शनिबार, ३ कार्तिक २०७५
DainikNepal.com
शनिबार, ३ कार्तिक २०७५

काठमाडौं ७ मा वामदेवलाई फेरि ‘भोटे ताल्चा’

दैनिक नेपाल २०७५ असोज २५ गते ८:१७

काठमाडौं, २५ असोज । आफ्नै जिल्ला बर्दियाबाट पराजित वामदेव गौतमले प्रतिनिधि सभाको सांसद बन्ने सपना देखेका छन् । तर, उनलाई आफ्नै पार्टी विशेष गरेर पूर्वएमालेका नेताहरूबाट भइरहको कठोर आलोचनाले समस्या उत्पन्न गरिरहेको छ ।

काठमाडौं क्षेत्र नम्बर–७ का निर्वाचित सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेसँगै राजनीतिमा तरंग उत्पन्न भएको छ ।

मानन्धरले गौतमलाई काठमाडौं ७ बाट जिताएर विकास गर्ने बताउन थालेका छन् । गौतमका लागि उपनिर्वाचन समस्यापूर्ण बन्दै गएको छ ।

पूर्वएमालेका काठमाडौं जिल्ला कमिटीका नेताहरूले पनि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै भेटेर उपनिर्वाचन आत्मघाती हुनसक्ने रिपोर्टिङ गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ अन्तर्गतको प्रदेश १ र २ का सांसदहरू बसन्त मानन्धर र प्रकाश श्रेष्ठसहितका काठमाडौं जिल्ला कमिटीका नेताहरू प्रधानमन्त्री समेत रहेका ओलीलाई रिपोर्टिङ गर्न बुधबार बालुवाटार पुगेका थिए ।

उनीहरूले उपनिर्वाचन भए पार्टीका लागि आत्मघाती हुने रिपोर्टिङ गरेको सहभागी सदस्यहरूले बताएका छन् । यस्तै रिपोर्टिङ उनीहरूले प्रचण्डलाई पनि गरेका छन् ।

रामवीर मानन्धरले व्यक्तिगत स्वार्थका लागि राजीनामा गरेको आरोप पूर्वएमालेका स्थानीय नेताहरूले लगाएका छन् । चुनाव जित्न हिजोको माहोलजस्तो पछिल्लो समय नरहेको उनीहरूको भनाइ छ ।

यसअघि मानन्धर र श्रेष्ठ समेतको सहभागितामा बुधबार बसेको काठमाडौंको सचिवालको बैठकमा पनि यही निश्कर्ष निकालिएको थियो ।

सो बैठकले मानन्धरलाई राजीनाको निर्णय फिर्ता लिन र पार्टीलाई उपनिर्वाचनमा जान नदिन आग्रह गर्ने निर्णय भएको पनि नाम उल्लेख गर्न नचाहने जिल्लास्तरीय नेताले बताए ।

अहिले नेकपा नेतृत्वप्रति जनतामा सकारात्मक धारणा नरहेको, स्वयम् वामदेव गौतमप्रति पनि मतदाता उत्साहित नरहेको अवस्थामा यो उपनिर्वाचन पार्टीको लागि उपयुक्त नहुने ती ती नेताको भनाई छ ।

सांसद मानन्धरले आफूले पार्टी नेतृत्वको दवावमा नभई स्वेच्छाले राजीनामा दिने सोच बनाएको दाबी गर्दै आएका छन् ।

पार्टी एकीकरणमा नेता वामदेव गौतमको महत्वपूर्ण योगदान रहेकाले मुलुकको विकास र समृद्धिको कार्यसूचीलाई थप प्रभावकारी ढङ्गबाट अघि बढाउन उनको संसद्मा उपस्थिति खड्किएको हुँदा त्यसमा योगदान होस् भनेर आफूले राजीनामा दिन लागेको पनि उनको तर्क छ ।

उनले अध्यक्ष प्रचण्ड र नेता गौतमको रोहवरमा राजीनामाका लागि नेकपामा लिखित निवेदन दिएको थिए ।

उनको राजीनामाबारे सोमबार बसेको नेकपाको बैठकमा छलफल भएको भएको भएपनि निश्कर्षमा पुग्न बाँकी रहेको नेताहरुले बताउँदै आएका छन् ।

काठमाडौंकै पार्टी कमिटीका जिम्मेवार पदाधिकारीले वामदेवका लागि उपनिर्वाचन अनकूल नरहेको राय नेतृत्वसम्म पुर्याएपछि गौतम अप्ठ्यारोमा परेका छन् ।

उनी निकटका नेताहरू गौतम चुनाव लड्न तयारी अवस्थामा रहेको र पार्टीको निर्णयको पखाईमा रहेको बताएका छन् । यसबारेमा नेता गौतम भने अहिलेसम्म मौन छन् ।

प्रतिक्रिया
सम्बन्धित