आबुधाबी । नेपाली ट्याक्सी चालकहरुको सँस्था प्रवासी नेपाली चालक सेवा समाजले आबुधाबीमा एक बिशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
ट्याक्सी चालकहरुको समस्या समाधान र आवस्यकतानुसार सहयोगका निमित्त स्थापित समाजले यहि २३ मईका दिन आबुधाबीको केरला सोसियल सेन्टरमा कार्यक्रम गर्न लागेको हो । बुद्ध जयन्तिको अवसर पारी आयोजना गर्न लागिएको समाजको यो नै पहिलो कार्यक्रम हो । यूएईमा रहेका नेपाली संघ सँस्था र समाजसेवीहरु बीच परिचित हुदै आवस्यक समन्वयका लागि उक्त कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने समाजका अध्यक्ष अनमोल तामांगले बताए ।
कार्यक्रममा चर्चित गायक प्रकाश पौडेल तथा सुमन सिङदान तामांग, चुमान काउछा मगर, रेखा घिमिरे, प्रेम लुहागुन, किशोर सुनार लगायत डेढ दर्जन कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । गीत, नृत्य र कमेडी मार्फत दर्शकहरुलाई अधिकतम मनोरंजन दिलाइने आयोजकको दावी रहेको छ | उक्त कार्यक्रम मार्फत गायक सुमन सिङदानको दोश्रो गीति एल्वम समर्पणको बिमोचन समेत गरिने भएको छ । कार्यक्रमको टिकट खरिद गरि सहभागी हुने प्रत्येक दर्शकलाई सिङदानको उक्त नयाँ एल्वम १ प्रति सित्तैमा उपलब्ध गराइने आयोजक समितिका अध्यक्ष तामांगले जानकारी दिएका छन् ।
आबुधाबीका बिभिन्न ६ वटा ट्याक्सी कम्पनीमा कार्यरत झन्डै १३०० नेपाली ट्याक्सी चालकहरु साधारण सदस्य रहने यस समाजमा अहिले ३०० जनाले नियमित मासिक बचत गरिरहेका छन् भने ६०० जना सक्रिय सदस्य रहेका छन् । स्थापना कालको छोटो अवधिमै समाजले बिभिन्न समस्यामा परेका ८ जना ट्याक्सी चालकलाई आर्थिक सहयोग उपलब्ध गराइसकेको छ । त्यसैगरी यूएईमा बिभिन्न कारणले पिडित हुन पुगेका नेपालीहरुलाई समेत समाजले सहयोग पुर्याउदै आएको छ ।
आफ्नै संस्थाको कार्यक्रम भएकाले अधिकतम रुपमा ट्याक्सी चालकहरु सहभागी हुने जनाउदै आयोजकले यूएईवासी सबै नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् । कार्यक्रम साँझ ५ बजेबाट शुरु हुने जनाइएको छ ।












प्रतिक्रिया