२८ आश्विन २०८३, बुधबार

एसएलसी जाँच्दै प्रावि शिक्षक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teachersदाङ । एसएलसी उत्तरपुस्तिका जाँच्न कम्तीमा मावि तहको शिक्षक हुनुपर्ने नियम उल्लंघन गर्दै यहाँ तल्लो तहका शिक्षकले पनि जाँचिरहेका छन्। परीक्षा नियन्त्रण कार्यालयले पुस्तिका परीक्षणसम्बन्धी निर्देशिकामा उल्लेख गरेका सामान्य प्रक्रियासमेत जिल्ला शिक्षा कार्यालयले पालना गराएको छैन। निमावि तथा प्रावि तहका शिक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्न दिनुलाई त्रुटि भन्न नमिल्ने जिशिका बताउँछ।

दरबन्दी तह जुनसुकै भए पनि मावि कक्षा पढाएका शिक्षकलाई सहभागी गराइएको तर्क उसको छ। पनिकाले एसएलसीको कापी जाँच्न कम्तीमा मावि तहकै शिक्षक हुनुपर्ने व्यवस्था तोकेको छ।
उत्तरपुस्तिका जिम्मा लगाउनुअघि शिक्षकलाई परीक्षणबारे सामान्य ज्ञानसमेत दिइएको छैन। पनिकाले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षणसम्बन्धी ज्ञान अनिवार्य दिनुपर्ने व्यवस्था गरेको छ। निर्देशिकाले जाँचकी शिक्षकलाई परीक्षणक्रममा हुन सक्ने त्रुटि, पारदर्शितालगायत विषयमा पाँच दिनसम्म तालिम र प्रयोगात्मक अभ्यास गराउनुपर्ने प्रावधान तोकेको छ।

‘मैले कपी जाँच्न थालेको चार वर्ष भइसक्यो, अहिलेसम्म एकपटक पनि जिशिकाले उत्तरपुस्तिका परीक्षणबारे पूर्वजानकारी गराएको छैन,’ परीक्षणमा सहभागी मावि तेघराका शिक्षक अमरक्षितिज भण्डारीले भने। उनले एसएलसी उत्तरपुस्तिका परीक्षणमा सहभागी आफ्नो विद्यालयका ५ शिक्षक कसैले पनि तालिम नलिएको बताए। जानकारीबिनै परीक्षणमा बस्नुपर्दा शिक्षकलाई पनि अन्योल छ।
जिल्ला शिक्षा कार्यालय भने शिक्षकले परीक्षण गरेको कापी पुनःपरीक्षणका लागि समपरीक्षक तोकिएकाले खासै असर नपर्ने बताउँछ।
‘शिक्षकहरूले गरेको कमजोरी सच्याउन समपरीक्षक सरहरू हुनुहुन्छ, त्यसैले फरक पर्दैन,’ जिशिकाका परीक्षा शाखा अधिकृत शेरबहादुर विष्टले भने, ‘नत्र केही असहज हुन सक्थ्यो।’ शिक्षकहरूले तालिम नपाएको बताए पनि जिल्ला शिक्षा कार्यालय भने परीक्षणमा सहभागी सबै शिक्षक तालिमप्राप्त रहेको दाबी गर्छ। नागरिक दैनिकबाट