२८ आश्विन २०८३, बुधबार

विवादबीच एमाओवादी सम्मेलन सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadiविराटनगर । एमाओवादीको राष्ट्रिय सम्मेलन विवादबीच सकिएको छ । नयाँ केन्द्रीय समिति गठनका विषयमा संस्थापन र नेता बाबुराम भट्टराई पक्षबीच कुरा नमिलेपछि विवाद थाती राख्दै सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाललाई पुनः चयन गरे पनि अन्य पदाधिकारी छान्न सकेन । नेता नारायणकाजी श्रेष्ठको प्रस्ताव र पोस्टबहादुर बोगटीले समर्थन गरेपछि दाहाल अध्यक्षमा चुनिएका हुन् । बोगटीले दाहाल अध्यक्षमा निर्वाचित भएको हलमा सुनाएपछि प्रतिनिधिहरूले लामो ताली बजाएका थिए ।

केन्द्रीय समिति गठनप्रति असन्तुष्ट नेता भट्टराई भने त्यसअगावै सम्मेलनबाट बाहिरिएर काठमाडौं फर्केका थिए । यो सम्मेलनबाट संस्थापन र भट्टराई पक्षबीच दूरी झन् बढेको छ ।

नवनिर्वाचित केन्द्रीय समिति बैठकले दाहाल, श्रेष्ठ र बोगटी रहेको केन्द्रीय कार्यालय गठन गरेको छ । सम्मेलनले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षचाहिूचयन गर्न सकेन । ‘यहा उपाध्यक्ष, महासचिव, सचिवलगायत स्थायी, पोलिटब्युरो सहजै चयन गर्न सक्थ्यौं,’ अध्यक्ष दाहालले सम्मेलनको समापनमा भने, ‘अधैर्य नभइकन, पर्याप्त गृहकार्य गरेर केन्द्रमा बस्न इन्कार गर्ने साथीहरूसूग छलफल गरेर बनाउने छौं ।’

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र महासचिव पोस्टबहादुर बोगटी हुनेमा विवाद नभए पनि सचिवका लागि भने संस्थापन पक्षका नेताहरूबीच प्रतिस्पर्धा छ ।

पार्टी पुनर्निर्माणको मुख्य नारासहित गरिएको सम्मेलन भट्टराई पक्षको सहभागिताबिना सकिएको हो । केन्द्रीय समिति ९९ जनाको बनाउने भनाइसमेत नेतृत्वले लागू गर्न सकेन । सम्मेलनले विधान संशोधन गरी १ सय ५१ सदस्यीय बनाउने निर्णय लिएको छ । हाललाई चाहि ९९ जनाको केन्द्रीय समिति बनाइएको छ ।

भट्टराईले सम्मेलन सकिने बेला फरक विचार राख्नेलाई अन्याय गरिएको र उचित जिम्मेवारी नदिइएको गुनासो गरेका थिए । ‘फरक विचारलाई निषेध गर्ने परम्परा हाम्रो पार्टीमा बस्यो,’ उनले भने, ‘यसले पार्टी पुनर्निर्माण गर्न सक्दैन ।’

हलमा बोल्ने बेला भट्टराई कहिले आक्रोशित र कहिले भावुक बनेका थिए । उनले बोलेलगत्तै नेता टोपबहादुर रायमाझीले पनि आफू केन्द्रमा नरहेर काम गर्ने जनाएका थिए । केन्द्रीय सदस्य चयन भएर पनि नबस्ने घोषणा गरेकाहरूमा भट्टराई, रायमाझीका साथै नवराज सुवेदी, हिसिला यमी, देवेन्द्र पौडेल, प्रभु साह, गंगा श्रेष्ठ, कुमार पौडेल, देवी खडा, बलावती शर्मा र हेमराज भण्डारी छन् ।

संस्थापनले भट्टराई पक्षले केन्द्रीय पदाधिकारीमा थप पद र केन्द्रमा थप व्यक्ति नपाएका कारण आपत्ति जनाएको बताएको छ । पार्टी प्रवक्ता दीनानाथ शर्माले भट्टराई र रायमाझी केन्द्रबाट बाहिरिएपछि रिक्त पदमा के गर्ने भन्नेबारे पछि छलफल हुने बताए ।

बन्दसत्रमा केन्द्रमा नबस्ने घोषणा गरेका रायमाझी समापन समारोहको अन्तिम चरणसम्म बसेका थिए । केन्द्रमा बस्न इन्कार गरेका अन्य नेताहरू भने समापन नहूुदै हिूडेका थिए । ‘पार्टी पुनर्निर्माण हुन्छ भन्ने विश्वास गर्न सकिन्छ, ग्यारेन्टी गर्न सकिन्न,’ रायमाझीले कान्तिपुरसूग भने, ‘धेरै साथीहरू बाहिर रहने भएकाले पद नलिने निर्णय गरेका हौं ।’

दाहाल र श्रेष्ठ नजिकिए

संविधानसभा निर्वाचनपछि टाढिएका अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठबीच सम्मेलनपछि दूरी घटेको छ । भट्टराई दाहालसूग टाढिएपछि श्रेष्ठ नजिकिएका हुन् ।

सम्मेलनबाट भट्टराई बाहिरिएपछि श्रेष्ठ दाहालपछिका दोस्रो नेता बनेका छन् । दाहालको राजनीतिक दस्तावेजको आलोचना गरेका श्रेष्ठले नवनिर्वाचित केन्द्रीय समितिलाई चाहिूसमर्थन गरेका थिए । दाहाल पक्ष निर्वाचनबाट केन्द्रीय समिति चयन गर्ने पक्षमा भए पनि श्रेष्ठ सहमतिको प्रयासमा थिए ।

चुनौती सामना गर्न तयार : दाहाल

सम्मेलन समापन गर्दै दाहालले भट्टराईलगायत नेताहरूले केन्द्रीय समितिमा नबसेर दिएको चुनौतीलाई सामना गर्न तयार रहेको बताएका छन् । उनले भट्टराई पक्षका नेताहरू केही दिनमै र्फकने विश्वाससमेत व्यक्त गरे ।

‘केही दिनभित्र फेरि एउटै केन्द्रमा मोर्चाबन्दी गरेर जान्छौं । बाबुरामजीहरू नहुँदा अलिकति अप्ठ्यारो भएको छ,’ उनले भने, ‘हामीले त्यो चुनौतीलाई स्वीकार गरेका छौं । बाटो जतिसुकै कठिन भए पनि चुनौती सामना गर्न तयार छु । अब बाटो खुल्यो ।’

उनले भट्टराई पक्ष विधिसम्मत निर्वाचनमा जान नमानेको दाबीसमेत गरे । ‘मैले प्रस्ताव गर्दा सबै केन्द्रीय समितिमा रहनु हुन्छ भन्ने विश्वास थियो । सकेसम्म सहमति गराउने, सबै रहने वातावरण बनाउन अन्तिम समयसम्म कोसिस गर्‍यौं,’ उनको भनाइ थियो, ‘उहाँहरू (भट्टराई पक्ष) ले असहमति जनाए पनि सबैजना केन्द्रीय समितिमा रहने सहमति भएको थियो । उहाँहरूले निर्वाचनमा नजाऔं, केन्द्रीय समितिमा नबसे पनि पार्टीलाई सघाउँछौं भन्नुभयो ।’

उनले ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको तयारी थाल्ने ठूलो प्रतिज्ञा गरेका बेलामा भट्टराई पक्ष बाहिरिएकाले नमिठो लागेको’ बताए । कान्तिपुर दैनिकबाट