बिहीबार, २ साउन २०७६
DainikNepal.com
बिहीबार, २ साउन २०७६

एमाओवादीमा गुटगत विवाद

दैनिक नेपाल २०७१ वैशाख १९ गते ७:३७

maoist_buildingकाठमाडौं, १९ वैशाख । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षबीचको नेतृत्व विवादले पाँच जिल्लामा समानन्तर समिति गठन भएका छन्।
दुई पक्षबीचको विवादकै कारण गठन भएका समानन्तर समितिले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि पनि आ–आफ्नै ढंगले चयन गरेका छन् । जिल्ला सम्मेलनमा देखिएको यो विवाद विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलनमा पनि प्रतिबिम्वित हुने भएको छ ।

बैतडीमा केन्द्रीय सदस्य तथा पूर्व सभासद रेणु चन्द र पूर्व सभासद नरेन्द्र कुवँरले छुट्टाछुट्टै जिल्ला समिति घोषणा गरी राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरेका छन् । पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले उम्मेदवारी दिएको रुपन्देहीमा पनि दुईवटा जिल्ला समिति गठन भएका छन् । त्यहाँ केन्द्रीय सदस्य वामदेव क्षेत्री र उमेश खनालको नेतृत्वमा दुईवटा समिति गठन भएका हुन् ।

भोजपुरा राज्य समितिअन्तर्गत तीनै जिल्ला बारा, पर्सा र रौतहटमा समानान्तर समिति गठन भएको छ । रौतहटमा बिन्देश्वर यादव र धीरज पट्टेलको नेतृत्वमा, बारामा जयराम दाहाल र रञ्जित पट्टेलको नेतृत्वमा तथा पर्सामा जालिम मियाँ र क्षेत्रबहादुर श्रेष्ठको नेतृत्वमा छुट्टाछुट्टै जिल्ला समिति गठन गरिएको हो ।

भक्तपुर, दोलखा, रसुवा, नवलपरासीलगायतका कतिपय जिल्लामा भने समिति नै गठन हुन सकेको छैन । एमाले परित्याग गरी एमाओवादीमा आएका नेता रामचन्द्र झा र उर्मिला अर्यालले नेतृत्व गरेका क्रमशः धनुषा र पर्सामा जिल्ला समिति गठन र प्रतिनिधि चयनमा चर्को विवाद देखिएको छ ।

अर्यालले नेतृत्व गरेको पर्सामा जालिम मिया र क्षेत्रबहादुर श्रेष्ठको नेतृत्वमा अलगअलग जिल्ला समिति गठन भएका छन् भने झाले नेतृत्व गरेको धनुषामा सम्मेलनलाई प्रहरीले सुरक्षा दिनुपरेको थियो । झाले जिल्ला अध्यक्षमा रामचन्द्र मण्डललाई नै दोहो¥याउने प्रस्ताव गरेलगत्तै गत संविधानसभा निर्वाचनमा झाविरुद्ध बागी उठेका श्रवण यादव पक्षले नाराबाजी गरेको थियो ।

जिल्ला सम्मेलनबाट कार्यसमिति सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरिए पनि दर्जनभन्दा कम जिल्लामा मात्र अध्यक्षसहितका पदाधिकारी चयन भएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित