आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

थाइल्यान्डमा विपक्षी आन्दोलन झन चर्कंदै, राष्ट्रिय टेलिभिजन कब्जाको घोषणा

दैनिक नेपाल २०७१ वैशाख २६ गते १५:४२

thailand-protest

बैंकक । थाई प्रधानमन्त्री यिङलक सिनावात्रा पदमुक्त भएपछि थाइल्यान्डमा सरकार विरोधी आन्दोलन झन चर्किने भएको छ ।

थाइल्यान्डमा विगत झन्डै वर्षदिनदेखि आन्दोलन गर्दै आएका विपक्षीहरुले शुक्रबार निर्णायक आन्दोलनको संज्ञा दिएर नयाँ विरोध प्रदर्शनको सुरुवात गरेका बताइएको छ ।

शुक्रबार बिहानैदेखि दशौँ हजारको सङ्ख्यामा सडकमा ओर्लिएका प्रदशनकारीहरुले राजनधानी बैंककमा रहेको राष्ट्रिय टेलिभिजन प्रशारण पनि कब्जा गरिने घोषणा गरेका छन् ।

उनीहरुले टेलिभिजनलाई नियन्त्रणमा लिई आफ्ना कार्यक्रम घोषणा गर्ने धम्की शुक्रबार बिहान दिएका छन् । साथै उनीहरुले थाइल्यान्डको राजधानी बैंककमा रहेका प्रहरीचौकी पनि घेराउ गर्ने जनाएका छन् ।

थाइल्यान्डका प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदमुक्त गरिएको तेस्रो दिन शुक्रबार थाइल्यान्डको राजनीतिक सङ्कट झन गहिरिने सङ्केत मिलेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । साथै अब त्यहाँ के हुन्छ भन्ने बारेमा पनि चर्चा सुरु भएको छ ।

विपक्षीहरुले वर्तमान सरकारलाई पूर्णरुपमा बर्खास्त गरी अर्काे सरकार निर्माणको फैसला अदालतबाट हुन नसकेको भन्दै आन्दोलन झनै चर्काउने बताएका हुन् ।

प्रधानमन्त्री सिनावात्रालाई थाइल्यान्डको अदालतले बुधबार पदीय दुरूपयोग गरेको आरोपमा पदबाट हट्न आदेश दिएको हो । उहासँगै अरु नौ जना मन्त्री पनि पदमुक्त भएको फैसला अदालतले सुनाएको थियो ।

सो फैसलापछि अबको प्रधानमन्त्री को बन्ने अथवा अबको सरकार निर्माणको अधिकार देशको कुन पक्ष वा दलमा रहने भन्ने बारेमा संवैधानिक सङ्कट आएकोले वर्तमान सबैजना मन्त्रीलाई बर्खास्त गरी अर्काे सरकार निर्माणको अधिकार विपक्षीहरुलाई दिइनुपर्ने उनीहरुको माग छ ।

प्रधानमन्त्री सिनावात्रालाई पदबाट हट्न अदालतले दिएको यो आदेशको घटनाले त्यहाँ विकसित राजनीतिक परिस्थितलाई थप तरल बनाइदिएको विश्लेषकहरूको भनाई छ ।

उहाँ प्रधानमन्त्री भएको समयमा सन् २०११ मा भएको एकजना वरिष्ठ सुरक्षा अधिकारीको सरुवाको विषयलाई लिएर उहाँका विरुद्ध यो फैसला आएको हो ।

विपक्षीहरुले शुक्रबार बैंककमा आन्दोलनमार्फत सडकबाट नै अर्काे सरकार गठन गरिने जानकारी दिएका छन् । उनीहरुले थाइल्यान्डमा समानान्तर सरकार गठन गर्ने चेतावानी दिएका छन् ।

त्यसका लागि उनीहरुले विगतदेखि सरकार विरोधी आन्दोलनको नेतृत्व गर्दैआएको विपक्षीहरुको गठबन्धनका नेतालाई अघि सारेका छन् ।

विपक्षी आन्दोलनकारी गठबन्धनका नेता सुथेप थाग्नुबानले भने– हामीले अब जनताको सत्ता प्राप्तिको नजिक आइपुगेका छौँ र सत्ताको घोषणा हामीले आफै गर्नेछौँ ।

शुक्रबारको जुलुशले सरकारी कार्यालयहरु कब्जा गर्ने योजना बनाएका छन् । उनीहरुले बैंककका सरकारी कार्यालयमाथि विगत महिनाहरुदेखि नै धावाबोल्दै आएका छन् ।

अबको प्रधानमन्त्री को बन्ने र नियुक्त कसले गर्ने भन्ने बारेमा बिहीबारका सञ्चारमाध्यमहरूमा चर्चा गरिएको भोलिपल्ट आज विपक्षीहरुको आन्दोलन झनै चर्किएको जनाइएको छ ।

त्यसैगरी के अब थाइल्यान्डमा सैनिक शासन सुरु हुन्छ भन्ने बारेमा पनि अर्काे प्रश्न उब्जिएको ती समाचारहरूमा चर्चा गरिएको छ । थाइल्यान्डमा समय समयमा सैनिक शासन हुने गरेकोले यस तर्कलाई पनि नकार्न सकिँदैन ।

गत फेब्रुअरी महिनामा भएको थाइल्यान्डको आमनिर्वाचन विपक्षीहरूले बहिस्कार गरेका थिए । हाल उनीहरू संसदमा छैनन् र थाइल्यान्डको संसद लगभग विपक्षीबिहीन बनेको छ ।

अब अर्काे आमनिर्वाचन गर्नेे बारेमा पनि तर्क अघि सारिएको छ । तर यही सरकारको नेतृत्वमा पिपक्षीहरु सरकार नजाने भएकोले निर्वाचित सरकार गठन गरी नयाँ निर्वाचनमा जान पनि सकिने कतिपयको विश्लेषण छ । रासस / एएफपी

प्रतिक्रिया
सम्बन्धित