शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

‘मानिस देख्नैहुन्न, गाडीबाट झरिहाल्छन् पूर्वराजा’

दैनिक नेपाल २०७१ वैशाख २३ गते १४:४६

Gyanendra-Shah-Jhapa4

विर्तामोड । नेपालमा राजतन्त्रको अन्त्य भएको आठ वर्षपश्चात सोमबार झापामा एउटा अनौठो दृष्य देखियो । प्रसंग हो पूर्वराजा ज्ञानेन्द्र शाहको साताव्यापी झापा भ्रमणको ।

गत आइतबार नै पूर्वराजा शाह झापा आउने कार्यक्रम रहेता पनि काठमाडौमा भएको वर्षातका कारण उनी सोमबार मात्र आए । आइतबार दिनभर शाहको स्वागत गर्न बसेकाहरुले सोमबार पनि निर्धारित समयभन्दा ३ घण्टा बढी पर्खनुप¥यो । दिउँसो ११ बजे झापा आइपुग्ने भनिएता पनि शाह २:१५ बजे मात्र चन्द्रगढी विमास्थल आइपुगेका थिए ।

शाहको स्वागत गर्नका लागि भिआइपी कक्ष भन्दा अगाडि विद्यालय जाने उमेरका बालिकाहरुको प्रयोग गरिएको थियो । पूर्वराजा शाहका एक निजी सचिवको निर्देशनमा शाहका सुरक्षा अधिकारीहरुले सञ्चारकर्मीहरुमाथि अपमानजनक व्यवहारसमेत गरे । उनीहरुले सञ्चारकर्मीलाई शाहसँग प्रश्न गर्नसमेत दिएनन् । शाहको सुरक्षामा खटिएका एक सुरक्षा अधिकारीले झापाका एक टेलिभिजन पत्रकारलाई छातीमा समातेर धकेलेका थिए । समाचार संकलनका लागि विमानस्थल पुगेका सञ्चारकर्मीहरुसँग निजी सचिवको इसारामा अपमानजनक व्यवहार भएसँगै सञ्चारकर्मीहरु आक्रोसित बनेका थिए । पूर्वराजा शाह योभन्दा पहिले मुलुकमा संकटकाल भएको बेला ०५८ चैत १६ गते चारआली आएका थिए ।

शाहको भ्रमण निजी, सांस्कृतिक र धार्मिक हुने भनिएको थियो । यस बारेमा सञ्चारकर्मीहरुले पटक–पटक जिज्ञासा राख्दासमेत शाहले प्रश्नको बेवास्ता गरेका थिए । पूर्वराजा शाहलाई स्वागत गर्न आएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ’ लगायतका नारा लगाए ।

शाहको स्वागत गर्न ७ सय ४६ सदस्यीय समिति, ५१ सदस्यीय सल्लाहकार समिति, १ सय १ सदस्यीय स्वयम्सेवक परिचालन समिति गठन गरिएता पनि विमानस्थलमा जम्मा भएका सर्वसाधारणले निकै नै सास्ती खेप्नु प¥यो । विमानस्लथमा भेला भएका सर्वसाधारणलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले धकेलेका थिए । विशेषगरी बृद्धबृद्धाहरुको उपस्थिति बढी रहेको स्थानमा व्यवस्थापन राम्रो नहुँदा उनीहरुसमेत आक्रोसित बने ।

विमानबाट आर्लिएर गेटसम्म पुग्न एक घण्टा समय लगाएका शाह त्यसपछि मात्र गाडीमा चढे । गरामनीस्थित दुर्गा मन्दिरमा पूजा गरी दमकतर्फ लागेका शाहले चोकचोकमा ओर्लिदै सडक अवरुद्ध पारेका थिए । शाह गरामनीपछि बिर्ताबजार र बिर्तामोडको मुक्तिचोकमा समेत गाडीबाट ओर्लिएर केही समय पैदल हिँडे ।

उनी कुनै जानकारी नै बिना ठाउँ–ठाउँमा ओर्लिदा सडक अवरोध भएर सवारी आवागमनमा असहज भएको थियो । शाह यसरी चोक–चोकमा गाडीबाट झर्नुलाई सर्वसाधारणले ‘नाटक’को सज्ञा दिएका छन् । बिर्तामोडको मुक्तिचोकमा एक सर्वसाधारणले भने– ‘मान्छे झुरुप्प भएर बसेको देख्नै हुँदो रहेनछ, अतालिँदै झर्दारहेछन् ।’ उनले थपे – ‘जनता पनि भेडो नै हुन्, हिजोका दिनमा देश छोड् भन्दै नारा लगाउने नै आज ‘‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’’ भन्न पछि परेनन् ।’

पूर्व राजालाई स्वागत गर्न भीआईपी कक्षमा बसेका एक वृद्धले माला लगाइदिन खोज्दा शाहले सोझै अस्वीकार गरे । पत्नी कोमलका साथ झापा आएका पूर्व राजा ज्ञानेन्द्र एक सातासम्म झापा रहने बुझिएको छ ।

Gyanendra-Shah-Jhapa2 Gyanendra-Shah-Jhapa1 Gyanendra-Shah-Jhapa

प्रतिक्रिया
सम्बन्धित