आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

एसिसी प्रिमियर लिगमा नेपालले युएईलाई हरायो

दैनिक नेपाल २०७१ वैशाख १८ गते १६:५०

Cricket-team-Nepalकाठमाडौं, १८ वैशाख । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई चार विकेटले पराजित गरेको छ ।

मलेसियामा भएको प्रतियोगितामा युएईले दिएको १९२ रनको लक्ष्यलाई पच्छ्याएको नेपालले युएईलाई ३९ दशमलब पाँच ओभरमा नै भेट्टायो ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले ३९ दशमलब पाँच ओभरमा छ विकेट गुमाएर १९५ रन जोडेको हो । प्रतियोगितामा नेपालले आज (बिहीबार) पहिलो जित दर्ता गराएको छ । युएईले निर्धारित ५० ओभरको खेलमा ४८ दशमलब एक ओभरमा सबै विकेट गुमाउँदै १९१ रनमा समेटिएको थियो ।

नेपालको जितमा ओपनर सुवास खकुरेलले सर्वाधिक ७१ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले ४७ रन जोडे । यस्तै कप्तान पारस खड्काले ३०, शरद भेषवाकरले १६, विनोद भण्डारीले नौ, वसन्त रेग्मीले आठ तथा नवीन बुढाऐरले दुई रन जोडे ।

यसैगरी बलिङतर्फ नेपालका मेहबुब आलम र सोमपाल कामीले समान तीन/तीन विकेट लिए भने शक्ति गौचनले दुई तथा सागर पुनले एक विकेट लिए ।
युएईको ब्यटिङमा स्वप्नील पाटीले सर्वाधिक ७६ रन जोडे । कृष्णचन्द्र करातेले ३६, मोहम्मद शेहजादले २५, सलमान फारिसले १६ र शइमान अनवरले १४ रनको योगदान दिए ।

अहिलेसम्म भएको विभिन्न प्रतियोगितामा नेपाल र युएई नौ पटक भिडेका छन् । जसमध्ये नेपालले एक प्रतियोगितामा मात्र जित हासिल गरेको छ । बाँकी सात खेलमा युएईले जितेको थियो भने एक खेल टाई भएको थियो ।

सो प्रतियोगिताको अघिल्लो संस्करण सन् २०१२ मा युएईमा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगितमा मात्र नेपालले युएईलाई जितेको थियो । सन् २०१२ मा भएको एसिसी ट्रफी एलिट कप प्रतियोगिताको उत्कृष्ट छ टिम नेपाल, हङकङ, अफगानिस्तान, ओमन, युएई र मलेसिया प्रतियोगितामा सहभागी छन् ।

नेपालले आफ्नो दोस्रो खेल भोलि शुक्रबार आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित