मंगलबार, ६ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, ६ कार्तिक २०७५

सिट गुम्नेगरि कसैका लागि उपनिर्वाचन हुँदैन : प्रचण्ड

योगेशलाई मन्त्री बनाउन पहल गर्छु

दैनिक नेपाल २०७५ असोज २४ गते १९:००

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी कुनै पनि नेताका लागि उपनिर्वाचन नगर्ने स्पष्ट पारेका छन् ।

काठमाडौं ७ को चर्चा बढिरहेको जनाउँदै उनले भने ‘पार्टीले निर्णय गर्न त बाँकी छ, म के मात्रै भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’ यस बारेमा बुधबार पनि प्रधानमन्त्रीसँग कुरा भएको उनले बताए ।

बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गौतमलाई उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।

बुधबार पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा भेटीपाती व्यवस्थापन समिति, श्री पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्वद्ध समिति र सांसद योगेश भट्टराइले संयुक्त रुपमा पाथीभरा सद्भावना दुत परिचयपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको भन्दै केही दिनभित्रै महत्वपूर्ण निर्णय लिने बताए ।

नेकपाले आफ्नो कामको समीक्षा गर्दै कमी कमजोरी सच्याएर अघि बढ्ने समय रहेको भन्दै उनले निराश नहुन आग्रह गरे । सरकारका गतिविधिप्रति केही आक्रोश रहेको भन्दै प्रचण्डले अहिले नै निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

योगेशलाई मन्त्री बनाउन पहल गर्छु

कार्यक्रममा प्रचण्डले ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराइलाई मन्त्री बनाउन पहल गर्ने बताएका छन् । निर्वाचनको समयमा ताप्लेजुङको चुनावी भाषणमा भट्टराइलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको आश्वासन पुरा प्रचण्डले बताएका हुन् ।

ओलीले भट्टराईको चुनावी सभामा सम्बोधन गर्दै उनलाई जिताएर पठाउन सर्वसाधारणसँग आग्रह गरेका थिए । ओलीले भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका थिए । प्रचण्डले तत्कालीन समयको ओलीको भाषण स्मरण गर्दै भने ‘प्रधानमन्त्री र म बसेर त्यसलाई छिट्टै पूरा गर्नेछौं ।’

प्रतिक्रिया
सम्बन्धित