काठमाडौं । एकीकृत नेकपा माओवादीको जारी राष्ट्रिय सम्मेलनले निर्वाचन प्रक्रियामार्फत नयाँ केन्द्रीय समिति चयन गर्ने तयारी थालेको छ।
धर्मशिला चापागाईं नेतृत्वको निर्वाचन समितिले साँझ अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेर नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुने जानकारी दिएको हो। माओवादीको इतिहासमा पहिलोपटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुन लागेको हो।
नेताहरुले सहमतिको आधारमा केन्द्रीय सदस्य चयन हुने बताइरहेका बेला निर्वाचन समितिले भने आइतबार नै निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।
‘आइतबार बिहान ८ बजे मतदाताको नाम सार्वजनिक गर्नेछौं, १२ बजेसम्म त्यसमा दाबी–विरोध र अपराह्न एक बजे अन्तिम नामावली सार्वजनिक गर्नेछौं,ु समिति अध्यक्ष चापागाईंले भनिन्, ‘बन्दसत्र समापन हुनेबित्तिकै उम्मेदवारी फारम वितरण सुरु हुनेछ।’
अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन तथा अर्का नेता लीलामणि पोखरेलेले पेस गरेको संशोधित विधान अनुमोदन हुनेबित्तिकै उम्मेदवारी दर्ता सुरु हुनेछ।
‘९९ सदस्यीय केन्द्रीय समितिमध्ये ७५ सदस्यका लागि निर्वाचन हुनेछ भने बाँकी २५ प्रतिशत पछि मनोनयन हुनेछ,’ चापागाईंले भनिन्, ‘चुनिएका केन्द्रीय सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ।’
विधानतः चुनिएका केन्द्रीय सदस्यले अध्यक्ष, उपाध्यक्ष, महासचिव, आवश्यकताअनुसार सचिव र कोषाध्यक्षसहित पदाधिकारी चयन गर्नेछन्। यसअघि दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको भए पनि यसपटक विधानले एउटै उपाध्यक्षको परिकल्पना गरेको छ।
जुँगा काटेर ढुंगेल सम्मेलनमा
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाइएका एमाओवादी नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेल सम्मेलनमा सहभागी भएका छन्।
वास्तविक नाम बालकृष्ण ढुंगेल भए पनि ‘पवन शर्माु को प्रतिनिधि पास लगाएर सम्मेलनमा सहभागी हुन आएका ढुंगेलले जुँगा काटेका छन्। क्याप लगाएर ‘नचिन्ने अवस्थामाु देखा परे पनि पहिचान गरी तस्बिर लिन खोज्दा ढुंगेलले पत्रकार खिलानाथ ढकाललाई दुर्व्यवहार पनि गरे।
‘मेरो फोटो कसको अनुमतिमा खिचिस् भने, मैले तपाइँ सार्वजनिक मान्छे हो, त्यसैले खिचेको हुँ भन्दा उनले मेरो क्यामेरा नै खोसेर लगे,’ पत्रकार ढकालले भने। खोसेको आधा घन्टापछि सहयोगीमार्फत ढुंगेलले क्यामेरा फिर्ता दिएका थिए।
अमिक र स्वनाम आएनन्
अनुशासन समितिका संयोजक अमिक शेरचन तथा पूर्व स्कुलिङ विभाग प्रमुख शशी शेरचन विराटनगर सम्मेलनमा अनुपस्थित भएका छन्।
‘ब्रोङक्राइटिसु तथा निमोनियाले महिना दिनदेखि थला परेका कारण शेरचन सम्मेलनमा नआएका हुन्। उनी घरैमा आराम गरिरहेका छन्। बिरामी परेका कारण अनुपस्थित हुनु परेको शेरचनले अध्यक्ष दाहाललाई एसएमएसबाट जानकारी गराएको दाहालनिकट एक नेताले बताए।
‘बोल्ने अवस्थामा समेत नरहेकाले उहाँले एसएमएस गरेर विराटनगरबाट क्रान्तिकारी कार्यदिशा निर्माण गर्न अध्यक्षज्यूलाई शुभकामना पठाउनुभएको छ,’ स्रोतले भन्यो। नागरिक दैनिकबाट











प्रतिक्रिया