२८ आश्विन २०८३, बुधबार

जण्डिस रोग महामारी, सयभन्दा बढी बिरामी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jandisविराटनगर । मोरङ जिल्लामा विगत एक हप्तामा एक सयभन्दा बढी व्यक्तिमा जण्डिस (हेपाटाइटिस इ) रोग फेला परेको जिल्ला जन स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

रोगबाट सुरक्षित हुन सतर्कता अपनाउन नसकेमा महामारीको रुपमा फैलिने चिकित्सकको भनाइ रहेको छ । मोरङमा चार व्यक्तिको मृत्यु एवम् करिब ३०० व्यक्तिमा उक्त रोग लागेको अनुमान गरिए पनि जनस्वास्थ्य कार्यालयले आजसम्म सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गराउन आउनेको स्वास्थ्य परीक्षण गर्दा १०० व्यक्तिमा रोग लागेको फेला परेको बताएको छ ।

मृत्यु भएका व्यक्ति जण्डिसबाट मृत्यु भएको कुनै पनि चिकित्सकले आफ्नो परीक्षणमा नलेखेकाले त्यही रोगबाट मृत्यु भएको भन्ने आधार नभएको जनस्वास्थ्य कार्यालय मोरङले स्पष्ट गरेको छ ।

दूषित पानी, बासी तथा सडेगलेको एवम् झिङ्गा लागेको खाद्य पदार्थ खाने गरेका कारण उक्त रोगको बिरामी अत्यधिक देखिएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले त्यसको रोगथामका लागि सूचनासमेत जारी गरेको छ ।

साथै कोसी अञ्चल अस्पतालमा उपचार गराउन आउनेलाई आजदेखि निःशुल्क स्लाइन पानी र औषधि वितरणको व्यवस्था गरिएको कार्यालयका नोडल अधिकृत उत्सव पोखरेलले बताए ।

मोरङ जिल्लाको कोसी अञ्चल अस्पताल, गोल्डेन अस्पताल, न्यूरो अस्पताल, ग्रिनक्रस, नोबल मेडिकल कलेज र लाइफगाडलगायतका अस्पताल तथा क्लिनिकमा उक्त रोगका बिरामीको उपचार भइरहेको बुझिएको छ ।