शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

संगीतालाई अर्को एथलेटिक्स स्वर्ण

दैनिक नेपाल २०७१ वैशाख १७ गते ६:१६

Athleticकाठमाडौं, १७ वैशाख । पहिलो दिन एथलेटिक्सतर्फ छात्राको १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरीय कीर्तिमान (५ मिनेट १२ सेकेन्ड) रचेकी मध्यमाञ्चलकी संगीता खड्काले छैटौं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मंगलबार थप एक स्वर्ण जितेकी छन् ।

 
व्यक्तिगत स्पर्धामा सहभागी हुँदै संगीताले ५ हजार मिटर दौड २० मिनेट ००.१६ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत स्वर्ण संख्या दुई पु-याएकी हुन् । सुदूरपश्चिमाञ्चलकी कल्पना ढकाल (२० मिनेट १७.३४ सेकेन्ड) दोश्रो तथा पश्चिमाञ्चलकी निर्मला क्षेत्री (२० मिनेट २१.३० सेकेन्ड) तेश्रो भए ।

 

सोही स्पर्धाको पुरुषमा पूर्वाञ्चलका हर्कबहादुर लुहागुनले स्वर्ण जिते । निर्धारित दूरी हर्कले १६ मिनेट ३१.५४ सेकेन्डमा सिध्याए । उनले १ हजार ५ सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए । मध्यमाञ्चलका बाबुराम माझी (१६ मिेनट ५७.१५ सेकेन्ड) दोश्रो र मध्यपश्चिमाञ्चलका तिलक वली (१७ मिनेट ०२.३५ सेकेन्ड) तेश्रो भए ।

 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा मध्यमाञ्चलका सुनील लामा घलान पहिलो भए । दौड पूरा गर्न सुनीलले ५३.९८ सेकेन्ड समय खर्चे । मध्यपश्चिमाञ्चलका अमन चौधरी (५४.०७ सेकेन्ड) दोश्रो तथा पश्चिमाञ्चलका प्रभुनाथ कुँवर (५४.२२ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

 

त्यसै स्पर्धाको छात्रामा १ मिनेट ०५.२१ सेकेन्ड समयसाथ मध्यमाञ्चलकी अनिता थापा अगाडि रहिन् । मध्यपश्चिमाञ्चलकी तारा मल्ल (१ मिनेट ०६.४४ सेकेन्ड) दोश्रो तथा मध्यपश्चिमाञ्चलकै रुपा थारु (१ मिनेट ०६.५५ सेकेन्ड) तेश्रो बने ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्रको लङजम्पमा ट्रिपलजम्पकै विजेता राहुल पजियारले बाजी मारे । राहुलले ६.०५ मिटर टाढा हाम्फाले । सुदूरपश्चिमाञ्चलका नरेश चौधरी (५.९७ मिटर) दोश्रो तथा मध्यमाञ्चलका मिथुन चौधरी (५.८३ मिटर) तेश्रो भए ।

 

उक्त स्पर्धाको छात्रामा पश्चिमाञ्चलकी विमला चौधरी ४.६५ मिटर हाम्फाल्दै शीर्ष स्थानमा रहन सफल भइन् । ट्रिपलजम्पमा भने विमला अघिल्लो दिन दोश्रो स्थानमा सीमित भएकी थिइन् । मध्यपश्चिमाञ्चलकी सरस्वती चौधरी (४.४५ मिटर) ले रजत तथा मध्यपश्चिमाञ्चलकै कामना विष्ट (४.४० मिटर) ले कांस्य हात पारे ।

 

छात्रको ज्याभ्लिन थ्रोमा पूर्वाञ्चलका रोहित चौधरीले शीर्ष स्थान कब्जा गरे । उनले ४३.१६ मिटर टाढा फाले । मध्यमाञ्चलका वीरेन्द्र चौधरी (४१.१४ मिटर) दोश्रो तथा पश्चिमाञ्चलका प्रेम थापा (३८.९८ मिटर) तेश्रो भए । सो स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी सुमित्रा चौधरी (३०.०१ मिटर) ले स्वर्ण, मध्यपश्चिमाञ्चलकै लक्ष्मी चौधरी (२६.४८ मिटर) ले रजत तथा मध्यमाञ्चलकी सुनीता थापा (२५.१९ मिटर) ले कांस्य हात पारे ।

 

छात्रको ८ सय मिटर दौड २ मिनेट ०६.४८ सेकेन्डमा पूरा गर्दै मध्यपश्चिमाञ्चलका दिनेश आफ्रे पहिलो भए । पश्चिमाञ्चलका अजय कुर्मी (२ मिनेट ०७.६० सेकेन्ड) दोश्रो तथा पूर्वाञ्चलका रोहित चौधरी (२ मिनेट १०.३२ सेकेन्ड) तेश्रो भए । छात्रामा मध्यमाञ्चलकी अमिशा श्रेष्ठ २ मिनेट ३८.८० सेकेन्ड टाइमिङसहित पहिलो भइन् । मध्यपश्चिमाञ्चलकी रमिता चौधरी (२ मिनेट ४०.३३ सेकेन्ड) दोश्रो तथा पश्चिमाञ्चलकी विनिता पाठक (२ मिनेट ४५.०३ सेकेन्ड) तेश्रो भए ।

 

४ गुणा १ सय मिटर छात्रा रिलेमा मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यमाञ्चल क्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रमा पनि मध्यपश्चिमाञ्चल नै पहिलो भयो । मध्यमाञ्चल दोश्रो र पूर्वाञ्चल तेश्रो भए ।

प्रतिक्रिया
सम्बन्धित