काठमाडौं । आमा बन्न सुरक्षित देशको सूचीमा नेपाल यस वर्ष पाँच स्थान उक्लन सफल भएको छ। लन्डनस्थित ‘सेभ द चिल्ड्रेन इन्टरनेसनलु ले मंगलबार सार्वजनिक गरेको ‘विश्वका आमाहरूको अवस्था’ प्रतिवेदनअनुसार संसारका १ सय ७८ देशमध्ये नेपाल १ सय १६ औं स्थानमा पुगेको हो।
यसअघि सन् २०००, २००२ र २००५ मा नेपाल आमा बन्न सबैभन्दा कठिन १० देशभित्र थियो। दक्षिण एसियामा ८९ स्थानमा सूचीकृत भएर श्रीलंका यस क्षेत्रकै राम्रो देशमा गनिएको छ। विश्वमा हरेक दिन ८ सय आमा र १८ हजार शिशुको मृत्यु हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
सेभ द चिल्ड्रेनले आमा र उनीहरूका बच्चाको ज्यान जोगाउन र जीवनमा सुधार ल्याउन ती देशले गरेका पहलका आधारमा तुलनात्मक प्रतिवेदन सार्वजनिक गर्छ। प्रतिवेदनको यो १५ औं संस्करण हो। संस्थाले विश्वका १ सय ७८ देशमा मातृ तथा शिशु मृत्युदर, शिक्षा, महिलाको आयदर र राजनीतिक अवस्थाबारे तुलनात्मक अध्ययन गरेको थियो।
परिवार स्वास्थ्य महाशाखा, सुरक्षित मातृत्व शाखा प्रमुख डा. शिलु अर्यालले मातृ स्वास्थ्यमा लक्षित विभिन्न कार्यक्रमपछि नेपाललाई यो सफलता मिलेको बताइन्। ‘महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, दक्ष प्रसूतिकर्मीबाट गराउने प्रसूति प्रवर्द्धनात्मक कार्यक्रम, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवा विस्तारले यो अवस्थामा सुधार ल्याएको हो,’ डा. अर्यालले भनिन्।
आठ सहस्राब्दी विकास लक्ष्यअन्तर्गत १९९० देखि २०१५ बीच मातृ मृत्युदर दुईतिहाइ घटाउने नेपालको लक्ष्य छ। सन् २०१५ सम्म नेपालले आफ्नो स्थान १ सय ३४ मा झार्नुपर्छ। नेपालमा २०५३ मा प्रति एकलाख जीवित जन्ममा मातृमृत्युदर ५ सय ३९ थियो। संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्यांकअनुसार अहिले यो दर प्रतिलाख जीवित जन्ममा १ सय ७० मा झरेको छ।
फिनल्यान्ड लगातार दोस्रोपटक आमा बन्न सबैभन्दा राम्रो र सोमालिया सबैभन्दा असुरक्षित ठाउँमा परेको छ। प्रतिवेदनअनुसार त्यसपछि नर्वे, स्विडेन, आइसल्यान्ड र नेदरल्याण्ड राम्रोमा छन्। गैरयुरोपेली देशमा अस्ट्रेलिया नवौं, न्युजिल्यान्ड १७ औं, अमेरिका ३१ औं र चीन ६१ औं स्थानमा छन्। नागरिक दैनिकबाट











प्रतिक्रिया