२८ आश्विन २०८३, बुधबार

वृद्धाश्रमलाई दक्षिण कोरियाका गुल्मेलीको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa

गुल्मी । गुल्मीमा सबैभन्दा धेरै वृद्धवृद्धाले आश्रय लिएको गुल्मीको रुद्रवेणी आश्रमका वृद्धवृद्धालाई दक्षिण कोरियामा बस्ने गुल्मेलीले पाँच लाख सहयोग गरेका छन् ।

आश्रममा बस्ने वृद्धवृद्धालाई बसोबासका लागि निकै समस्या परेको जानकारी पाएपछि नेपाली जनसम्पर्क मञ्च कोरियाले रेसुङ्गा सांस्कृतिक कार्यक्रम गरेर सङ्कलन गरेको रकम वृद्धाश्रमलाई सहयोग गरेका हुन् ।

गुल्मीको अस्लेवा–६ रुद्रवेणीस्थित कालीगण्डकी किनारमा रहेको राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा स्थायी र अस्थायी रूपमा ७० भन्दा बढी वृद्धवृद्धाले आश्रय लिने गरेका छन् । पुरानो जीर्ण भवन, नियमित आम्दानीको स्रोत अभाव र आश्रम व्यवस्थापन समितिको अनियमितताका कारण वृद्धवृद्धाले कष्टकर जीवन बिताउन बाध्य छन् ।

समस्याबारे जानकारी पाएपछि आफूहरूले सांस्कृतिक कार्यक्रम आयोजना गरी १० लाख संकलन गरेको तीमध्ये पाँच लाख तत्काल प्रदान गरी बाँकी केही समयपछि हस्तान्तरण गर्ने गुल्मीको हुँगा पुख्र्यौली घर भई दक्षिण कोरियामा काम गर्ने मञ्चका अध्यक्ष शंकर रानाले बताउनुभयो ।
“आश्रममा झन्डै ४० लाख लागतमा सातकोठे भवन निर्माण हुन लागे पनि रकम अभावका कारण अलपत्र परेको थाहा पाएपछि हामीले सांस्कृतिक कार्यक्रम गरेर सहयोग जुटाएका हाँै”– रानाले भन्नुभयो ।

नियमित रूपमा ५० देखि ६० र सिजनको बेला १०० सम्म वृद्धवृद्धा बस्ने गरेको आश्रमका प्रमुख वानप्रस्ती वासुदेव शर्माले बताउनुभयो । ७० रोपनी जमिनमा फैलिएको आश्रममा मन्दिर तथा आश्रम भवनहरू रहेका छन् । गत वर्ष आश्रमका भवनहरू रहेको माथिबाट पहिरो खसेपछि बसोबासको समेत समस्या छ । वृद्धाश्रममा दाताहरूले सहयोग गरेको खाद्यान्न तथा जिन्सी र नगदसमेत आश्रम व्यवस्थापन समितिले हिनामिना गर्ने, आफ्नो पसलमा राखेर बेच्ने, साटेर कमसल वस्तु दिने गरेका कारण पनि वृद्धवृद्धा निकै समस्यामा छन् ।