काठमाडौं । एमाओवादी राष्ट्रिय सम्मेलनमा राष्ट्रियताबारे बहस हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक दस्तावेजमा राष्ट्रिय स्वाधीनताबारे महत्वका साथ उल्लेख गरेपछि त्यसबारे छुट्टै बहस हुने भएको हो ।
विराटनगरमा बिहीबारदेखि हुने राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्तावेजमा दाहालले भारतसंगका असमान सन्धी, सीमा समस्या र नेपालको आन्तरिक मामलामा हस्तक्षेपको कुरा उल्लेख गरेको स्रोतले जनाएको छ ।
‘भारतसंगका असमान सन्धी खारेज, सीमा समस्या व्यवस्थापन, भारतसंगको व्यापार घटाउने नीति लिनुपर्छ,’ दस्तावेज अंश उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यस्तै चीनसंग पनि नेपालको हितमा नयाँ सहमति आवश्यक छ ।’
दाहालले सन्चारमा विदेशी लागानीबारे पछिल्लो बहसको प्रसंग उल्लेख गर्दै नेपालका केही गैरसरकारी संस्थामार्फत विदेशीले हस्तक्षेप बढाएको भन्दै आपत्ति जनाएका छन् । उनले दुई छिमेकी चीन र भारतमाथि हस्तक्षेप बढाउन नेपालको भूमि प्रयोग हुने खतरा भएको औल्याएका छन् ।
‘चीन र भारतमाथि हस्तक्षेप गर्न नेपालको भूमि प्रयोग गर्ने गुरुयोजना बन्दैछ,’ प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘यसमा सचेत हुन जरुरी छ ।’ उनले भारतसंग नेपालको व्यापार घाटा निरन्तर बढेको भन्दै त्यसबारे चीन, भारत र नेपालबीच नयाँ साझेदारी आवश्यक भएको पनि उल्लेख गरेका छन् । ‘नेपाल, भारत र चीनबीचमा नयाँ साझेदारी आवश्यक छ,’ दाहालले भनेका छन्, ‘यो सकारात्मक सन्देशलाई मनन गर्न जरुरी छ ।’
उनले विगतमा कुटनीतिक र राजनीतिक सम्वन्धलाई सन्तुलन मिलाउन नसकेको स्वीकारेका छन् । नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनताबारे विगतमा पार्टी चुकेको भन्ने विषय पटकपटक उठाउँदै आएका छन् । त्यसलाई दाहालले घुमाउरो भाषामा स्वीकार गरेको स्रोतको भनाइ छ ।
एकथान संविधान मात्र स्वीकार्य छैन
अध्यक्ष दाहालले आफ्नो पार्टी पहिचानसहितको संविधान निर्माण गर्ने पक्षमा भएको उल्लेख गर्दै त्यसबारे आवश्यक परे जनपरिचालन गर्ने बताएका छन् । ‘संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ दाहालको दस्तावेज मस्यौदामा भनिएको छ, ‘त्यसको अर्थ जस्तोसुकै संविधान स्वीकार हुन्छ भन्ने होइन । एकथान संविधान बनाउने कुरा स्वीकार हुन सक्दैन ।’
उनले सुशील कोइरालाको सरकार संविधान बनाउने दिशामा अघि नबढेको भन्दै आलोचना गरेका छन् । दस्तवेजमा पार्टीको तत्कालीन कार्यभारमा संविधान निर्माणलाई राखेको स्रोतको भनाइ छ । पहिचानसहितको संविधान निर्माणका लागि सहमत हुने दलहरुसंग मोर्चाबन्दी गर्ने र आवश्यक परे सदन र सडक आन्दोलन गर्ने जनाएका छन् ।
उत्पादन र निर्माणमा कार्यकर्ता लगाउने
अध्यक्ष दाहालले पूर्णकालीन कार्यकर्ता व्यवस्थापनका लागि नयाँ कार्ययोजना बनाउनुपर्ने प्रस्ताव ल्याएका छन् । त्यसका लागि मुख्य गरी उत्पादन र निर्माणलाई जोड दिने जनाएका छन् । यसअघि उनले उत्पादन तथा निर्माण ब्युरोको जिम्मा लिए पनि प्रभावकारी काम हुन सकेको थिएन ।
‘उत्पादन र निर्माणको ठोस योजना बनाएर जान आवश्यक छ,’ उनले भनेका छन्, ‘त्यसले मात्र कार्यकर्ता व्यवस्थापनका साथै राष्ट्रिय उत्पादनमा मद्दत पुग्ने छ ।’ हेटौडा महाविधेशनले उत्पादन र निर्माणलाई व्यापक रुपमा अघि बढाउने बताए पनि ठोस रुपमा अघि बढ्न सकेको थिएन । उनले पूर्णकालीन कार्यकर्ताको विवरण संकलन गरी ठोस जिम्मेवारी तय गर्नु पर्ने समेत उल्लेख गरेका छन् ।
उनले आफ्नो दस्तावेजमा हेटौडा महाधिवेशनपछिको राजनीतिक परिस्थितिलाई लामो समीक्षा गरेका छन् । मुख्य गरी संविधानसभा निर्वाचनमा पार्टी पराजय हुनुको कारण कोट्याएका छन् । पार्टीको आन्तरिक कमजोरीमा टेकेर निर्वाचनमा षड्यन्त्र भएको उनको दाबी छ ।
नयाँ शक्तिबारे
दाहालले दस्तावेजमा नेता बाबुराम भट्टराईले उठाउँदै आएको नयाँ शक्ति बारे पनि उल्लेख गरेको स्रोतको भनाइ छ । उनले एमाओवादीको रुपान्तरण, माओवाद मान्ने र एमाले पार्टीभित्र रहेका क्रान्तिकारी शक्तिसहित एकता गरेर मात्र नयाँ बन्ने बिश्वास गरेका छन् ।
नयाँ शक्ति विचारबाट जन्मने उल्लेख गर्दै त्यसका लाग नेकपा-माओवादीलगायत अन्य पार्टीसंगको एकताबाट मात्र संभव हुने दाहालको भनाइ रहेको स्रोतले बतायो । कान्तिपुर दैनिकबाट











प्रतिक्रिया