा नभइनहुने वस्तु हो । त्यसकारण पनि यसमा अलि उदार नीति अपनाइदिएर र आपूर्ति सहज भएको खण्डमा सुन चोरीनिकासीबाट आउन पाउँदैन । बजार राम्रो हुन्छ ।

सरकारले त सुन व्यवसायीहरूले राजस्व वा आयकर नै नतिरेको आरोप लगाइरहेको छ नि ?

जसले तिरेको छैन, उसलाई कारबाही गरे भइहाल्यो ।

नेपालबाट भारत सुन तस्करी हुनुको कारण के हो ?

भारतमा पनि कानुनी रूपले सुन आयात गर्न निकै गाह्रो छ र भन्सार रकम बढाइएको छ । भारतमा सुनको बजार ठूलो छ । त्यसकारण सरकारले आयात गरेको सुनले नपुगेर नेपालबाट चोरीको बाटोबाट जाने गरेको हो भन्ने बजारमा सुनिन्छ ।

देशको विकास गर्न के गर्नुपर्दछ ?

स्थिर सरकार हुँदैमा विकास हुन्छ भन्न सकिन्न । संविधान बन्नुपर्दछ विकास हुन पहिले । त्यसपछि स्थानीय निकायको निर्वाचन हुनुपर्दछ । अनि निर्वाचित सरकारले पाँच वर्ष सरकार चलाउने वातावरण बन्नुपर्दछ । नीति पाँच वर्षका लागि बनेपछि लगानीकर्ता बल्ल ढुक्क बन्ने अवस्था आउँछ । अहिले छ महिनाको नीति बनिरहेको छ, जसले गर्दा लगानीकर्ताको सरकारप्रति विश्वास नै छैन ।

तपाई शाहाकारी कि मांशाहारी ?

मांशाहारी ।

ह्विस्की पिउनुहुन्छ ?

पिउँदिन ।

जीवनमा अति खुसी भएको क्षण कहिले थियो ?

एसएलसी पास हुँदा ।

जीवनमा दुःखको क्षण कहिले थियो ?

एकपटक नराम्रोसँग ठगिएँ त्यो बेला दुःख लाग्यो ।

तपाईको आमाबुबाले छोरालाई के बनाउने सपना देख्नुभएको थियो ?

व्यापारी बनाउने सपना थियो । त्यो पूरा भयो ।

परिवारमा कतिजना हुनुहुन्छ ?

आमा, श्रीमती, म र दुई छोराछोरी गरी पाँचजना ।

विश्वका कति देशमा पुग्नुभएको छ ?

२० वटा देशमा ।

सबभन्दा मन परेको देश ?

अमेरिका ।

मन पर्ने नेता ?

अहिले नेपालमा नेता नै छैनन् । तर, बीपीलाई मान्छु ।

तपाई देउता मान्नुहुन्छ ?

मान्छु ।

देश बनाउन के गर्नुपर्ला ?

देशमा प्रजातान्त्रिक तानाशाह जन्मिनुपर्दछ ।

अन्त्यमा …

बजारमा विभिन्न माध्यमबाट सामसुङ मोबाइल आइरहेको छ तर हामीले बिक्री गर्ने मोबाइलमा कम्पनीको आधिकारिक होलोग्राम टाँस गरेर बिक्री गरिरहेका छौं । बढी मूल्य परे पनि मोबाइल फोन गुणस्तरयुक्त छन् । होलोग्राम हेरेर किन्नु होला ।

प्रतिक्रिया
सम्बन्धित