कञ्चनपुर, १९ वैशाख । जिल्लाका स्वास्थ्य चौकी र अस्पतालमा बिरामीलाई निःशुल्क वितरण हुने औषधिको गुणस्तर प्रभावकारी नहुने गरेको पाइएको छ ।
औषधिको गुणस्तर कमसल हुने गरेका कारण बिरामीमा छिटो औषधिले असर नगर्दा अधिकांश बिरामी उपचारका लागि निजी मेडिकलमा पुग्ने गरेका छन् ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले ठेक्का सस्तोमा सदर हुँदा सोहीअनुरुप ठेकेदारले न्यून गुणस्तरको
औषधिको आपूर्ति गर्ने गरेको बताए । ‘गुणस्तरयुक्त औषधिका लागि सोहीअनुसारको ठेक्काको दर रेट निर्धारण हुनुपर्छ,’ उनले भने ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आवका लागि २४ लाखको निःशुल्क औषधिका लागि रकम परिचालन गरेको छ । जिल्ला विकास समितिले १५ लाख बराबरको औषधि जनस्वास्थ्य कार्यालयलाई उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट समेत औषधि उपलब्ध हुने गरेको अधिकृत महतको भनाइ छ ।
स्वास्थ्य चौकीलाई ३४ र प्राथमिक स्वास्थ्य केन्द्रलाई ४० प्रकारको निःशुल्क औषधि वितरणका लागि उपलब्ध गराइने गरिएको छ । स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने औषधिको सङ्ख्या कम भएका कारण समेत बिरामीहरूले निजी मेडिकलबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेकाले आर्थिक नियमावलीमा संसोधन हुनु जरुरी रहेको अधिकृत महतको भनाइ छ ।











प्रतिक्रिया