सोमबार, १७ चैत २०७६
DainikNepal.com
सोमबार, १७ चैत २०७६

डेटिङ जाने समय निकाल्न सक्दिन

दैनिक नेपाल २०७१ वैशाख २३ गते १४:११

आशिष्मा नकर्मी अहिले कलिउडकी उदियमान नायिका हुन् । आजभन्दा दुई बर्ष अगाडि ‘सिक्स फिट लाइफ’ बाट आफ्नो कलिउड यात्रा थालनी गरेकी आशिष्मा नकर्मीले त्यसभन्दा अगाडि एक दर्जनभन्दा बढी संख्यामा नेपाल भाषाका चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । उनीद्वारा अभिनित ‘अन्तराल’ र ‘तोरी लाहुरे’ बाट उनको प्रतिभा सबैको सामु आइसकेको छ । कलिउडमा प्रवेश गर्नु अघि उनी अमेरिकामा थिइन् । त्यहाँ हस्पिटालिटी म्यानेजमेन्टमा डिप्लोमा गरेर फर्केपछि उनी अभिनयमा लागिन । अहिले उनी कलिउड कि एक सम्भावना बोकेकी नायिकाको रुपमा लिन थालिएको छ । हाल उनी पत्रकारबाट निर्देशक बनेका सुब्रत आचार्यको ‘अधकट्टी’ शिर्षकको चलचित्रको सुटिङ्गमा व्यस्त छिन् प्रस्तुत छ उनीसँगको जम्काभेट :

ashishma-nakarmi

चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मेरो बुबा मनराजा नकर्मी एक संगीतज्ञ हुनुहुन्छ । कलाकारिता क्षेत्रमा उहाँका धेरै शुभचिन्तकहरू हुनुहुन्छ । उहाँहरूसितको परिचयले नै मलाई यो क्षेत्रमा ल्याई पुर्‍याएको हो ।

सबैभन्दा पहिला कुन चलचित्रमा अभिनय गर्नुभयो ?

त्यो एउटा नेपाल भाषाको चलचित्र थियो ‘न्याल्लब्यांं’ । सबैभन्दा पहिला त्यसमा नायिका भई काम गरें । त्यसपछि करीब एक दर्जन जति नेपाल भाषाका चलचित्रहरूमा अभिनय गरें । अनि पढाईका लागि अमेरिका गएँ ।

अमेरिकामा के पढ्नु भयो ?

होटेल म्यानेजमेण्ट ।

होटेल म्यानेजमेण्ट पढे पनि फिल्म लाईन नै रोज्नुको कारण के हो ?

मलाई पहिल्यैदेखि अभिनयमा रुची थियो त्यसैले ।

पहिलो नेपाली चलचित्र कसरी पाउनु भयो ?

‘सिक्ट फिट लाइफ’ का निर्देशक जगदिश्वर थापा बुबाको साथी हुनुहुन्छ । उहाँलाई त्यो फिल्ममा विदेशबाट नेपाल फर्केकी युवतीको भुमिका गर्ने युवती चाहिएको थियो । जनु उहाँले ममा पाउनु भयो, र मलाई त्यो भूमिका दिनुभयो ।

नेपालको चलचित्र जगत कस्तो लाग्छ ?

राम्रै लाग्छ । त्यसैले त यहाँ काम गरिरहेकी छु । नराम्रो लागेको भए त कामै गर्दिन थिएँ नि ।

तपाई त निक्कै राम्री हुनु हुन्छ, तपाईलाई प्रेम प्रस्ताव राख्नेहरूको त ओइरो लाग्छ होला नि ?

अब यो उमेरमा कसैकसैले प्रस्ताव राख्नु स्वाभाविक हो । तर अहिले मेरो लागि प्रेम भनेको नै काम हो । अभिनय हो । भर्खर भर्खर त मेरो क्यारियर स्टाब्लिश हुँदैछ । यस्तो बेला म लभसभको चक्करमा पर्न चाहँदिन ।

अनि प्रेम प्रस्ताव अस्विकार गर्दा के भन्नु हुन्छ ?

म राम्ररी नै सम्झाउँछु । अहिलेको यो समयमा म प्रेममा परेर, डेटिंगमा रम्नका लागि समय निकाल्न सक्दिंन र त्यस्तो गर्न मिल्दैन पनि । किनभने यो त मेरो काम गर्ने बेला हो । क्यारियर बनाउने बेला हो भनेर सम्झाउने गर्छु ।

त्यस्ता युवकहरूसितको सम्बन्ध पछि पनि कायम रहन्छ कि रहँदैंन ?

कोही कोही त साथीहरू जस्तै सम्बन्ध कायम राख्छन् । कोही कोही राख्दैनन् । झन अहिले फेसबुक ट्वीटर जस्ता इन्फर्मेशन टेक्नोलोजिको युगमा यस्तो खालको सम्बन्ध रहनु स्वाभाविक पनि हो ।

देशको राजनीतिबारे तपाईको ज्ञाने के छ ?

मलाई लाग्छ कि देशको राजनीति अस्थीर छ । तरल अवस्थामा छ । राजनीतिक स्थिरता भइदिएको भए देशको चौतर्फी विकास हुने वातावरण बन्ने छ । अनि नेपालको चलचित्र क्षेत्रको पनि विकास हुनेछ ।

के यो सम्भव छ त ?

छ किन नहुनु । हामीले सकारात्मक सोच राख्नु पर्छ । अब २०७१ माघ ७ गते संविधान जारी गर्ने उद्घोष भइसकेको छ । त्यसपछि त विकासै विकास मात्र हुनेछ । चारैतिर विकास भएको देख्न पाउनेछौं ।

प्रतिक्रिया
सम्बन्धित