बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

नेपालविरुद्ध भ्रामक फिल्म बनाउने अक्षयकुमारको दुस्प्रयास

दैनिक नेपाल २०७१ वैशाख २३ गते १३:४१

Akshaya-Kumar-Nepal3

काठमाडौं । आजभन्दा ४३ वर्षपहिले बनेको हिन्दी फिल्म हरे कृष्ण हरे रामले काठमाडौंलाई गँजेडीको सहरमा रुपमा चित्रण गरेर देशकै बेइज्जत गर्‍यो । अहिले नेपाललाई अपराधीको सहरका रुपमा चित्रण गर्ने गरी अर्को हिन्दी फिल्म बन्दै छ । बलिउड अभिनेता अक्षय कुमार हिरो रहेको बेबी नामक फिल्मको सुटिङ केही दिनयता काठमाडौंमा भइरहेको छ, जसले नेपाल एकदमै असुरक्षित रहेको चित्रण गर्न खोजिएको छ ।

अचम्म के भने नेपालको विमानस्थलमा विदेशी लुटिन्छन् भनेर सो फिल्म देखाउन लागिएको छ र त्यसको अनुमति सरकारले दिएको छ । स्रोतका अनुसार, फिल्ममा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा नै लुटपाट हुन्छ भनेर देखाउन खोजिएको छ । त्यसका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले अनुमति दिइसकेको छ । नागरिक उड्डयन कार्यालयका प्रमुख ऋषिराम शर्माले फिल्मको सुटिङका लागि एयरपोर्टमा अनुमति दिएको स्वीकारे । ‘एयरपोर्ट बाहिरी भागमा सुटिङका लागि अनुमति दिएका हौं,’ उनले भने, ‘कुन कथालाई लिएर सुटिङ गर्न लागेकोचाहिँ थाहा भएन ।’ देव आनन्दको फिल्म हरे राम हरे कृष्णले काठमाडौं गजेडीहरूको सहरका रुपमा चित्रण गर्दा देशकै अन्तर्राष्ट्रिय स्तरमा छवि बिग्रिएको थियो । भारतको सहरभन्दा धेरै गुणा सुरक्षित रहेको काठमाडौंलाई हिन्दी फिल्मले असुरक्षित सहरका रुपमा देखाएर फेरि पनि नेपालको गलत प्रचार गर्न लागेको छ । यसमा सरकारी अधिकारीहरूले समेत साथ दिएका छन् ।

Akshaya-Kumar-Nepal2

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको नराम्रो छ भनी सिनेमामा देखाउन लागिएपछि  विमानस्थलमा सिनेमाको छायांकनमा भने रोक लगाइएको छ । पछिल्ला दिनहरुमा प्रक्रिया पुरर्‍याएर आएमा सोच्न सकिने तर तत्कालका लागि त्यहाँ शुटिङ गर्न नदिने निर्णय भएको विमानस्थल प्रशासनले जनाएको छ ।

गलत सन्देश फैलाउने गरी विमानस्थलमा फिल्म सुटिङ गर्न दिन नहुने विमानस्थल प्रहरी प्रमुख डिआईजी यादव अधिकारीको भनाइ छ । पर्यटन क्षेत्रलाई समेत यसले नराम्रो धक्का दिने धेरैको भनाइ छ । तीन दिनअघि फिल्म सुटिङमा काठमाडौं आएको बलिउडको टोली बौद्धस्थित हायत होटलमा बसेको छ । अभिनेता अक्षय कुमारले आफ्नो पीएसओ (निजी सुरक्षा अधिकृत) लिएर आएका छन् । बाहिरी घेराको सुरक्षाका लागि बौद्ध वृत्तबाट नेपाल प्रहरीको टोली खटिएको छ । आइतबार होटलमै फिल्मको सुटिङ भएको थियो भने सोमबार दिनभर ठमेल जाम गराइएर सुटिङ गरियो ।

भारतीय मिडियाले मात्र होइन, बलिउडका फिल्महरूले समेत बेलाबेला नेपालबारे गलत सन्देश फैलाउने गरेका छन् । दुई वर्षअघि बनेको फिल्म चाँदनी चोक टु चाइनाले बुद्ध भारतमा जन्मिएको भनेर गलत प्रचार गर्दा सो फिल्म नेपालमा प्रसारण नै बन्द गरिएको थियो । भारतीय नायक ऋतिक रोशनले नेपालीलाई हेप्दा देशमा साम्प्रदायिक दंगा नै हुन पुगेको थियो । यसपटक पनि बलिउडको फिल्मको सुटिङलाई लिएर विवाद सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित