काठमाडौं । एमालेले आन्तरिक तयारी नपुगेको भन्दै नवौं महाधिवेशनको मिति फेरि सार्ने भएको छ।
पार्टीका नेताहरुबीच आन्तरिक तयारी नपुगेको भन्दै महाधिवेशन एक महिना सारेर असार अन्तिम साता तोक्ने गृहकार्य भइरहेको छ। यसअघि एमालेले तीनपटक मिति परिवर्तन गरिसकेको छ। सुरुमा नवौं महाधिवेशन वैशाख ९–१३ तोकिएको थियो। पछि जेठ ३–९ गते हुँदै जेठ २४–३० गते सारिएको थियो। नवौं महाधिवेशनका लागि मिति तोकिए पनि एकपछि अर्को गर्दै सारिँदै आएको छ।
अब फेरि पनि महाधिवेशन सार्ने घोषणा गरिए चौथोपटक हुनेछ। बिहीबार स्थायी कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले महाधिवेशन एक महिना पछि सार्नुपर्ने प्रस्ताव गरेपछि नयाँ मिति तोक्ने गृहकार्य सुरु भएको हो। सोमबारको केन्द्रीय कमिटी बैठकमा यस सम्बन्धी ठोस प्रस्ताव आउन लागेको उनीनिकट नेताहरूले बताएका छन्। ‘अहिलेको अवस्थामा कोही पनि ढुक्क छैनन्।
त्यसैले तत्काल महाधिवेशन गराएर जाने पक्षमा छैनन्,’ एक केन्द्रीय नेताले भने, ‘पब्लिक कन्जम्सनका लागि निर्धारित समयमै महाधिवेशन हुनुपर्छ भन्नेबाहेक कसैले पनि गम्भीर रुपमा यो विषयलाई पार्टीभित्र लगेका छैनन्’ ती नेताका अनुसार अहिलेको अवस्थामा कुनै पक्षले पनि समयमै महाधिवेशन गर्नका लागि आन्तरिक रुपमा दबाब दिएका छैनन्।
राजनीतिक र संगठनात्मक प्रतिवेदन लेखनको ढिलाइ, संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था, सदस्यता प्रमाणीकरमा हुँदै आएको ढिलाइलाई प्रमुख कारक देखाइएको छ। अध्यक्ष खनालले राजनीतिक प्रतिवेदनका मतान्तर रहेका प्रमुख विषयमा सहमति जुटिसक्दा पनि महासचिव पोखरेलको सांगठनिक प्रतिवेदन तयार भएको छैन। नागरिक दैनिकबाट











प्रतिक्रिया